- नवीन उप्रेती
कचनकवल— कचनकवल गाउँपालिकाले स्थानीय शिक्षा प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरि चालु शैक्षिक सत्रदेखि लागू गरेको छ। हाल प्रारम्भिक चरणमा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तक औपचारिक रूपमा लागू गरिएको गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले जानकारी दिए।
गाउँपालिकाभित्र रहेका ३० वटा सामुदायिक विद्यालयमा यो पाठ्यक्रम लागू गरिएको छ भने निकट भविष्यमा संस्थागत विद्यालयहरूमा पनि सोही पाठ्यक्रम विस्तार गरिने अध्यक्ष राजवंशीले बताए।
गाउँपालिकाको सभाहलमा आयोजित एक समारोहमार्फत “कचनकवल ज्ञानमाला शृङ्खला” अन्तर्गत तयार गरिएको स्थानीय पाठ्यक्रम र कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तकहरू विमोचन गरिएको हो। उक्त कार्यक्रममा गाउँपालिका अध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, शिक्षा शाखा प्रमुख मनिता बराल, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुनिता दाहाल, वडाध्यक्षहरू, विद्यालयका प्रधानाध्यापक, पाठ्यक्रम निर्माण समितिका सदस्य, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो।

स्थानीय पाठ्यक्रमले समुदायभित्र रहेका चाडपर्व, धर्म, संस्कार–संस्कृति, प्राकृतिक स्रोतसाधन, भूगोल, भाषा, वेषभूषा, पेशा लगायतका विषयवस्तु समेटेको छ। पाठ्यपुस्तकमा स्थानीय परिवेश, सामाजिक रीतिथिति, रमाइला ठाउँहरू, कृषि, उद्योग, सिप, खेलकुद, व्यक्तित्व विकास, स्वास्थ्य र नैतिकता जस्ता विविध पक्ष समावेश गरिएका छन्।
पाठ्यक्रम निर्माण समितिका सदस्य कर्ण बहादुर राजवंशीका अनुसार गाउँपालिकामा बसोबास गर्ने राजवंशी, गन्गाई, सन्थाल, माझी, मुस्लिम, कुमाल समुदायको परिचय, रहनसहन, चाडपर्व, धार्मिक स्थल, थान मन्दिर, परम्परागत खाना, पहिरन, बाजागाजा र हाटबजारको महत्व र सम्बन्धसमेत समेटिएको छ। “पाठ्यक्रम तयार गर्दा स्थानीय स्तरमा सङ्कलित सूचना तथा तथ्याङ्कलाई विभिन्न विधाका विज्ञहरूले विश्लेषण र प्रशोधन गरी सांस्कृतिक पक्षको बहुआयामिक अध्ययन गरेका छौं,” उनले भने, “स्थानीय आवश्यकता र संवेदनशीलतालाई उजागर गर्न यो पाठ्यक्रम निकै उपयोगी सावित हुनेछ।”