कचनकवल। कचनकवल-६ स्थित लक्ष्मी क्याम्पसमा तीनदिने मानव अधिकार तथा बाल अधिकार सम्बन्धी युवाहरूको क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ। एसएनजेडीको आयोजना तथा लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक सहयोगमा सञ्चालित तालिम फाल्गुन २५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो।
तालिमको पहिलो दिन एसएनजेडीका कार्यक्रम अधिकृत सुरज दंगालले मानव अधिकार तथा बाल अधिकारका आधारभूत सैद्धान्तिक पक्षहरूबारे प्रशिक्षण दिएका थिए। दोस्रो दिन एसएनजेडीका वरिष्ठ सामाजिक परिचालक हेमकुमार खड्काले “विकास र विकासको अवधारणा” विषयमा विस्तृत रूपमा प्रशिक्षण प्रदान गरे। तेस्रो दिन मानव अधिकार जिल्ला सचिव दीपक दासले नेपालमा मानव अधिकारको वर्तमान अवस्था, कानुनी संरचना, बाल अधिकारको संरक्षण तथा कार्यान्वयनका चुनौतीहरू विषयमा प्रशिक्षण दिए।
यस तालिमले स्थानीय युवाहरूलाई मानव अधिकार तथा बाल अधिकार सम्बन्धी ज्ञान प्रदान गर्नुका साथै उनीहरूको क्षमता विकासमा योगदान पुर्याउने लक्ष्य राखेको थियो। प्रशिक्षार्थीहरूले बाल अधिकार हननका घटनाहरू पहिचान गर्ने, कानुनी उपचारका उपायहरू बुझ्ने र समुदायमा सचेतना फैलाउने सीप हासिल गरेका छन्।
आयोजकका अनुसार तालिममा २१ जना स्थानीय युवा सहभागी थिए, जसमा महिला तथा पुरुष दुवैको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले तालिम प्रभावकारी र उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।समापन कार्यक्रम सारा टिमु (Fundraising Coordinator, ALWS) र दिपेन्द्र लम्साल (Communication Officer, LWF Nepal) लगायतको उपस्थिति रहेको थियो।