- दुर्गामणि मिश्र
नेपालको शिक्षा प्रणाली, विशेषत : सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर पछिल्ला वर्षहरुमा निरन्तर बहसको विषय बनेको छ । सरोकारवालाहरुले परीक्षाफल कमजोर हुनु, विद्यार्थीको सिकाइ उपलब्धि घट्नु, अनुशासनहीनता बढ्नु जस्ता तथ्यहरुले सामुदायिक विद्यालयको अवस्था प्रति गम्भीर प्रश्न उठाइरहेका छन् । यस्ता प्रश्न र असन्तुष्टिको केन्द्रमा प्रायः शिक्षक राखिन्छन् । शिक्षक जिम्मेवार छैनन्, पढाउन मेहनत गर्दैनन्, विद्यालयलाई आफ्नो नीजि जागिर मात्र ठान्छन् जस्ता आरोपहरु समाजमा सहजै सुनिन्छन् । तर के वास्तवमै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किनुका सम्पूर्ण दोष शिक्षककै काँधमा मात्र थोपर्नु न्यायोचित छ ? कि यो समस्या बहुआयामिक, संरचनात्मक र दीर्घकालीन उपेक्षाको परिणाम हो ? यही प्रश्नको उत्तर खोज्नु आजको शिक्षासम्बन्धी बहसको मूल आवश्यकता बनेको छ ।
शिक्षक शिक्षा प्रणालीको मेरुदण्ड हुन् । पाठ्यक्रम कार्यान्वयनदेखि लिएर विद्यार्थीको चरित्र निर्माण, सोच विकास र भविष्यको मार्गदर्शनसम्म शिक्षकको भूमिका केन्द्रीत हुन्छ । त्यसैले शैक्षिक गुणस्तर कमजोर भएको अवस्थामा शिक्षकतर्फ औंला उठ्नु स्वाभाविक पनि हो । कतिपय ठाउँमा शिक्षक स्वयंको पेशागत प्रतिबद्धता कमजोर हुनु, नियमित आत्ममूल्यांकन नगर्नु, आधुनिक शिक्षण विधि नअपनाउनु, कक्षाकोठामा सीमित समय दिनु वा अतिरिक्त जिम्मेवारीबाट पन्छिनु जस्ता वास्तविक कमजोरीहरु पनि अस्वीकार गर्न सकिँदैन । यी कमजोरीहरुले शैक्षिक गुणस्तरमा नकारात्मक प्रभाव पारेको सत्य हो ।
तर केही शिक्षकको कमी कमजोरीलाई लिएर अरु सम्पुर्ण सक्षम शिक्षकहरुलाई एउटै डालोमा हालेर एकै हिसाबले मुल्यांकन गर्नु न्यायोचित हुँदैन । यसैसाथ अर्को गम्भीर सत्य के पनि हो भने शिक्षक एक्लैले शिक्षा प्रणालीको सम्पूर्ण भार बोक्न सक्दैनन् । कक्षाकोठामा देखिने समस्या प्रायः कक्षा कोठाभन्दा बाहिर उत्पन्न हुन्छन् । अभिभावकको बेवास्ता, पारिवारिक विघटन, गरिबी, अभिभावकको वैदेशिक रोजगारी, बालबालिकाको मोबाइल तथा सामाजिक सञ्जालमा अत्याधिक निर्भरता, विद्यार्थीमा बढ्दो लत चुरोट, गुट्खा आदि, स्थानीय राजनीति र विद्यालय व्यवस्थापनमा हुने हस्तक्षेप, पर्याप्त भौतिक पूर्वाधारको अभाव, तालिम र प्रोत्साहनविहीन शिक्षक नीति यी सबै कारणहरु शिक्षकको नियन्त्रण बाहिरका यथार्थ हुन् ।
