झापा।
झापाको कनकाई नगरपालिकामा ८१.३४ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप लगाइएको छ। नगरपालिकामा रहेका ३ हजार ९९ किशोरीहरूमध्ये २ हजार ५२१ जनाले खोप प्राप्त गरेको कनकाई नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय, झापाका प्रमुख रमेश बारकोटीका अनुसार, जिल्लाभर माघ २८ गतेसम्म विद्यालयमा अध्ययनरत ९२.६२ प्रतिशत तथा विद्यालय बाहिर रहेका ३०.११ प्रतिशत किशोरीहरूलाई खोप दिइएको छ। यस अभियानमार्फत जम्मा ८३.०५ प्रतिशत बालिकाहरूले खोप प्राप्त गरिसकेको छ। माघ २९ गतेसम्म ७५५ खोप केन्द्रमार्फत ७८१ स्वास्थ्यकर्मी परिचालन गरी खोप कार्यक्रम सम्पन्न गरिने जनाइएको छ।
नेपाल सरकारले एच.पि.भी. खोपलाई नियमित खोप योजनामा समावेश गर्दै प्रत्येक वर्षको फागुन महिनामा यो अभियान सञ्चालन गर्ने योजना बनाएको छ।
कनकाई नगरपालिकामा खोप प्राप्त गर्ने किशोरीहरूमध्ये कक्षा ६ मा अध्ययनरत ५२४ जना र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका ३ जना गरी ५२७ जना रहेका छन्। त्यस्तै, कक्षा ७ देखि १० सम्म अध्ययनरत १ हजार ९४४ जना तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेरका ५० जना किशोरीहरू गरी कुल १ हजार ९९४ जनाले खोप लगाएको जनस्वास्थ्य निरीक्षक एवं खोपका फोकल पर्सन नारायण अधिकारीले जानकारी दिए।
स्वास्थ्य कार्यालय झापाको समन्वयमा माघ २२ गतेदेखि २८ गतेसम्म कनकाई नगरपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो। यसका लागि ३९ खोप केन्द्र स्थापना गरिएका थिए, जहाँ २ सय स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सुपरिवेक्षकहरू परिचालन गरिएको जनस्वास्थ्य निरीक्षक केशव रिजालले बताए।
अभियान अन्तर्गत प्रत्येक खोप केन्द्रमा अनुगमनलाई विशेष प्राथमिकता दिइएको थियो। खोप समन्वय समितिका संयोजक एवं कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, जनस्वास्थ्य निरीक्षक केशव रिजाल, खोपका फोकल पर्सन नारायण अधिकारी, सिनियर अनमी टीका दवाडी लगायतका पदाधिकारीहरूले अनुगमन कार्यलाई तिव्रता दिएका थिए।
नगर प्रमुख पोखरेलका अनुसार, कनकाई नगरपालिकाका स्वास्थ्यकर्मी, अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थाको सक्रिय सहभागिताका कारण खोप अभियान प्रभावकारी रूपमा सम्पन्न भएको छ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८१ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभर एच.पि.भी. खोप अभियान सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतका सम्पूर्ण सूचीकृत स्वास्थ्य संस्थाहरूबाट निःशुल्क खोप प्रदान गरिएको छ। कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यालयहरूलाई खोप केन्द्रका रूपमा प्रयोग गरी अभियानलाई व्यापक बनाइएको छ।
पाठेघरको मुखको क्यान्सरबाट बालिकाहरूलाई सुरक्षित राख्न यो खोप प्रदान गरिएको हो। यो रोगको लक्षणहरूमा तल्लो पेट दुख्ने, योनीबाट दुर्गन्धित तरल पदार्थ बग्ने, अनियमित रक्तस्राव, कमजोरी महसुस हुने र रक्तअल्पता हुने जस्ता समस्या देखिन सक्छन्।