पछिल्लो पाँच वर्षमा सेना, प्रहरी र सशस्त्र प्रहरीका १० हजारभन्दा बढीले जागिर छाडे

चन्द्रगढी , १५ पुसः पछिल्लो पाँच वर्षमा मात्रै सेना, प्रहरी र सशस्त्र प्रहरीका १० हजारभन्दा बढीले जागिर छाडेका छन् । यो संख्या यही अवधिमा अनिवार्य अवकाशमा जानेको संख्याभन्दा करिब दोब्बर हो । जागिर छाड्नेको संख्या सबैभन्दा बढी नेपाल प्रहरीमा छ ।

एक जना जवानलाई भर्नादेखि तालिम सकेर फिल्डमा खटाउँदासम्म राज्यले ५ देखि ८ लाख रुपैयाँसम्म खर्च गर्छ । तर तालिम लिएर अनुभवी भएपछि सेवामा खट्नुपर्ने जनशक्तिले बीचमै जागिर छाड्दा राज्यलाई घाटा छ । यसरी जागिर छाड्ने लहर रोक्न सरकारबाट प्रभावकारी पहल भएको छैन । हालै मात्र प्रहरी र सशस्त्रका तल्लो तहका कर्मचारीलाई केही राहत हुने गरी कानुन संशोधन गर्ने तयारी गरिएको छ ।

EPIC EPIC EPIC

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/२०८१ सम्म ४ हजार ७ सय ३ जनाले जागिर छाडेका छन् । यस अवधिमा अनिवार्य अवकाश हुनेको संख्या २ हजार ४ सय ६७ छ । चालु आर्थिक वर्षमा कात्तिकसम्म ५ सय ९ जनाले नेपाल प्रहरीको जागिर छाडे, अनिवार्य अवकाश भने २ सय ४८ जनाले पाए ।

सशस्त्र प्रहरी बलमा राजीनामा दिने र अनिवार्य अवकाश रोज्नेको अन्तर ५ वर्षमा झन्डै ११ गुणा देखिन्छ । आर्थिक वर्ष २०७६/७७ देखि २०८०/२०८१ सम्म २ हजार ८ सय १५ जनाले जागिर छाड्दा अनिवार्य अवकाश हुनेको संख्या २ सय २६ जना थियो । चालु आर्थिक वर्ष सुरु भएपछि हालसम्म ४ सय ४९ जनाले राजीनामा दिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए । उनका अनुसार यस अवधिमा २५ जनाले अनिवार्य अवकाश लिएका छन् ।

नेपाली सेनामा २०७६ देखि २०८० सम्ममा २ हजार ६ सय ९७ जनाले राजीनामा दिएका छन् । अनिवार्य अवकाशसहित अन्य कारणले सेनाको जागिर छाड्नेको संख्या भने २ हजार ५ सय ६३ छ । ११ वर्षमा ७ हजार ९ सय ४२ जनाले निवृत्तभरण नपाउने गरी सेनाको जागिरबाट राजीनामा दिएको तथ्यांक छ । त्यही समयमा अनिवार्य अवकाशसहित विविध कारणले नेपाली सेना छाड्ने संख्या भने ६ हजार ५ सय ९७ छ । ५ वर्षको अवधिमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा गरी १० हजार २ सय १५ जनाले बीचैमा राजीनामा दिएका हुन् । यही अवधिमा अनिवार्य अवकाश हुनेको कुल संख्या ५ हजार २ सय ५६ छ ।

नेपाल प्रहरीमा सबैभन्दा बढी राजीनामा दिनेमा हवल्दार छन् । पाँच वर्षमा १ हजार ९ सय ६४ हवल्दारले राजीनामा दिएका छन् । सहायक निरीक्षकबाट राजीनामा दिनेको संख्या ९ सय ८ छ । राजीनामा दिने अन्यमा प्रहरी जवान ६ सय ९८, नायब निरीक्षक ३ सय १९, वरिष्ठ हवल्दार २ सय ७७, सहायक हवल्दार २ सय २२, कार्यालय सहयोगी २ सय ९, निरीक्षक ४३ र वरिष्ठ नायब निरीक्षक ३६ जना छन् । यस्तै, प्रहरी नायब उपरीक्षक १५, प्रहरी वरिष्ठ उपरीक्षक ६, प्रहरी उपरीक्षक ४ र प्रहरी नायब महानिरीक्षक २ जनाले पनि यही बीचमा राजीनामा दिएका छन् ।

सशस्त्र प्रहरी बलतर्फ सबैभन्दा धेरै १ हजार ३ सय ६५ वरिष्ठ हवल्दारले जागिर बीचैमा छाडेका छन् । त्यस्तै ४ सय ९० जवान र २ सय ३६ प्रहरी नायब निरीक्षकले पछिल्लो ५ वर्षमा राजीनामा दिएका छन् । राजीनामा दिने अन्यमा २ सय ६ सहायक हवल्दार, १ सय ५४ हवल्दार, १ सय ४३ प्रहरी परिचर, २७ निरीक्षक, १३ नायब उपरीक्षक, ११ वरिष्ठ नायब निरीक्षक र ६ प्रहरी उपरीक्षकले राजीनामा दिएका छन् । नेपाली सेनाले भने तहगत विवरण उपलब्ध गराएन ।

अनिवार्य अवकाश र राजीनामासँगै नियुक्ति बदर, सेवाबाट बर्खास्त, अशक्त अवकाश, मृत्युलगायतका कारणले पनि सेवाबाट कतिपय सैनिक, प्रहरी र सशस्त्र प्रहरी अलग हुन्छन् । राजीनामा दिनेको संख्या भने अरूको तुलनामा निकै धेरै छ । नेपाली सेनामा करिब ९६ हजार, नेपाल प्रहरीमा करिब ८० हजार र सशस्त्र प्रहरीमा करिब ३७ हजार दरबन्दी छ ।

जागिर छाड्नेमा तल्लो तहका प्रहरी, सशस्त्र र सैनिक बढी छन् । उनीहरू प्रायः सबैको एकैखाले गुनासो छ– आर्थिक सुरक्षा । बढ्दो महँगीका बीच प्राप्त हुने तलबले परिवारको गुजारा चलाउनै मुस्किल हुने उनीहरू बताउँछन् । कतिपय भने माथिल्लो तहका अधिकारीबाट हेपाइ सहनुपर्ने, चाहेका बेला सहजै बिदा नपाउने जस्ता कारणले विकल्पमा जान्छन् । ओभरटाइम ड्युटी र कार्यसम्पादन मूल्यांकनमा असन्तुष्टिका कारण राजीनामा दिएर हिँड्नेहरू पनि छन् ।

कुनै सरकार तथ्यांक नभए पनि सेना, प्रहरी र सशस्त्रको तल्लो तहबाट जागिर छाड्नेहरू प्रायः वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । उनीहरू प्रायः दुबई, अफगानिस्तान, इराक, सिंगापुरका विभिन्न कम्पनीमा सेक्युरिटी गार्ड र त्यहाँकै प्रहरीमा भर्ती हुने गरेका छन् । कोहीले भने डीभी चिट्ठा परेर जागिर छाड्ने गरेका छन् । (रासस)

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *