कन्याम सुर्योदय नगरपालिकामा पर्दछ। सुर्योदय नगरपालिकाको कार्यालय फिक्कलमा भएपनि समग्रमा इलाम जिल्लामा पर्दछ।
इलाम जिल्लामा टेकेपछी भने इलाम बजार नपुगुञ्जेल इलाम भेट्न मुस्किल पर्छ। इलाम बजारले नै इलामलाई बोक्दछ।
तर काठमाडौंबाट हिडेको यात्रुले कन्याम जाने भन्नु भन्दा पनि पुर्व जाने र पुर्व आइपुगेपछी इलाम जाने भन्छन् ।
कन्याम, फिक्कल र इलामको मुर्त स्थान भएपनि सुर्योदय अमुर्त छ।
झापाको बुद्धशान्ति साविक बुधबारे र शान्तिनगर मिसिएर बनेको छ। बुधबारेको आफ्नै परिचय छ,जसलाई बुधबारे बजारले अहिलेपनि बोकेकै छ। बुधबार लाग्ने हटियाले बुधबारेलाई ज्युदो राखिरहने नै छ।
शान्तिनगरको शान्तिनगर भनेर ठुटेबर मास्तिरको क्षेत्रले अहिलेपनि अदल-बदल नगरी बसेकै छ।
इगल भ्युमा बुद्धशान्ति देखिएपनि नजिक आउँदा भोटेटार, जयपुर, डाडागाँउ, सेतीपानी, गौंडा, ऐयाबारी, खारखोला, सन्तपुर, चुल्ठे अनेकन ठाउँहरु यहाँ छन् ।
अब बुद्धशान्ति कहाँ छ त?
अहिलेलाई जनप्रतिनिधिहरुले बुद्धशान्तिलाई मेची राजमार्गको किनारमा लगेर राखिदिएका छन् ।
तर त्यो आफैं अपुर्ण छ। मान्छेको चित्रमा कानका फेदीमा ‘शरीर’ भनेर लेखेजस्तो ।
उसो भए के त हाम्रा दिग्गज जनप्रतिनिधिले कान र शरीर छुट्याउन नसकेका हुन् ? भनेर तपाईंको मनमा जिज्ञासा् आयो होला ।
तपाईंलाई नआएपनि मलाई त आयो।
यसै शिलशिलामा थोरै पछाडी जानपर्ने भयो।
२०-२५ बर्ष अघि रोपिएका शिरिषका बोटहरु रात्तै भएर फुलेको धेरै बर्ष भैसकेको थियो ।
बन्द-हडताल गर्नेहरुले तिनै रुख काटेर सडक अवरुद्ध गर्थे। बचेका केही रुखमा फुलेका ति फुलहरु छर्लङ्ग देखिनलाई लकडाउन कुर्नु पर्यो।
लकडाउनको फुर्सदमा मनिसहरु ति राता गुल्मोहरमा फोटो खिच्न थाले। साँझ-बिहान मान्छेको जमघट बढन थाल्यो।
त्यो भिड देखेर प्रचण्डदेवले उपत्यकामा पशुपतिनाथको शिवलिङ्ग भेटेजस्तै बुद्धशान्तिमा शिरिषका रुखबारे चर्चा चल्यो। हल्लाखल्ला शुरु भयो। ति गुल्मोहरले धेरैका फेसबुक र टिकटकमा रङ्ग भरे।
अब शुरु भयो श्रिङ्गारको शृङ्खला।
अघिल्लो जनप्रतिनिधिका पालामा सडक किनार (यद्यपि उक्त क्षेत्र साङघाई कम्पनीले कर नतिरी लिजमा भोगिरहेको) सरसफाइ भयो। ताला लागिरहने शौचालय बने ।
स्थानीय निकायको ऐतिहासिक दोश्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले पुनः त्यसको मलजल गर्न शुरु गरे।
बर्षको ४ हप्ता फुल्ने ६ वटा शिरिषमा पर्यटनको अथाह सम्भावना देखेपछी त्यहा टाइल्स लाग्यो, शौचालयमा ट्यान्कि जोडियो।
ति रुख कहिले ढल्छन हेक्का छैन।
नेपाली समाजमा सर्वते पुज्य बर-पिपल र पिपलबाटै आफ्नो परिचय बनाएको पिपल काटिए पिपलचोकमा।
त्यही तल्तिर शिरिषबोटमा भने लगानी बढिरहेको छ।
उता मेची राजमार्गको झापा खण्डको दुबै किनार चौडा बनाउने योजना धमाधम चलिरहेको छ।
सडक बिस्तारको क्रम हात्तीसुडे आइसक्यो तर बर्ने चिया कमानको शिरिष बोट क्षेत्रमा लगानी गर्ने क्रम रोकिएको छैन।
हाम्रो दुर दृष्टि यहि हो?
नाम राख्ने कुरामा जनप्रतिनिधिहरुको ध्यान पुगेजस्तै काम गर्ने कुरामा किन पुग्न सकिरहेको छैन?
अहिले तिनै गुल्मोहरको छेउमा चलेको चलन अनुरुप “आई लभ बुद्धशान्ति” लेखेर पालिकाले सेल्फी पोइन्ट बनाएको छ।
बर्नेलाई बुद्धशान्ति लेख्न सल्लाह दिनेले “यो साङघाईले भोगेको जग्गा हो या निकटकालमा राजमार्ग बिस्तारले उखेल्छ” भन्ने सुझाव दिएनन् कि।
अब जनप्रतिनिधिले बर्नेमा लगेर आई लभ बुद्धशान्तिको पाना राख्दा बुद्धशान्तिको परिचय भनेकै शिरिष हो भन्ने देखाउन खोजेका होलान् कि भन्ने लाग्यो। त्यही भएर शरीरका अंग छुट्याइएको चित्रमा कानको तल ‘शरिर’ लेखिएको होला भन्ने मेरो अनुमान हो ।
तर बर्ने आफैंमा बर्ने हो। म नेपाल देशको नागरिक हुँ भन्दैमा मेरो ठेगाना नेपाल मात्रै त हुँदैन नि। नेपालको कुन क्षेत्र, भुगोल, जिल्ला, पालिका, वडा, टोल, चोक त हुन्छ नि होइन?
बर्नेमा बुद्धशान्ति, जयपुरमा बुद्धशान्ति र सेतीपानीमा पनि बुद्धशान्ति लेखेर बोर्ड झुन्ड्याउन थालियो भने ति ठाउँहरु एकदिन गुम्नाम बन्नेछन् ।
मलाई पनि पानामा लेखिएजस्तै बुद्धशान्तिको धेरै माया लाग्छ तर आइ लभ बुद्धशान्ति बट आई डन्ट लाइक योर वर्किङ स्टाइल’ ।