काठमाडौं। हाल देशमा पश्चिमी वायु कमजोर भई मुख्यतया स्थानीय वायुको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशभर अधिकतम र न्यूनतम तापक्रम बढ्दो क्रममा रहेको छ, जसले गर्दा विशेषगरी मध्य तथा पश्चिमी तराईका भू-भागमा अत्यधिक गर्मीको सम्भावना रहेको छ।
विभागले अत्यधिक गर्मीका कारण जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन लगायतका क्षेत्रमा प्रतिकूल असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
कोशी प्रदेशका पहाडी भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ भने अन्य अधिकांश भू-भागमा मौसम सफा रहने विभागले जानकारी दिएको छ। आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भाग भने मुख्यतया सफा रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात पनि हुन सक्नेछ।
रातको समयमा कोशी, गण्डकी र कर्णालीका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। साथै, उच्च पहाडी तथा हिमाली भू-भागमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहेको विभागले जनाएको छ।
जनस्वास्थ्यमा पर्ने असर, कृषिमा हुन सक्ने क्षति, र दैनिक क्रियाकलापमा देखिन सक्ने अवरोधलाई दृष्टिगत गर्दै मौसम सम्बन्धी सूचनामा विशेष ध्यान दिन विभागले अनुरोध गरेको छ।



















