झापा। आधुनिक यन्त्रको प्रयोगले नेपाली कृषिमा नयाँ युगको सुरुवात गरे पनि दमक–१० का किसान बुद्धिमान हास्दा भने अझै परम्परागत शैलीमा अडिग छन्।
जहाँ अधिकांश किसानहरू ट्रयाक्टर, पावर टिलरजस्ता प्रविधिमा निर्भर छन्, त्यहाँ हास्दा गोरु जोतेर खेत जोत्ने एक्ला किसानको रूपमा चिनिँदै आएका छन्।
पछिल्लो समय झापा लगायतका तराईका अधिकांश क्षेत्रमा यान्त्रिक खेतीको प्रचलन तीव्र रूपमा बढेको छ। ट्रयाक्टर प्रयोग गरेर समय र श्रम बचत हुने भन्दै किसानहरू गोरु पाल्ने चलनबाट टाढा हुँदै गएका छन्। तर, हास्दाको सोच भने फरक छ।
उनी अझै पनि एक हल गोरु पाली, त्यसैको सहयोगमा हलो जोती खेत जोतेर अन्न उत्पादन गर्दै आइरहेका छन्।
हास्दाले हाल अर्काको एक बिगाहा दश कठ्ठा जमिन अधियामा लिएर खेती गरिरहेका छन्। उनले गोरु जोत्ने परम्परागत तरिका छाड्नुपर्ने आवश्यकता महसुस गरेका छैनन्। बरु, उनको अनुभवले गोरु पालेर खेती गर्दा खर्च कम हुने, फाइदा बढी हुने देखिएको छ।
“ट्रयाक्टरले खेत जोत्दा प्रतिघण्टा २ हजारदेखि २२ सय रुपैयाँसम्म खर्च हुन्छ,” हास्दा भन्छन्, “तर, गोरु पाल्दा त्यो खर्चबाट बचिन्छ, त्यसमाथि गोबर मल पनि आफैं उत्पादन हुन्छ। खेतीमा लागत घटाउने र उत्पादनमा वृद्धि ल्याउने यो नै राम्रो उपाय हो।”
उनको बुझाइमा परम्परागत खेतीले केवल आर्थिक बचत मात्र होइन, जैविक खेतीमा पनि योगदान पुर्याउँछ। गोबर मल प्रयोग गर्ने भएकाले माटोको उर्वराशक्ति कायम रहन्छ र रासायनिक मलको प्रयोग घट्छ। जसले गर्दा वातावरणमैत्री कृषि प्रणाली कायम हुन्छ।
हाल बजारमा एक हल गोरुको मूल्य ७० हजार रुपैयाँभन्दा माथि पर्ने गर्छ। गोरु पाल्न सजिलो छैन। दिनहुँको स्याहार, चारा र नियमित श्रम आवश्यक पर्छ। तर, हास्दालाई त्यसमा सन्तोष छ। “कृषिमा आत्मनिर्भर हुन गोरु पाल्नु आवश्यक छ,” उनी भन्छन्, “अर्काको भर परेर होइन, आफ्नै पौरखमा अन्न फलाउन पाइयो भने त्यसको खुशी बेग्लै हुन्छ।”