नेपालमा बाह्रै महिना डेंगु सङ्क्रमण देखिन थालेको छ । तर मनसुन सुरु भएसँगै डेंगुको प्रकोप बढ्ने भएकाले सतर्कता अनाउन विज्ञले सुझाएका छन् ।
सरकारी तथ्याङ्क अनुसार वर्षभर नै डेंगुको जोखिम रहन्छ । जसमध्ये मनसुनमा यसको जोखिम बढेको देखिएको हो । वर्षातको समयमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन् अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने उच्च जोखिम रहने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालले बताए ।
‘मनसुनमा गमला, टायर, खल्डाखुल्डी लगायत क्षेत्रमा पानी जम्छ,’ उनले भने, ‘त्यसमा लामखुट्टेले अण्डा पार्छ, लामखुट्टेको सङ्ख्या बढेपछि डेंगु बढ्ने भइहाल्यो ।’
एक साता अघिमात्रै ६८ जिल्लामा डेंगु सङ्क्रमण देखिएको थियो । हाल ७१ जिल्लामा डेंगु सङ्क्रमण देखिएको सरकारी तथ्याङ्क छ । ६ महिना (जनवरी–जुन ९ गते) को अवधिमा ११ सय ३० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेले डेंगु लागेका व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई टोक्दा यो रोग सर्दछ ।