मुलुकको वर्तमान आर्थिक परिसूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्क सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा अर्थतन्त्र सकारात्मक रहेको देखाएको हो । मुलुकको अर्थतन्त्रमा समस्या र चुनौतिका कारण संकट पुग्न लागेको भनिए पनि राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कले सकारात्मक देखाएको छ । चालु वर्षको जेठ महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति १.७३ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिको तुलनामा महँगी घटेको हो । चैत महिनामा १ खर्ब ९ अर्ब रुपैयाँ विप्रेषण आय भयो । साउनयता सबैभन्दा ज्यादा विप्रेषण आय मुलुकमा भएको खबर सार्वजनिक भयो । शिथिल अर्थतन्त्रका लागि यो खबर पक्कै पनि हर्ष नै हो । तर मुलुकको समग्र अर्थतन्त्रको भर सधैं सधैं रेमिट्यान्स नै हुनु चाहिँ पक्कै पनि खुसीको विषय होइन ।
तत्काललाई हेर्दा रेमिट्यान्सले देशको अर्थतन्त्रलाई टेको हुन सक्छ तर दीर्घकालिन रुपमा हेर्दा खम्बा हुन सक्दैन । रेमिट्यान्सले देशको अर्थतन्त्र उँभो लाग्दैन । वैधानिक बाटोको प्रयोगले चैतमा रेमिट्यान्स आय वृद्धि देखिनुको कारण के भने बैंक ब्याज र साधारण सेयरको आकर्षण हुनुपर्छ । किनभने रेमिट्यान्स खातामा बैंक तथा वित्तीय संस्थाले ब्याज अलिक बढी द्उिको छ । वैदेशिक रोजगारीमा गएकाहरूले साधारण सेयरमा आवेदन भर्न पनि रेमिट्यान्स खाता हुन अनिवार्य छ । रेमिट्यान्सले अर्थतन्त्रलाई कसरी पनि टेको दिएको छ भने केन्द्रीय बैंकका अनुसार रेमिट्यान्समा सुधार आउँदा शोधनान्तर अवस्थामा सुधार आएको छ ।
बैदेशिक रोजगारीले नेपालीको आर्थिक अवस्थामा सुधार आएको छ । रेमिट्यान्सले गरिबी निवारणमा महत्वपूर्ण योगदान गरेको छ । तर रेमिट्यान्स आय पारिवारिक खर्चमा अर्थात् उपभोगमा मात्रै खर्च हुने देखिन्छ । उपभोगमा मात्रै रेमिट्यान्स खर्च हुनुको मतलब महँगी वृद्धि हुनु पनि हो । रेमिट्यान्सलाई अर्थतन्त्रलाई खास चलायमान बनाउँदैन भन्ने विज्ञहरू पनि छन् । युवा विदेश पठाएर रेमिट्यान्सका भरमा अर्थतन्त्र धानेर मुलुकको वर्तमान आर्थिक परिसूचकहरु सकारात्मक देखिएको भन्नु कति लाचार बन्नु हो, सरकारले बुभ्mनु जरुरी छ । रेमिट्यान्सलाई उत्पादनमा लगाउनतर्फ ध्यान जाओस् ।
-पालिका सन्देश साप्ताहिकको असार २७ गते प्रकाशित पत्रिकाको सम्पादकीय ।