यसबाहेक, नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म देखिने असन्तुलन, पाठ्यक्रमको व्यवहारिकता, मूल्यांकन प्रणालीको कमजोरीले पनि शिक्षकको भूमिकालाई प्रभावकारी बन्न नदिएको अवस्था छ । यस्ता संरचनात्मक कमजोरीहरुलाई नजरअन्दाज गरेर केवल शिक्षकलाई दोष दिनु समस्या समाधानतर्फ होइन, समस्या झन् कठिन दिशातर्फको कदम हो । यसर्थ, सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तरको बहस गर्दा शिक्षकप्रति लागेको आरोप र त्यसको सत्यतालाई भावनात्मक होइन, तथ्यगत र समग्र दृष्टिकोणबाट हेर्नु आवश्यक छ । शिक्षक दोषी मात्र होइनन्, धेरै हदसम्म पीडित पनि हुन् प्रणालीका, परिस्थितिका र समाजका । यस लेखले शिक्षकप्रति लागेको आरोपको यथार्थ मूल्यांकन गर्दै, शिक्षकको कमजोरी र सीमालाई स्वीकार गर्ने, साथै शिक्षकभन्दा बाहिर रहेका मूल कारणहरु पहिचान गर्ने सन्तुलित दृष्टिकोण प्रस्तुत गर्ने उद्देश्य राख्दछ । अन्ततः शैक्षिक गुणस्तर सुधारको यात्रा दोषारोपणबाट होइन, सहकार्य, जिम्मेवारी बाँडफाँड र सत्य स्वीकारबाट सुरु हुनुपर्छ । शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, समाज र राज्य सबैको साझा प्रयास बिना सामुदायिक विद्यालयको शैक्षिक पुनर्जागरण सम्भव छैन भन्ने यथार्थलाई आत्मसात् गर्नु नै यस लेखको मूल मर्म हो ।
बुद्ध आदर्श एक नमुना विद्यालयका रुपमा झापामा चिनिएको एक विद्यालय हो । यस क्षेत्रका सामुदायिक विद्यालयहरुमध्ये लामो इतिहास र सामाजिक उत्तरदायित्व बोकेको शैक्षिक संस्था हो । ग्रामीण तथा अर्ध (शहरी परिवेशका विद्यार्थीहरु अध्ययन गर्ने यो विद्यालय धेरै परिवारका लागि शिक्षाको मुख्य आधार बनेको छ । तर पछिल्ला वर्षहरुमा यस विद्यालयका विद्यार्थीहरुको शैक्षिक गुणस्तर, सिकाइ उपलब्धि र विद्यालयप्रतिको आकर्षणका विषयमा गम्भीर बहस आवश्यक देखिएको छ ।
यस विद्यालयमा अध्ययन गर्ने धेरै विद्यार्थीहरु सामाजिक, मानसिक र पारिवारिक चुनौतीबीच हुर्किरहेका छन् । वैदेशिक रोजगारीका कारण बुवा वा आमा वा दुवै विदेशमा रहनु, एकल अभिभावकको संरक्षणमा बस्नु, हजुरबुवा हजुरआमाको जिम्मामा हुर्कनु, तथा आर्थिक अभावजस्ता अवस्थाले विद्यार्थीको नियमितता, अनुशासन र भावनात्मक सन्तुलनमा प्रत्यक्ष असर पारेको छ । यससँगै मोबाइल फोन, सामाजिक सञ्जाल र गलत संगतको प्रभावले पढाइप्रतिको रुचि घटाउँदै लगेको यथार्थ विद्यालय स्तरमै अनुभूत गर्न सकिन्छ ।
