चितवन। नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुईवटा बसका यात्रुमध्ये अहिलेसम्म १३ जनाको शव भेटिएको छ । भेटिएका शवमध्ये आठवटा शवको सनाखत भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । सनाखत भएका आठमध्ये तीनवटा शव भारतीय नागरिकका हुन् । सनाखत हुनेमा सर्लाहीको बरहथवा-३ बस्ने १९ वर्षीय रमितकुमार माझी, चितवनको माडी-१ बस्ने २२ वर्षीय विकाश परियार, भारत सीतामणि बर्गिनिया बस्ने २८ वर्षीय ऋषिपाल साह, भारत सीतामणि बेतिया बस्ने ३० वर्षीय जयप्रकाश ठाकुर र भारत बिहार बेतिया बस्ने ३० वर्षीय सजाद अन्सारी रहनुभएको छ ।
यस्तै, चितवन भरतपुर २२ बस्ने २३ वर्षीय सुदीप विक र रौतहट जमुनामाई-४ बस्ने १७ वर्षीय राहुम मियाको शवको सनाखत भएको छ । यसैगरी चार पुरुष र एक महिलाको शव फेला परे पनि सनाखत हुन सकेको छैन ।
अरू मृतक नेपाली नागरिक हुन् । हराइरहेका अरू यात्रु तथा दुवै बसको खोजी कार्य निरन्तर चलिरहेको छ । खोजीका लागि उच्च प्रविधिको सोनार डिभाइस पनि प्रयोग भइरहेको छ । यो डिभाइसले साउण्ड वेभमार्फत पानीमुनि दुई सय मिटर तल सम्मको वस्तु देख्नसक्ने सशस्त्र प्रहरी बलले जनाएको छ । काठमाडौंबाट गौरतर्फ र वीरगञ्जबाट काठमाडौंतर्फ गुडिरहेका दुईवटा बसलाई शुक्रबार बिहानै पहिरोले बगाएपछि त्रिशूली नदीमा खसेका थिए । ती बसमा कम्तीमा ६५ जना यात्रु चढेका जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । ६५ जनामध्ये काठमाडौंबाट गौर जाँदै गरेको बसका तीनजना यात्रु भने बाँच्न सफल भएका थिए ।
सोमबार बिहान भेटिएका चारमध्ये दुईवटा शव गण्डक नहरको भारततर्फको क्षेत्रमा भेटिएका हुन् । अहिले घटनास्थलभन्दा ५० किलोमिटर तलसम्म खोजी भइरहेको छ । खोजीका लागि र्याफ्टिङ बोट, दुरबिन र पानीभित्र हेर्न मिल्ने खालका क्यामेराहरू जडान गरिएका उपकरण पनि प्रयोग गरिएका छन् । तर, पानी धमिलो भएकाले पानीभित्र हेर्ने क्यामेरा खासै उपयोगी नभएको खोजकर्ताहरूको भनाइ छ । सोमबार प्रयोग भएको सोनार डिभाइसले तरंगमार्फत वस्तु पहिल्याउन सक्ने भएकाले सहयोगी हुने अपेक्षा छ ।



















