जराकाटिएको वृक्ष र धर्म, संस्कार, संस्कृति, सभ्यता, भाषा, लिपि, ग्रन्थ र कला साहित्यबिनाको जीवन एउटै हुन्। जरा काटिएको वृक्षले जीवनदायिनी शक्तिबाट बञ्चित भएर मर्छ। त्यसै गरी संस्कार, संस्कृति, सभ्यता, भाषा, लिपिलाई जीवन्त राख्ने मूल आधार साहित्य नै हो। यदि साहित्य मरे देश ढिलो चाँडो पतनतर्फ जान्छ।
साहित्य भुइँमान्छेको आवाज हो, देशको आवाज हो, विकृति र विसंगतिविरुद्धको औजार हो। अनुशासन र मर्यादाको पालक हो, समाजलाई जोड्ने कडी हो, र समग्र देशको प्रतिनिधित्व गर्ने भाषा हो।
साहित्य संस्कृत भाषाको ‘सहित’ शब्दमा तद्धित प्रत्यय लागेर बनेको शब्द हो। संस्कृतमा ‘साहित्य’ शब्दको व्युत्पत्ति दुई प्रकारले गरिएको पाइन्छ–
१. शब्दार्थौः सहित तस्य भावः साहित्यम् – अर्थात्, शब्द र अर्थको सहभाव नै साहित्य हो।
२. हितेन सहितं तस्य भावः साहित्यम् – अर्थात्, हितले युक्त भाव नै साहित्य हो।
अंग्रेजी भाषामा ‘साहित्य’ का सट्टामा ‘Literature’ शब्द प्रयोग गरिन्छ। यो ल्याटिन भाषाको litera बाट आएको मानिन्छ। पश्चिमी जगतमा ‘Literature’ लाई दुई अर्थमा बुझिन्छ–
१. सामान्य अर्थमा – जसले समग्र लिखित बाङ्मय, विज्ञान, राजनीति, अर्थशास्त्र, समाजशास्त्र आदिलाई समेट्छ।
२. विशेष अर्थमा – कल्पनाको प्रयोग गरी विशिष्ट शैलीमा लेखिएका कृतिहरूलाई बुझाउँछ।
साहित्यका चार मूल विधा:
काव्य, आख्यान, नाटक र निबन्ध, साथै तिनका उपविधाहरू पर्दछन्। संस्कृत साहित्यमा यी सबैलाई ‘काव्य’ भन्ने चलन थियो। तर, विकासक्रमसँगै ‘कविता’ लाई मात्रै काव्य र चारै विधालाई ‘साहित्य’ भन्न थालिएको पाइन्छ।
पूर्वीय आचार्यहरूका परिभाषा:
- भामह – “शब्दार्थौ सहितौ काव्यम्”
- दण्डी – “अभीष्टभावपूर्ण शब्द समूह नै साहित्य हो।”
- वामन – “गुण र अलङ्कारले परिष्कृत शब्दार्थ नै साहित्य हो।”
- कुन्तक – “वक्रतायुक्त अभिव्यक्तिले सहृदयलाई आह्लादित पार्ने सुव्यवस्थित रचना साहित्य हो।”
- मम्मट – “गुणयुक्त निर्दोष शब्दार्थ नै साहित्य हो।”
- विश्वनाथ – “रसात्मक वाक्य नै काव्य हो।”
- जगन्नाथ – “रमणीय अर्थ दिने शब्द नै साहित्य हो।”
पाश्चात्य विद्वान्का परिभाषा:
- अरस्तु – “साहित्य भाषाद्वारा अभिव्यक्त अनुकरणात्मक कला हो।”
- हड्सन – “भाषाद्वारा प्रस्तुत जीवनको अभिव्यक्ति हो।”
- क्लरिज – “सत्यको बोध र सौन्दर्यको प्रत्यक्षीकरण हो।”
- वर्ड्सवर्थ – “प्रबल भावहरूको सहज उच्छलन हो।”
नेपाली साहित्यकारहरूका परिभाषा:
- सोमनाथ सिग्देल – “सर्वसाधारणलाई मुग्ध पार्ने अभिव्यक्ति हो।”
- रुद्रराज पाण्डे – “वैयक्तिक आत्मरागको प्रकाशन हो।”
- लक्ष्मीप्रसाद देवकोटा – “सजीव अनुभवहरूको कलात्मक प्रकाशन हो।”
साहित्यका उद्देश्य (प्रयोजन):
साहित्य किन लेखिन्छ भन्ने प्रश्नमै लामो बहस हुँदै आएको छ। पूर्वीय र पश्चिमी चिन्तकहरूको अवधारणाअनुसार:
पूर्वीय अवधारणाः
- धर्म, अर्थ, काम, मोक्ष, उपदेश, विश्राम, आनन्द, शिक्षालाभ आदि साहित्यका प्रयोजन हुन्।
पाश्चात्य अवधारणाः
- अरस्तु – “मनोवेगहरूको विरेचनद्वारा आत्मिक स्वास्थ्य।”
- शेली – “सहानुभूति र प्रेमको प्रसार।”
- फ्रायड – “दमित कुण्ठा प्रकट गर्नु।”
- आर्नल्ड – “आनन्दमार्फत ज्ञान र नैतिकताको विकास।”
- रिचर्ड्स – “लोकमङ्गल।”
साहित्य वास्तवमै कठिन, जटिल र सर्वव्यापक विषय हो। तर, यसले व्यक्ति र समाजलाई सन्तुलित राख्ने शक्ति राख्दछ। यदि साहित्य नकारात्मक र भ्रामक भयो भने समाजमा घृणा र कित्ताकाट ल्याउँछ। तर सकारात्मक, मौलिक, परम्परा–संस्कृतिप्रति जिम्मेवार साहित्य भने समाज परिवर्तन गर्ने शक्तिशाली अस्त्र हो।
हाम्रा अग्रज ऋषि–महर्षिहरूले वेद, उपनिषद्, गीता, रामायण, भागवतजस्ता कृतिबाट मानव जीवनको पुनर्जागरण गरेका छन्। त्यसपछि नेपालमा महाकवि देवकोटा, बिपी कोइराला, राष्ट्रकवि माधव घिमिरे, युगकवि सिद्धिचरण, कविर भानुभक्तदेखि धर्मगुरु फाल्गुनन्द, नयराज पन्थ, मुकुन्दशरण उपाध्याय, टेकबहादुर श्रेष्ठ, डोरबहादुर विष्ट, सत्यमोहन जोशी, तुलसी दिवस लगायतका अग्रज स्रष्टाहरूले यो राष्ट्रको भाषा, साहित्य, संस्कृति र सभ्यतालाई गौरवपूर्ण बनाइराख्न योगदान पुर्याउनु भएको छ।
आधुनिक युगसम्म आइपुग्दा पनि ती अनुसन्धान, अध्ययन, समीक्षा, सम्पादन कार्यहरू उत्तिकै पूजनीय र सन्दर्भयोग्य छन्। यो गौरवलाई जोगाउँदै, परिष्कृत गर्दै, हिमवतखण्डको पुनर्जागरण पूरा गर्दै जानु हामी नयाँ पुस्ताको जिम्मेवारी हो।
साहित्य जात, वर्ग, भाषा, भूगोल, विभेदभन्दा माथि उठेको समदृष्टिको उपज हो। आजको आवश्यकताअनुसार असल, समुन्नत, विभेदरहित समाज निर्माणका लागि साहित्य नै सबैभन्दा सशक्त औजार हो।
त्यसैले अबको निर्बिकल्प अभियान चेतना साहित्य समाज हो।
इन्द्र प्रसाद ओली
अध्यक्ष
चेतना नेपाल