झापा। झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले ६ लाख ६६ हजार ६०० कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
आज शुक्रबार झापा इनर्जी पिङ्गलास्थानमा एक कार्यक्रमका बिच कम्पनीले सिभिल क्यापिटल मार्केट शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराई तथा सिभिल क्यापिटल मार्केटका निमित्त प्रमुख कार्यकारी अधिकृत शोभना घिमिरेले हस्ताक्षर गरेका छन् ।
सर्वसाधारणका (स्थानीय, कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली सहित) लागि जारी हुने शेयर ६ करोड ६६ लाख ६० हजार रुपैयाँ रकम बराबरको ६ लाख ६६ हजार ६०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पूरा गरी शेयर निष्काशनको लागि आवेदन दिने योजना रहेको छ ।
कम्पनीले शिवसताक्षी–४ झापामा १० मेगावाटको ग्रिड जडान सौर्य ऊर्जा आयोजनाले निर्माण गरिरहेको, आयोजना कम्पनीको बिकास गर्न २२ बिघा जग्गा खरिद गरेको जानकारी कम्पनीका वित्तीय परामर्शदाता कमल पनेरुजीले दिएका छन् ।
आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक कार्य प्रगति हासिल भएको छ र आयोजना आश्विन २०८० मा सुरु हुने अपेक्षा गरिएको छ ।