आज आइतबार पनि देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । शनिबार छुटेका बालबालिकालाई आज खुवाउन थालिएको हो ।
सरकारले वैशाख ६ र ७ गतेलाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम तय गरेको थियो । जसअन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने गरिन्छ ।
६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार समेत दिने गरिन्छ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन देशभर महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालित भएका छन् ।
योपटक पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य रहेको छ ।
आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिने स्वास्थ्य सेवा विभागले जनाएको छ।
भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुन्छन् ।
चिकित्सकहरूका अनुसार चुकन्दर, साग, ब्रोकाउली, साबुत अन्न, पनिर, गिरीदार फल, बटर, गाँजर, खुर्सानी, डेरीबाट उत्पादित सामग्री, राजमा, मटन, आँप, पालक, मटर, फर्सी, रातो खुर्सानी, सी फुड, सलगम, टमाटर, सखरखण्ड, तरबुजा, मकैका दाना, पहेंलो रंगका फलफूल भिटामिन ‘ए’ का स्रोत हुन् ।
भिटामिन ‘ए’ले हड्डीलाई मजबुत बनाउने, घाउ पुर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा छालालाई स्वस्थ राख्ने काम गर्छ । साथै, यसले भोजनलाई शक्तिमा परिवर्तन गर्नुका साथै कोषलाई समेत स्वस्थ राख्ने चिकित्सकहरू बताउँछन् ।



















