भद्रपुर (पालिका सन्देश) । जिल्ला प्रशासन कार्यालय झापाले २०८२ सालको जेठ महिनामा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवा प्रवाहबाट ९७ लाख ३४ हजार ५५५ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले सार्वजनिक गरेको मासिक कार्यप्रगति विवरणले प्रशासनिक व्यस्तता र नागरिक सेवाप्रतिको सक्रियतालाई उजागर गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंद्वारा प्रमाणित विवरण अनुसार जेठ महिनामा मात्रै कार्यालयले विभिन्न प्रकारका महत्वपूर्ण सेवाहरू प्रवाह गरेको छ । जस अन्र्तगत एक महिनाको अवधिमा १,९०९ जनाले वंशजको आधारमा नयाँ नागरिकता प्राप्त गरेका छन् भने ४७ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । यसैगरी, १,२८० जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ, जसले नागरिकता हराउने वा बिग्रने समस्या पनि उत्तिकै रहेको देखाउँछ ।
कार्यालयले ५ जना गैरआवासीय नेपालीलाई नागरिकता र ७६ जनालाई नाबालक परिचय पत्र पनि प्रदान गरेको छ । राष्ट्रिय परिचयपत्र बनाउने अभियानले पनि तीव्रता पाएको देखिन्छ । जेठ महिनामा मात्र ५,७१२ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको छ भने तयारी अवस्थामा रहेका ४,५४४ वटा परिचयपत्र वितरण गरिएको छ ।
कार्यालयले सम्पादन गरेका कार्यहरूमध्ये सबैभन्दा ठूलो संख्या राष्ट्रिय परिचयपत्र वितरणको छ । राहदानीका लागि आवेदन दिने र बनेर आएका राहदानी लिनेको संख्या पनि उल्लेख्य छ । कार्यालयले १,८३४ वटा नयाँ राहदानीका लागि आवेदन संकलन गरी १,५१२ वटा राहदानी वितरण गरेको छ । सेवा प्रवाहसँगै कार्यालयले राजस्व संकलनमा पनि प्रगति गरेको छ ।