राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक २२ गतेबाट तय भएको युरोप भ्रमण स्थगित गरेका छन् ।
राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार डा.सुरेश चालिसेले भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित गरिएको जानकारी दिए ।
२२ कात्तिकमा फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा जाने तय थियो ।
राष्ट्रपति पौडेल कात्तिक २२ गते १० दिने युरोप भ्रमणमा जाने कार्यतालिका बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।
फ्रान्सको राजधानी पेरिसमा हुने ‘पेस पिस फोरम’मा भाग लिन जान लागेका उनले जर्मनी र इटालीको पनि भ्रमण गर्ने तालिका तय भएको थियो । युरोपका तीन देश घुमेर मंसिर १ गते मात्र स्वदेश फर्किने कार्यक्रम तय भएको थियो ।
शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो जनधनको क्षति भएपछि राष्ट्रपति पौडेलले आफ्नो भ्रमण स्थगित गरेका हुन् ।