झापा। भारतबाट कारमार्फत ठूलो मात्रामा लागूऔषध लिएर नेपाल फर्किंदै गरेका दुई युवायुवती झापाको भद्रपुरमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ निवासी २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका–७ की २२ वर्षीया नोजिना रानामगर रहेका छन्।
गोप्य सूचनाको आधारमा शनिबार दिउँसो करिब १:३० बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भद्रपुर–५, भन्सार चोकमा उनीहरू सवार भारततर्फबाट नेपाल प्रवेश गरेको ब्लु रंगको नेटा कम्पनीको कार रोकेर जाँच गरेको थियो।
प्रहरीका अनुसार कार चालक कुँवरले कालो प्लास्टिकमा प्याक गरी आफू बस्ने सिटमुनि लुकाएको ब्राउनसुगर फेला परेको हो। बरामद गरिएको लागूऔषध डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ५१ ग्राम ९९० मिलिग्राम तथा प्लास्टिक बाहेक ४७ ग्राम ६९० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
लागूऔषधसहित कार चालक कुँवर र सवारीमा रहेकी रानामगरलाई नियन्त्रणमा लिइएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्र खडकाले जानकारी दिएका छन्।