कचनकवल गाउँपालिका-६ स्थित लक्ष्मी क्याम्पसले गाउँपालिकाबाट पाउने बसको विषयलाई लिएर एक निल्नु न ओकल्नु परिस्थिति सिर्जना भएको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक स्तरको यो क्याम्पसमा सीमान्तकृत, गरिब, विपन्न, पिछडिएका, दलित लगायतका विद्यार्थीहरू अध्ययनरत छन्। यी विद्यार्थीहरूलाई सामान्य मासिक शुल्क तिर्न समेत धौधौ भइरहेका बेला बस सञ्चालन गर्दा थप आर्थिक भार पर्ने भएकोले यो समस्या उत्पन्न भएको हो।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा लक्ष्मी क्याम्पसलाई बस खरिद गरिदिने घोषणा गरेको थियो। तर, बस सञ्चालनको खर्च व्यहोर्न नसकिने भएकाले क्याम्पस सञ्चालक समिति, विद्यार्थी, र शिक्षकहरूको छलफलपछि बस सञ्चालनका लागि आवश्यक पर्ने खर्च कम्तीमा ५ वर्षसम्म गाउँपालिकाले नै बेहोर्नु पर्ने निर्णय गरिएको छ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण दंगालका अनुसार, गाउँपालिकाले बस खरिद गरे पनि त्यसको सञ्चालन खर्च गाउँपालिकाले नै व्यहोर्नु पर्ने वा विनियोजित रकमलाई शीर्षक रकमान्तर गरी छात्रवृत्ति, आन्तरिक तथा भौतिक अनुदान, र सम्पूर्ण विद्यार्थीहरूलाई साइकल खरिद गरी वितरण गर्नुपर्ने निर्णय भएको छ।
क्याम्पस प्रमुख मोतीलाल राजवंशीले पनि विद्यार्थीहरूको आर्थिक अवस्था कमजोर भएकोले बस सञ्चालन गर्न नसकिने बताएका छन्। विद्यार्थीहरूले मासिक शुल्क तिर्न नसक्ने अवस्थामा बस शुल्क थप्दा उनीहरूलाई थप आर्थिक भार पर्ने उल्लेख गर्दै, क्याम्पसले बसको सट्टा पूर्ण छात्रवृत्ति कार्यक्रम लागू गर्नुपर्ने बताएका छन्।
गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै बस खरिद गरिदिने नीति पारित भएको बताए। उनले बस खरिद गर्ने निर्णयलाई लिएर क्याम्पस प्रशासन र सञ्चालक समितिसँग फेरि छलफल गर्ने बताए।
सम्पूर्ण विद्यार्थीलाई चार महिनाको छात्रवृत्ति प्रदान गर्दै आइरहेकोमा यसलाई वार्षिक रुपमा लागू गरेर क्याम्पसलाई स्थायित्व प्रदान गर्नुपर्ने उनको धारणा रहेको छ।
विद्यार्थीहरूले पनि बस भन्दा निःशुल्क उच्च शिक्षा व्यवस्थालाई प्राथमिकता दिनुपर्ने बताउँदै गाउँपालिकाले क्याम्पसलाई बस दिएमा विद्यार्थीबाट शुल्क नउठाउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन्।