मोरङ — मोरङको कानेपोखरी गाउँपालिका–७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार झापाबाट धरानतर्फ जाँदै गरेको गोर्खा यातायातको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा उदयपुरको बेलका नगरपालिका–४ की करिब ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ का करिब ३५ वर्षीय हरि शर्मा गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक आचार्य र घाइते शर्मा दिदी–भाइ हुन्। दुर्घटनापछि बससहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।