झापा। झापाको झापा गाउँपालिका ४ चौधरी टोलस्थित हुलाकी सडकमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
पन्थपाडाबाट झापा बजारतर्फ गइरहेको अन टेस्ट अपाची मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक वर्ष २४ का फकिर अली, स्थायी ठेगाना अज्ञात, गम्भीर घाइते भएका छन्। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनलाई उपचारका लागि बीएण्डसी अस्पताल पठाइएको छ।
उक्त मोटरसाइकलमा सवार अर्का युवक २२ वर्षीय साहिदुल हकको दुर्घटनामा गम्भीर चोट लागी उपचारको क्रममा दिउँसो १२:५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते तेस्रो व्यक्ति २१ वर्षीय सोहिल मियाको अवस्था सामान्य रहेको र उनको विर्तासिटी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ।
दुर्घटनापछि इलाका प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको टोलीले मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।