काठमाडौं । भारतको गुजरात राज्यमा एयर इन्डियाको एक विमान दुर्घटनामा परेर कम्तीमा १२० जनाको ज्यान गएको आशंका गरिएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा १२० भन्दा बढी यात्रुहरूको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।
अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि दिउँसो १ः३८ बजे (भारतीय समयअनुसार) उडेको विमान केही मिनेटमै दुर्घटनामा परेको हो। जहाजमा कुल २४२ जना यात्रु सवार रहेको बताइएको छ।
दुर्घटना घनीबस्ती भएको सहरी क्षेत्रमा भएकोले जनधनको क्षति अझ बढी हुने सम्भावना छ। प्रत्यक्षदर्शीहरूका अनुसार विमान एक सिविल अस्पतालमा कार्यरत चिकित्सकको घरको छतमाथि खसेको थियो। उक्त घरमा रहेका केही चिकित्सकहरूको समेत ज्यान गएको खबर आएको छ।
विमान दुर्घटनापछि लागेको आगो निकै भीषण रहेको र ठूलो क्षेत्रमा फैलिएको छ। घटनास्थलमा अहिले उद्धार कार्य तीव्र रूपमा भइरहेको छ। अग्निनियन्त्रण टोली, प्रहरी र उद्धारकर्मीहरू घाइतेको उपचार तथा जीवितहरूलाई सुरक्षित स्थानमा सार्न खटिएका छन्।
अधिकारिहरूले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको जनाएका छन्। घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ।