इलाम। नेपाली कम्युनिस्ट पार्टी इलामले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। फिक्कलमा पार्टी इलामको आज बसेको बैठकले प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा तर्फका उम्मेदवारहरूको नाम टुंगो लगाउँदै केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो।
विजय खम्बुको अध्यक्षतामा सम्पन्न बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट झलनाथ खनाल, खिनु लङवा, रणबहादुर राई, तेजबहादुर राई र विपिन पोख्रेललाई सिफारिस गरेको छ। यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट ओम गुरुङ, शान्ता बस्नेत, प्रवास शर्मा आचार्य, सुरेन राई मिसन र नयन राई सिफारिस भएका छन्।
समानुपातिकतर्फ खस आर्य समूहबाट झलनाथ खनाल, आदिवासी जनजातितर्फ हर्क लावती कान्छा, खुल्लातर्फ भक्त लुङेली, टेकबहादुर राई र लालबहादुर सुब्बा, दलिततर्फ लक्ष्मण घतानी तथा महिलातर्फ सावित्रीदेवी राईलाई सिफारिस गरिएको छ।
यस्तै राष्ट्रियसभातर्फ खस आर्य समूहबाट भक्त केसी र सावित्रा गड्तौला, दलित समूहबाट चित्रकला बराइली र दीपक सिन्चिउरी तथा खुला महिलातर्फ सावित्रा पोख्रेललाई उम्मेदवारका रूपमा सिफारिस गरिएको पार्टीले जनाएको छ।
पार्टी स्रोतका अनुसार सिफारिस भएका उम्मेदवारहरूको नाम केन्द्रमा पठाइनेछ र अन्तिम निर्णय केन्द्रीय कमिटीले गर्नेछ। आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठन सुदृढीकरण र चुनावी तयारीलाई तीव्र बनाउने निर्णयसमेत गरेको छ।



















