डर कसलाई पो लाग्दैन र! तर, कतिपय व्यक्तिहरू यस्ता हुन्छन् जसलाई घोडामा सजिएको बेहुला र रातो पहिरनमा सजिएकी बेहुली देख्दा पनि पसिना छुट्छ। मनोविज्ञानको भाषामा यसलाई ‘म्यारिज फोबिया’ वा ‘गामोफोबिया’ भनिन्छ। यो फोबिया भएका व्यक्तिहरू विवाहको कल्पनाबाटै तर्सिन्छन्। ५८ वर्षीय बलिउड अभिनेता सलमान खान पनि यसै फोबियाको शिकार मानिन्छन्, जसका कारण उनले अहिलेसम्म विवाह गरेका छैनन्।
गामोफोबियाका लक्षणहरू
गामोफोबियाका केही मुख्य लक्षणहरू यस्ता छन्:
- वैवाहिक सम्बन्धका लागि प्रतिज्ञा र प्रतिबद्धता जनाउन डराउनु।
- भविष्यका बारेमा कुराकानी गर्न पनि हिचकिचाउनु।
- दीर्घकालीन सम्बन्धलाई पनि सामान्य (क्याजुअल) सम्बन्धका रूपमा लिनु।
- विवाहित जोडीहरूलाई हीन भावनाले हेर्ने र उनीहरूप्रति पूर्वाग्रह राख्नु।
- सम्बन्धमा आउन र नजिकिन डराउनु।
- आफ्नो पार्टनरले छाड्ने वा आफूलाई अस्वीकार गर्ने डर।
गामोफोबियाको अर्थ सम्बन्ध बनाउनै डराउनु होइन। यो त सम्बन्धमा आउने तर त्यसलाई विवाह जस्ता गन्तव्यमा पुर्याउनबाट डराउनु हो। गामोफोबिया भएका व्यक्तिहरूमा विवाह गर्ने साहस नै हुँदैन र बनेको सम्बन्धलाई पनि बीचमै अलपत्र छाडिदिन्छन्।
‘क्लिभल्यान्ड क्लिनिक’का अनुसार, गामोफोबिया विवाहमा मात्र सीमित हुँदैन। हरेक प्रकारका सम्बन्धमा प्रतिबद्धता व्यक्त गर्न नसक्नु पनि गामोफोबिया नै हो। आफूमाथि रहेको विश्वास र जिम्मेवारी पूरा गर्न नसक्ने डरले यसबाट पीडित व्यक्तिहरूलाई सताउँछ।
विवाह लामो समयसम्म कायम राख्नुपर्ने स्थायी सम्बन्ध हो। गामोफोबिया भएका व्यक्तिहरूले लामो समयको सम्बन्धबारे सोच्न पनि सक्दैनन्। यदि गामोफोबिया भएका व्यक्तिले विवाह गरे भने पनि उनीहरूले विभिन्न प्रकारका समस्याबाट गुज्रिनुपर्छ।
जीवनका अन्य क्षेत्रमा प्रभाव
गामोफोबियाले पढाइ-लेखाइ, करियर र सामाजिक सम्बन्धहरूमा पनि नकारात्मक प्रभाव पार्छ। कार्यालयमा हाकिमले अह्राएको काम पूरा गर्न पनि गामोफोबिया भएका व्यक्तिले निकै समस्या भोग्नुपर्छ।
गामोफोबियाका कारणहरू
यस फोबियाका मुख्य कारणहरूमा: - पारिवारिक इतिहास (Family History)।
- सामाजिक अभिमुखीकरण (Social Orientation)।
- वंशाणुगत गुण।
उपचार सम्भव छ!
गामोफोबिया भएका मानिसले जीवनभर अविवाहित नै रहनुपर्छ भन्ने छैन। यसको उपचार सम्भव छ। कग्निटिभ बिहेभियर थेरापी (Cognitive Behavior Therapy – CBT) मार्फत यसको उपचार हुन सक्छ।
उक्त थेरापीमा मानिसको सोच्ने तरिकामा परिवर्तन ल्याउन सिकाइन्छ, जसबाट गामोफोबियाबाट बाहिर निस्कन सम्भव हुन्छ। यसले दीर्घकालीन प्रतिबद्धता गर्न डराउने प्रवृत्तिलाई अन्त्य गर्न मद्दत गर्छ।
















