तस्करी नियन्त्रणको मुख्य जिम्मेवारीसहित सशस्त्र प्रहरी बलले भारतसँगका मुख्य नाकामा चार एसएसपीलाई खटाएको छ । सिधै प्रहरी महानिरीक्षकको सचिवालयलाई प्रतिवेदन गर्ने गरी कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एसएसपी खटिएका हुन् ।
कोशीमा दिग्विजय सुवेदी, मधेशमा माधवप्रसाद पौडेल, लुम्बिनीमा रविनराज कर्णजित तथा सुदूरपश्चिममा गंगाराम श्रेष्ठलाई खटाइएको छ । उनीहरूलाई सीमा सुरक्षा गुल्ममा बसेर काम गर्ने जिम्मेवारी दिएका छन् । कोशी प्रदेशअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा झापा र प्रस्तावित सीमा सुरक्षा गुल्म रानीमोरङमा रहेर सीमानाकामा निगरानी गर्न जिम्मेवारी दिइएको छ ।
त्यस्तै, मधेश प्रदेशअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज पर्सामा रहेर प्रधान कार्यालयबाट खटिई काम गर्नेछन् । लुम्बिनी प्रदेशअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डा रुपन्देही, प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर कपिलवस्तु र प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेमा बसेर काम गर्न भनिएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी कञ्चनपुरमा केन्द्रित भएर काम गर्नेछन् ।
सशस्त्र प्रहरीले बदलिँदो सुरक्षा चुनौती र राजस्व अभिवृद्धि गर्ने अभिप्रायका साथ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई मुख्य सीमानाकामा खटाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । स्रोतका अनुसार राजस्व संकलनमा अपेक्षित सुधार नआएपछि त्यसैमा केन्द्रित भएर एसएसपीहरूलाई खटाइएको हो । कतिपय जिल्लामा सशस्त्र प्रहरी तस्करी समूहसँग मिलेको आशंकामा उनीहरूमाथि समेत निगरानी गरिरहेको र त्यस्तो पुष्टि भएमा प्रतिवेदनलाई समेत आधार बनाएर कारबाही तथा पुरस्कृत गर्ने सशस्त्र प्रहरी कार्यालयको तयारी छ । विगतमा राजनीतिक पहुँचका आधारमा तराईका जिल्लामा खटिएका केही अधिकृतहरूको कार्यशैलीमा सुधार नभएकाले उनीहरूलाई हटाउने सशस्त्र प्रहरी मुख्यालयको तयारी छ । नयाँ सरकारले तराईमा देखिने गरी राजस्व छली नियन्त्रणका लागि सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
एसएसपीहरूलाई कति समयलाई सीमा क्षेत्रमा राखिने भन्ने प्रस्ट तोकिएको छैन । निश्चित समयमा उनीहरूले गरेका कार्य प्रभावकारी देखिएमा संगठनले उक्त कार्यलाई निरन्तर दिने सशस्त्र प्रहरीले जनाएको छ ।
