शैक्षिक पक्षबाट हेर्दा, विद्यालयमा इमान्दार शिक्षक र प्रयासहरु हुँदाहुँदै पनि सिकाइ उपलब्धि सन्तोषजनक बन्न सकेको छैन। विशेष गरी आधारभूत तहमा निरन्तर मूल्यांकन प्रणालीको कारण पढाइ, लेखाइ र गणितीय सीप कमजोर हुदा पनि कक्षा चढ्नु, कक्षाकोठामा विद्यार्थी केन्द्रीत शिक्षण विधिको सीमित प्रयोग, व्यवहारिक तथा जीवनोपयोगी शिक्षाको अभाव, र मूल्यांन प्रणाली सुधारोन्मुख नहुनु प्रमुख समस्या हुन् ।
विद्यालय व्यवस्थापन समितिको भूमिका र नेतृत्व पक्ष पनि अझ प्रभावकारी हुनुपर्ने देखिन्छ । कतिपय अवस्थामा राजनीतिक प्रभाव, स्पष्ट दीर्घकालीन योजनाको अभाव र पारदर्शी निर्णय प्रक्रियाको कमीले विद्यालय सुधारका प्रयासहरु अपेक्षित गतिमा अघि बढ्न सकेका छैनन् । स्थानीय तहसँग समन्वय कमजोर हुँदा उपलब्ध स्रोत, बजेट र कार्यक्रमको अधिकतम सदुपयोग हुन नसकेको अनुभूति सरोकारवालाहरुले गरिरहेका छन् ।
मैले यो लेखमा बुद्ध आदर्श माविको विद्यार्थीहरुको वास्तविक तथ्यांक सहित बिश्लेषण गर्ने जमर्को गरेको छु ।
- विवरण ः
- जम्मा विद्यार्थी –१०९२ ( छात्र – ५०९, छात्रा -५८३) मा
- कक्षा – १० .=१७२ छात्र -७५ , छात्रा -९७ ०
- तथ्यांक अगाडीको जम्मा विद्यार्थीमा हो भने पछाडीको कक्षा १० का विद्यार्थीमा हो।
- बुवा नभएका =५१ /६
- आमा नभएका = २९ /७
- बुवा आमा दुवै नभएका = ७ / १
- बुवा आमा बीच सम्बन्ध बिच्छेद भएका ( ४५ / ४
- बुवा बिदेस भएका =१६२ /२६
- आमा बिदेस भएका = ७५ / ५
- ७० बुवा आमा दुवै बिदेस भएका = ३५ / ९
- हजुरबुवा हजुर आमा सग बसेका =४२ / ३
- आफन्तकोमा बसेका = ६० / १
- अर्काको घरमा बसेका = ५ / ०
- बिहान खाना नखाई विद्यालय आउने =५ / ०
- रुपान्तरिक विकृतिमा परेका = २६/ ३
- अपांग = ३ / ०
- आर्थिक अवस्था कम्जोर भएका कापी कलम किन्न नसक्ने = २३ / २
- मजदुरी गरेर पढ्ने= २ / ०
- भारतीय नागरिक का छोरा छोरी = ३० / २
- ७०प्रतिशत भन्दा कम उपस्थिति हुने विद्यार्थी = ७२ / १५
- नेपाली भाषा पढ्न नसक्ने = १५५ / १३
- नेपाली भाषा लेख्न नसक्ने =१७६ / १३
- अंग्रेजी भाषा पढ्न नसक्ने = १७६ / २०
- अंग्रेजी भाषा लेख्न नसक्ने =२०६ / ४५
- गृहकार्य नगर्ने = ३५४ / १००
- कक्षामा अनुशासन पालना नगर्ने =१५१/ २५
- बिषयगत पाठ्यपुस्तक नल्याउने =१३८/ ३०
- बिभिन्न बहानामा कक्षा नलिने र बाहिर निस्कने = ५७ / १८
- शिक्षक सग नकारात्मक सवाल जवाफ गर्ने = १९ / २
- नोट ः यो तथ्यांक कक्षा बालबिकास देखि कक्षा १० सम्मको हो ।
