झापा — आज दिउँसोदेखि देशको मौसममा आंशिकदेखि साधारण बदली रहने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित देशका पहाडी भू-भागहरूमा आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतः सफा देखिनेछ।
कोशी प्रदेशका केही स्थानहरूमा र अन्य पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। यस्तै, देशका उच्च–पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
आज रातिको समयमा पनि कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। यी प्रदेशका उच्च–पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।
हाल देशको पश्चिमी तथा मध्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ। कोशी प्रदेशमा भने मनसुनी वायुको प्रभाव देखिएको छ, जसले गर्दा मौसममा परिवर्तन देखा परिरहेको छ।