झापा —नेपाल सरकारले सामाजिक सुरक्षाअन्तर्गत सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा झापा सबैभन्दा बढी संख्यामा सहभागी (बीमित) भएको जिल्ला बनेको छ ।
स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय झापाकी संयोजक लक्ष्मी कँडेलले झापामा सात लाख ६२ हजार ६८६ जना बीमित रहेको बताइन् । स्वास्थ्य बिमा बोर्डका अनुसार देशभरमा ८९ लाख ६७ हजार सात सय ९० जना बीमित छन् । झापापछि बीमित धेरै रहेको जिल्लामा मोरङ (दोस्रो), सुनसरी (तेस्रो) र चितवन (चौथो) रहेका छन् ।
मोरङमा छ लाख एक हजार चार सय २९ जना, सुनसरीमा पाँच लाख ७५ हजार छ सय ९५ जना र चितवनमा पाँच लाख ६५ हजार सात सय १० जना बीमित छन् ।
उनले झापामा कूल जनसंख्याको ६९ दशमलव ६७ प्रतिशत स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध रहेको जानकारी दिइन् । १५ पालिका रहेको जिल्लामा हालसम्म सबैभन्दा बढी बीमितको संख्या दमक नगरपालिकामा रहेको छ भने कम संख्या झापा गाउँपालिकामा रहेको छ ।
दमकमा एक लाख ११ हजार ८० जना अर्थात त्यहाँको जनसङ्ख्याको एक सय तीन प्रतिशत बीमित रहेको संयोजक कँडेलले जानकारी दिइन् । भुटानी शरणार्थी र घर भाडामा बस्नेको बिमा भएको हुँदा दमकमा नगरको जनसंख्याभन्दा धेरै बीमित रहेको उनले बताइन् ।
सबैभन्दा थोरै बीमित रहेको झापा गाउँपालिकामा १४ हजार नौ सय ७४ जना स्वास्थ्य बिमा कार्यक्रममा सहभागी छन् । यहाँको जनसंख्याको तुलनामा बीमितको संख्या ३८ प्रतिशत मात्र रहेको छ । रासस