म यस विद्यालयमा कक्षा १० मा विज्ञान विषय शिक्षण गर्दछु । म यहि कक्षाको तथ्यांक लिएर प्रतिनिधि कक्षाको रुपमा प्रस्तुत गर्दछु । कक्षा १० मा चार ओटा सेक्सन छन् । दुइओटा अंग्रेजी माध्यम र दुइओटा नेपाली माध्यम । जसमध्ये जम्मा विद्यार्थी संख्या १७२ छन् । जसम्ध्ये छात्र ७५ जना छन् भने छात्रा ९७ जना रहेका छन् । यही तथ्यांक अनुसार कक्षा १० मा बुवा वा आमा वा दुवै गुमाएर परिवार अस्तव्यस्त भएका कारण भावनात्मक र आर्थिक रुपमा समस्यामा परेकाको संख्या १८ छ । बुवा वा आमा वा दुवै वैदेशिक रोजगारमा गएका ४० जना विद्यार्थीको हातमा मोबाइल छ र उनीहरुले मोबाइलको दुरुपयोग गरि पढाईमा ध्यान नदिएको कारण पढाई अत्यन्त कमजोर छ । राज्यले निशुल्क दिएको पाठ्यपुस्तक नल्याउने विद्यार्थीहरुको संख्या ३० छ । शिक्षकले जति सम्झाए पनि उनीहरु परिवर्तन हुदैनन् । नियमित उपस्थित नहुने विद्यार्थीहरुको संख्या १५ छ । गृहकार्य नगर्ने विद्यार्थीहरुको संख्या १०० छ । कक्षामा अनुशासन पालना नगर्ने र बिभिन्न बहानामा कक्षा नलिने र बाहिर निस्कने विद्यार्थीहरुको संख्या ४३ छ । यी प्रतिनिधि समस्याहरु हुन् । यी छ ओटै साझा समस्या भएका विद्यार्थीहरु पनि छन् । यी समस्या भएका यी विद्यार्थीहरुको पढाई धेरै कमजोर छ ।
कक्षा कोठा भित्र शिक्षकले भोग्ने चुनौती ः विद्यार्थीको परिवारमा भावनात्मक ,आर्थिक र सामाजिक अवस्था कमजोर, विद्यार्थीको अनुशाशनमा गिरावट , मोबाइल , सामाजिक संजाल , पब्जी , फ्री फायर जस्ता अनलाइन गेमको असर, सिकाइमा ध्यान नहुनु , सम्झाउदा शिक्षक प्रति गर्ने नकारात्मक बव्यवहार गर्ने आदि कारणले शैक्षिक गुणस्तरमा प्रत्यक्ष असर परेको छ । घरमा बुवाआमा वा अभिभावकलाई नटेर्ने र अनुशासनमा बस्न नचाहने विद्यार्थीलाई अहिलेको बर्तमान समयमा शिक्षकले नरम भाषामा सम्झाउने बाहेक केहि गर्न सक्दैन । त्यो सम्झाईले विद्यार्थी टेर्दैन । त्यस्तो विद्यार्थी, विद्यालय र शिक्षकले सुधार्न सक्दैन । यी विद्यार्थीहरु निरन्तर मुल्यांकन , आन्तरिक परिक्षा , कक्षा अनुत्तीर्ण नबनाउने राज्यको नितिको कारण बाल बिकास देखि कक्षा १० सम्म आइपुग्दा परीक्षा हलमा पूरा समय परिक्षा नलेखी पहिलो घन्टाको घण्टी लाग्ने बित्तिकै परीक्षा हल बाट बाहिर निस्कन्छन् । तर उनीहरु सधैं कक्षामा उत्तीर्ण भएर अर्को कक्षामा जान्छन् । जसको कारण विद्यार्थीमा नपढी पास भइन्छ भन्ने गलत मनोविज्ञानले गहिरो जरा गाडेको छ ।
