बागलुङ । गलकोट नगरपालिकामा झोलुंगे पुलको विकल्पमा कल्भर्ट निर्माण गरिएको छ । नगरपालिकाका विभिन्न स्थानमा साना सवारीसाधन र पैदल यात्रीलाई सहजताका लागि कल्भर्ट निर्माण गरिएको हो ।
गलकोट-२ नरेठाँटीस्थित मूलाखोलाको झोलुंगे पुल बाढीले बगाएपछि कल्भर्ट निर्माण गरिएको छ । विसं २०७२ को बाढीले झोलुंगे पुल बगाएपछि त्यस ठाउँमा मोटरबाटो निर्माणसँगै कल्भर्ट बनाइएको हो । नरेठाँटीमा योसँगै चार स्थानमा झोलुंगे पुलको सट्टा कल्भर्ट बनाइएको हो ।
नरेठाँटी बजारबाट माथिल्लो बस्ती साविक नरेठाँटी गाविस-१, २ र ३ तर्फ जाने नागरिकलाई लक्षित गरेर रु. २० लाखमा कल्भर्ट निर्माण गरिएको हो । कल्भर्ट निर्माणले नर ठाँटीको माथिल्लो बस्ती छाप, राम्चे, तोरी खोलालगायत स्थानका नागरिकलाई सहज भएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय बागलुङमार्फत ६.५ मिटरको लम्बाइको कल्भर्ट प्रकृतिको पुल निर्माण गरिएपछि यो समस्या हटेको हो । रु. २० लाख लागतमा उक्त कल्भर्ट स्थानीयले उपभोक्ता समितिमार्फत निर्माण गरेका हुन् ।
उपभोक्ता समितिका अध्यक्ष श्रीकृष्ण भण्डारीका अनुसार लोकमार्गको वैकल्पिक सडकमा कल्भर्ट बनाएर झोलुंगे पुल विस्थापित गरिएको छ । मध्यपहाडी लोकमार्ग अवरुद्ध भएमा नरेठाँटी-फापरखेती छाप ग्रामीण सडक विकल्प हुने र कल्भर्टले बाह्रैमास सवारीसाधन चल्ने छ । पूर्वाधार विकास कार्यालयका इञ्जिनियर चन्द्र पुनका अनुसार छोटो पुलले ठूलो राहत दिएको छ ।
साविक नरेठाँटी गाविस धेरै खोल्साखाल्सी र खोला भएको क्षेत्र हो । बर्खायाममा खोलामा बाढी आउने जोखिम हुने भएकाले यहाँका विभिन्न ठाउँमा झोलुंगे पुल निर्माण गरिएका थिए । अब मोटर बाटोको स्तरोन्नतिसँगै कल्भर्ट निर्माण गरिएपछि झोलुंगे पुल विस्थापित भइरहेका इञ्जिनियर पुनको भनाइ छ । नरेठाँटीमा चारवटा कल्भर्ट प्रकृतिका पक्की पुल निर्माण भएकाले झोलुंगे पुल उपयोगविहीन भएको उनी बताउँछन् । प्रयोगविहीन झोलुंगे पुललाई अर्कै स्थानमा स्थानान्तरण गर्ने नगरपालिकाको योजना छ ।