काठमाडौं । युरोपेली मुलुकहरू हंगेरी, अस्ट्रिया र स्लोभाकियामा हाल ‘फुट एन्ड माउथ डिजिज’ (एफएमडी) को प्रकोपसँगै अराजकताको अवस्था सिर्जना भएको छ। यस भाइरसको संक्रमणले यी देशहरूले सिमानामा कठोर कदम चालेका छन्।
५० वर्षपछि हंगेरीमा देखा परेको एफएमडी को महामारीले समग्र युरोपमा चिन्ता र त्रास फैलाएको छ। जनावरबीच सर्ने यो रोगको नियन्त्रणका लागि हजारौं गाईवस्तु नष्ट गरिएका छन्। जनावरहरू मारिन थालेपछि यस प्रकोपलाई लिएर गहिरो षड्यन्त्रको आशंका पनि उठ्न थालेको छ।
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानका चीफ अफ स्टाफ गेर्गेली गुल्यासले भाइरसको उत्पत्ति प्राकृतिक नभएको सम्भावनालाई नकार्न नसकिने बताएका छन्। “हामी कृत्रिम रूपमा सिर्जित भाइरससँग काम गरिरहेका हुन सक्छौं,” उनले बताएका छन्। यो आशंका विदेशी प्रयोगशालाबाट प्राप्त जानकारीमा आधारित रहेको बताइएको छ, यद्यपि यसबारे पूर्ण पुष्टि भने भइसकेको छैन।
विश्व पशु स्वास्थ्य संगठनका अनुसार यो रोग पहिलो पटक मार्चमा हंगेरीको उत्तर–पश्चिमी सिमानामा रहेको गाईवस्तु फार्ममा देखिएको थियो। त्यसपछि देशभरका करिब १,००० फार्महरूको परीक्षण गरिएकोमा चार स्थानमा संक्रमण पुष्टि भएको थियो।
डिसेम्बर २०२४ सम्म हंगेरीमा ८.६१ मिलियन गाईवस्तु थिए, जुन युरोपेली संघको कुल संख्याको १.२५ प्रतिशत हो। यति ठूलो संख्यामा जनावर रहेको हंगेरीमा रोगको संक्रमण फैलिन नदिन देशभर सतर्कता बढाइएको छ।
एफएमडी को तीव्र संक्रमण दक्षिणी स्लोभाकिया सम्म फैलिन थालेपछि अस्ट्रियाले हंगेरीसँगका २१ तथा स्लोभाकियासँगका दुईवटा सिमाना बन्द गरिसकेको छ। सिमानामा कीटाणु शोधन केन्द्रहरू पनि स्थापना गरिएका छन्।
हंगेरीका किसान पल मिक्सनरले आफ्ना ३ हजार गाईवस्तु नष्ट गर्नु परेको बताएका छन्। उनले ठूलो आर्थिक घाटा व्यहोर्नु परेको जनाएका छन्। “यो साँचो हुनै सक्दैन भन्ने लाग्थ्यो, तर हामी सबैले रोइरहेका थियौं,” उनले भने। उनी अहिले पुनर्निर्माणमा जुटेका छन् र आगामी दुई हप्तामा चारा संकलन सुरु गर्ने योजना बनाइरहेका छन्।
एफएमडी मानिसका लागि खतरनाक नरहेको भए पनि गाईवस्तु, भेडा र बाख्रामा यो रोग तीव्र गतिमा फैलिन्छ। यो रोगले जनावरमा ज्वरो, मुखमा घाउ र चारा खान नपाउने अवस्था ल्याउने गर्छ।