मेचीनगर । झापाको धुलाबारीमा मेची चेम्बर अफ कमर्सको आयोजनामा ‘प्रथम मेची महोत्सव २०७९’ सुरु भएको छ । आगामी चैत २७ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन समेत भएको छ । उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले गरेका छन् ।
उनले मेचीनगर क्षेत्रका उद्योग, व्यबसायको प्रबद्र्धनका निम्त्ति यस महोत्सवले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । कृषि, व्यापार र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ सुरु भएको महोत्सवमा ५० वटा भन्दा बढी स्टल राखिएको छ । त्यस्तै महोत्सवमा मनोरञ्जनका लागि रोटे पिङ, ड्रागन लगायतका विभिन्न खेल सामाग्रीहरु राखिएको छ भने स्थानीय तथा राष्ट्रिय कलाकारहरुको कला प्रस्तुती रहने छ ।
महोत्सव स्थलमा सुरक्षालाई ध्यानमा राखेर सीसी क्यामेरा र हेल्थ डेक्सको समेत व्यबस्था गरिएको आयोजकले जनाएको छ । धुलाबारीको पुरानो शाखलाई फर्काउन महोत्सवले टेवा पुर्याउने आशा गरिएको आयोजकको भनाइ छ । सहआयोजक रोलिङ क्लब धुलाबारीलाई रोलिङ च्यालेन्ज गोल्डकप आयोजना गर्न आर्थिक सहयोग पुर्याउने उद्देश्यले पनि महोत्सव सञ्चालन गरिएको महासचिव खड्काले जानकारी दिए ।
महोत्सव आयोजक समितिका संयोजक रविन बस्नेतको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन महासचिव प्रकाश खड्काले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, चेम्बर अफ कमर्स कोशी प्रदेशका उपाध्यक्ष सन्तोष अग्रवाल, महिला चेम्बर अफ कमर्स झापाकी अध्यक्ष प्रेमा भट्टराई, मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
मिति २०७९ चैत्र ८ गतेको पालिका सन्देश समप्ताहिक पत्रिकामा प्रकाशित