काठमाडौं । सिरहाका एक वडाध्यक्षले भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएको खुलासा भएको छ। सिरहा क्षेत्र नम्बर २ का सांसद राजकिशोर यादवले प्रतिनिधिसभा बैठकमा यो विषय उठाएपछि घटनाबारे चासो बढेको हो।
सिरहाको नरहा गाउँपालिका–३ का वडाध्यक्ष रुस्तम अन्सारीको सिफारिसमा भारतको बिहार, मधुबनी जिल्लाको जयनगर ग्राम पञ्चायतस्थित देउधाका मोस्ताक मियाँले नेपाली नागरिकता प्राप्त गरेको खुल्न आएको छ। उनले वडाबाट सिफारिस लिएर २०८० असारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता लिएका थिए।
मोस्ताक मियाँले नरहा–३ खोरियाका अमानत मियाँ र रजिना खातुनलाई बाबुआमा देखाएर नागरिकता लिएको खुलेको छ। वडाध्यक्ष अन्सारीले उनीहरूलाई नागरिकताको सनाखतका लागि प्रमाणित गराएको उजुरीहरूमा उल्लेख छ।
यस घटनालाई लिएर स्थानीय इनुस अन्सारीले जिल्ला प्रशासन कार्यालयदेखि गृहमन्त्रालय, जिल्ला प्रहरी कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी गरेका छन्। तर, हालसम्म कुनै प्रक्रिया अघि नबढाइएको उनको गुनासो छ।
जनता समाजवादी पार्टी नेपालका उपाध्यक्षसमेत रहेका सांसद राजकिशोर यादवले संसदमा नागरिकता खरिद–बिक्री सत्तापक्षबाट भइरहेको आरोप लगाए। वडाध्यक्ष अन्सारी नेकपा एमालेका नेता भएकोले उनीमाथि कारबाही नभएको यादवको दाबी छ। उनले गलत सिफारिस गरेको भन्दै अन्सारीलाई तत्काल कारबाही गर्नुपर्ने माग संसदमा उठाएका छन्।
एक लाख भारु घुसको आरोप
उजुरीकर्ता इनुस अन्सारीका अनुसार मोस्ताक मियाँ भारतीय नागरिक भएको आफूलाई पहिल्यै थाहा थियो। इनुसका अनुसार, मोस्ताकले वडाध्यक्ष अन्सारीलाई एक लाख भारु बुझाएर नागरिकता सिफारिस गराएको बताएका छन्।
इनुसले नागरिकता बनिसकेपछि शंका लागेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। तर, त्यहाँबाट कुनै सुनुवाइ नभएपछि अख्तियारमा उजुरी दिएको उनले बताए। गृहमन्त्रालयमा पनि उजुरी दिँदा कुनै कारबाही नभएको उनको गुनासो छ।
वडाध्यक्ष रुस्तम अन्सारीले आफूले गल्ती स्वीकारेको बताएका छन्। उनले भने, “नागरिकता सिफारिसको फाइलमा भुलबस हस्ताक्षर भएको हो। मैले सीडीओ कार्यालयमा नागरिकता खारेजका लागि पत्र पठाइसकेको छु। नागरिकता पनि जफत भइसकेको छ।”
उनले कार्यालयमा थुप्रै फाइलहरूमध्ये कार्यक्रमको व्यस्ततामा नहेरी हस्ताक्षर गरिदिएको दाबी गरे। उनले भने, “मलाई जबर्जस्ती यो मुद्दामा फसाउने प्रयास भइरहेको छ।”
तर, आमाबाबु बनेका अमानत मियाँ र रजिना खातुनले भने आफूहरूले मोस्ताक मियाँलाई चिनेको समेत नभएको दाबी गरेका छन्। अमानत मियाँले भने, “वडाध्यक्षले सिफारिसमा हस्ताक्षर गर्न भनेपछि हामीले केही नसोची गरिदियौं। पछि मात्र थाहा भयो कि यो नागरिकताको लागि गरिएको रहेछ।”
सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार वडाध्यक्ष अन्सारी, नागरिकता बनाउने, र सनाखत गर्नेहरूसँग बयान लिइसकिएको छ। अनुसन्धान जारी रहेको भए पनि हालसम्म कुनै ठोस कारबाही नभएको कारण यस घटनाले ठूलो बहस सिर्जना गरेको छ।







