Search
Close this search box.
Search
Close this search box.

घरदैलो अभियान : झापामा धमाधम भेटिन थाले हात्तीपाइलेका बिरामी

बुद्धशान्ति(पालिका सन्देश) । हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान अन्तर्गत घरदैलो अभियान चल्दै गर्दा झापामा ठूलो संख्यामा हात्तीपाइलेका रोगीहरू भेटिन थालेका छन् । जिल्लाका सबै पालिकाहरूमा हात्तीपाइले रोगको लक्षण भएका व्यक्तिहरू भेटिएका हुन् ।

गत वर्षको तथ्यांक अनुसार झापामा १५० को हाराहारीमा हात्तीपाइलेका रोगीहरू भेटिएका थिए । यसवर्ष त्यसको निकै गुणा रोगीको संख्या बृद्धि हुने आँकलन गरिएको छ । जिल्लाका २० प्रतिशत विरामीहरू मात्र खुलेर बाहिर आएको र ८० प्रतिशत बिरामीहरू लुकेर बसेकाले यस वर्षको अभियानमा त्यस्ता धेरै विरामीहरू भेटिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बराकोटीले बताएका छन् । हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सम्पन्न भइसकेपछि नयाँ थपिएका विरामीहरुको संख्या यकिन हुने कार्यालय प्रमुख बराकोटीले जानकारी दिए ।

EPIC EPIC

कचनकवल गाउँपालिकाका– ७ प्रतिशतमा हात्तीपाइलेको संक्रमण रहेको तथ्यांक छ । जवकि त्यहाँको जनसंख्या ४२ हजार ९१२ रहेको छ । त्यस आधारमा त्यहाँ मात्र ३ हजारभन्दा बढी हात्तीपाइलेका विरामी रहेको समीक्षा गरिएको छ । त्यस्तै, झापा गाउँपालिकामा– ४ प्रतिशत हात्तीपाइलेको विरामी रहेको तथ्यांक छ । झापा गाउँपालिकाको कुल जनसंख्या ३९ हजार ३०२ को ४ प्रतिशत भनेको करिब १५७२ जना हो । यसरी झापामा ठूलो संख्यामा हात्तीपाइलेका रोगीहरू रहेका छन् ।

बिर्तामोडमा गतवर्ष एक जना हात्तीपाइलेको विरामी सार्वजनिक भएकोमा यस वर्ष खोज्दै जाँदा करिब १० जना नयाँ विरामी भेटिसकेको र अझै भेटिने क्रममा रहेको नगरपालिकाका सिनियर अहेव दीपक सापकोटाले बताए । भद्रपुरमा एकजना रोगी भेटिएका थि ए। भद्रपुर– ९ हडिया चिया बगानमा कार्यरत एकजनामा हात्तीपाइलेको लक्षण पाइएको नगर स्वास्थ्यकर्मी एलवि पन्तले जानकारी दिए । त्यस्तै, कमल गाउँपालिकाभित्र औषधि खुवाउने क्रममा एक जना महिलामा हात्तीपाइलेको लक्षण देखिएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।

त्यस्तै, मेचीनगरमा पनि हात्तीपाइलेका लक्षण भएका विरामीहरू फेला परेको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले बताइन् । यता बुद्धशान्ति गाउँपालिकामा पनि औषधि खुवाउने घरदैलो कार्यक्रमका क्रममा हात्तीपाइले रोगको लक्षण देखिएका मानिस भेटिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धिरेन यादवले बताएका छन् । उनले सबैले अभियान सफल बनाउन औषधि सेवन गर्न अनुरोध गरेका छन् ।

जिल्लामा ठूलो संख्यामा हात्तीपाइलेको रोगी रहेकाले रोगलाई नियन्त्रण गर्न भ्रामक हल्लाको पछि नलागी ढुक्क भई आम औषधी सेवन गर्न सम्पूर्ण जिल्लावासीलाई वरिष्ठ जनस्वास्थ्य अधिकृत बाह्रकोटीले अनुरोध गरेका छन् । हात्तीपाइलेरोगविरुद्धको औषधि सेवन कार्यक्रम अन्तर्गत झापाका आधाभन्दा बढीले औषधि खाएका छन् । वैशाख १६ गतेदेखि सुरू भएको हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने कार्यक्रमअन्तर्गत आठौं दिनसम्म जिल्लाका ५६ प्रतिशतले औषधि खाइसकेका छन् । जिल्लाको कुल जनसंख्या १० लाख १२ हजार ६४२ मध्ये आठौं दिनसम्म ५ लाख ७६ हजार ८९३ जनाले हात्तीपाइलेको औषधि खाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जुन ५६.९६ प्रतिशत हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *