- नम्रता बराल- बुद्धशान्ति-३
हरेक रात
‘आकाशका तारा’हरू,
तिम्रो कुरा काटेर कानेखुसी गरिरहेछन्
कसैले यो भन्यो भने,
के तिमी भित्रभित्रै ‘रिस’ले पोलिन्छौ?
हरेक बिहान
‘हिमालका चुचुरा’हरू,
तिम्रो चुरीफुरी देखेर मुस्कुराइरहेछन्
कसैले यो सुनायो भने,
के तिमीलाई साँच्चिकै ‘पत्यार’ लाग्छ?
हरेक दिन
‘नदीका छाल’हरू,
तिम्रो नाटक देखेर गाला चट्काइरहेछन्
कसैले यो भन्यो भने,
के तिमीलाई ‘बदला’ लिन मन हुन्छ?
हरेक साँझ
‘डाँडाका सल्ला’हरू,
तिम्रो सुन्दरता देखेर सुसेल्दै जिस्काइरहेछन्
कसैले यो भन्यो भने,
के तिमी खुशीले ‘गदगद’ हुन्छौ?
तर,
यदि यी प्रश्नहरूको जवाफ दिन तिमी दोधारमा पर्छौ भने
‘आकाशका तारा’हरूको ठाउँमा नजिकका आफन्त राखेर सोच,
‘हिमालका चुचुरा’हरूको ठाउँमा अग्ला घरका छिमेकी राखेर सोच,
‘नदीका छाल’हरूको ठाउँमा समाजका नजर राखेर सोच,
‘डाँडाका सल्ला’हरूको ठाउँमा आत्मीय साथी राखेर सोच
तब तिमीलाई जवाफ तुरुन्तै मिल्छ!
किनकि
प्रकृति र मान्छेबीचको सम्बन्ध
र
मान्छे र मान्छेबीचको सम्बन्ध
एउटै कहिल्यै हुँदैन!