वि.सं. २०७२ मा नयाँ संविधान जारी भएदेखि नै महिला सशक्तिकरण र उनीहरुको हैसियतमा सुधारका लागि सकारात्मक सङ्केत देखिएका छन् । महिलाका सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक उपलब्धीको स्मरण गर्दै नेपालसहित विश्वले बुधबार ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको नारा ’डिजिटलः लैङ्गिक समानताका लागि नवप्रवर्तन र प्रविधि’ भन्ने नाराका साथ व्यापक लैङ्गिक समानता, लैङ्गिक भेदभाव उन्मूलन र महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम आयोजना गरि मनाइदै छ ।
दशकौँको दौरानले महिलाको स्थितिमा सुधार आएको भए पनि सहर केन्द्र र ग्रामीण क्षेत्रमा बस्ने महिलाबीच ठूलो खाडल छ । पितृसत्तात्मक परम्पराले हावी भएको देशमा महिला स्वास्थ्य, शिक्षा, आम्दानी र निर्णयमा पुरूषभन्दा पछाडि छन् । टेक्नोलोजी र डिजिटल युगमा समावेशीकरणका चुनौतीहरू नियाल्दा महिलाहरूले जलवायु परिवर्तनको गम्भीर खतराहरू सामना गरिरहेका छन् ।
ग्रामीण भेगका महिलाहरु वातावरण र जलवायु परिवर्तनले असर गर्ने क्षेत्रमा काम गरिरहेका हुन्छन् । कृषि र खासगरी बाख्रा पालन र माछापालन जस्ता घरेलु व्यबसाय संचालन गरिरहेका महिलाहरु प्रबिधिसँग जोडिन नसक्दा कष्टकर जीवन बिताइरहेका छन् ।
शहरका महिलाले गमलामा रोपेको फूलको अनलाइन मार्फत बजारीकरण गर्दैगर्दा ग्रामीण महिलाहरु बारीमा फलाएको तरकारीको मुल्य नपाएर चिन्तित छन् । महिलाहरु अहिलेपनि आर्थिक रूपमा पुरुषसरह कारोवारमा सकृय हुन सकेका छैनन । कागजी रूपमा बलियो बनेका नेपाली चेलीहरु वास्तविकतामा अहिले पनि पछाडी नै छन् ।
सहुलियतका लागि महिलाका नाममा जग्गा, फर्म र कारोवार राख्नेको संख्या ठूलो छ । राज्यले दिने छुट, वित्तीय सँस्थाले प्रदान गर्ने सहुलियतका लागि श्रीमतीको नाममा कारोबार देखाएको तर्फ सरकारले ध्यान दिन जरुरी देखिन्छ । वास्तविक महिला उद्दमी र व्यबसायीको पहिचान गरी उनीहरुलाई प्रोत्साहन गर्नसके मिहिन ढङ्गबाट आर्थिक रूपमा पनि सवैलाई लाभ मिल्ने देखिन्छ ।
अर्कोतर्फ नयाँ संविधानले महिलाको मौलिक हक सुनिश्चित गर्न र तीनवटै तहका सरकारमा ३३ प्रतिशत प्रतिनिधित्वको प्रत्याभूति गराउने ऐतिहासिक प्रयास बिफल बन्दै गएको देखिन्छ । संघीय र प्रादेशिक तहमा यो संवैधानिक व्यबस्था कार्यान्वयन गर्न सरकार र राजनीतिक दलहरु कमजोर भएका छन् । यस वर्षको नाराले बोकेको उद्देश्य जस्तै महिलाहरूलाई प्रविधिसँग जोड्न सके सजिलो हुने देखिन्छ । आफ्ना अधिकार, समानता र समताका लागी नारीहरु आफैं सबल बन्ने देखिन्छ ।
मिति २०७९ फाल्गुन २४ बुधबार, पालिका सन्देश साप्तिाहकमा प्रकाशित