यस्ता समस्या ग्रस्त विद्यार्थीहरुले विद्यालयको भौतिक सम्पत्ति जस्तै फेन बङ्गयाउने बिजुलीको स्विच बोर्ड फुटाउने, धाराको टुटि भाँच्ने , कक्षाको डेस्क बेन्च र भित्तामा अस्लिल शब्द लेख्ने, शौचालयको ढोका फुटाउने, समुहमा झगडा र कुटाकुट गर्ने गर्दछन् । यस्ता ब्यवहार उनिहरुलाइ गर्नु हुदैन भन्ने थाहा छ तर उनिहरु यस्तो कुरालाई बहादुरी सम्झन्छन् ।
अनुशासित, पढ्न र सिक्न इच्छाशक्ति भएका उत्सुक विद्यार्थीहरुलाई मात्र शिक्षकले सिकाउन र असल ज्ञान दिन सक्छन्। अनुशासनमा नबस्ने, शिक्षकले भनेको नमान्ने, पढ्न मेहनत नगर्ने, सधै ढाट्ने, छल्ने, विभिन्न बहाना बनाउने विद्यार्थीहरुलाई जतिसुकै अब्बल शिक्षक, देशकै चर्चित विषय विज्ञ, डा. उपाधी हासिल गरेका शिक्षाविद भए पनि सिकाउन र सुधार्न सक्दैनन् ।
अब मैले भोगेको एउटा वास्तविक प्रतिनिधि घटना उल्लेख गर्छु ।
कक्षा १० अंग्रेजी माध्यममा पढ्ने एउटा विद्यार्थी नियमित विद्यालय आउँदैन । बिषय गत कापी किताब ल्याउदैन । विद्यालयको अनुशाशन पालना गर्दैन । पढाइ धेरै कम्जोर छ । धेरै दिन देखि उसलाई कपाल काटेर आइज भनियो मानेन । एकदिन कपाल काटेर आइज भनेर घर पठाइयो । तुरुन्त गएर बुवालाई लिएर आयो । उसको बुवाले हस्यांग फस्यांग गर्दै मेरो नजिक आएर मेरो छोरोलाई किन निकालियो भनेर मसंग भने । मैले वास्तविकता बताए । तर उनले मेरो छोरो मात्र होत कपाल पालेको रु भनेर प्रति प्रश्न गरे । मैले एकछिन सम्झाउदै गए । मैले उक्त विद्यार्थीलाई झोला बाट किताब र कापी निकाल्न लगाए । दुइओटा किताब र एउटा कपि बोकेको रहेछ । विद्यालयमा ७ ओटा बिषय दैनिक पढाइ हुन्छ । त्यसपछि विद्यार्थीको बुवा अलिक नरम भए । अनि मैले त्यस विद्यार्थीलाई भाई तिमि पराग गुट्खा केहि खान्छौ ? भनेर सोधे । उसले निर्धक्क गुट्खा खान्छु भनो । त्यस पछि उसको बुवाले मलाई हेर्दै भने , सर योत चुरोट पनि खान्छ । मैले सोधे कसरी थाहा पाउनु भयो ?
बुवाले भने, सर म झुटो बोल्दिन , म चुरोट खान्छु । मेरो गोजीमा चुरोटको बट्टा हुन्छ त्यहाँबाट चुरोट हराउँछ । यसले खाँदो रहेछ सर । सर यसको संगत खराब छ । यो स्कुल बाट घर गएर ४ ः३० मा हिडेको बेलुका ९ बजे आउँछ । म नहँुदा उसकी आमालाई झम्टिन्छ सर यसले भन्दै ति अभिभावकले आंखा भरि आँशु पारे ।
यो घटनाले के बुझाउछ ? यो त एउटा प्रतिनिधि घटना मात्र हो । जब घरमा विद्यार्थी अभिभावक संग डराउदैन अभिभावकलाई सम्मान गर्दैन उसले शिक्षकलाई पनि सम्मान गर्दैन र टेर्दैन । यस्ता विद्यार्थी सामुदायिक विद्यालयमा धेरै छन् । बा आमाले सुधार्न नसकेको सन्तान शिक्षकले त के इश्वरले पनि सुधार्न सक्दैनन् यस्तो अवस्थामा विद्यालयको शैक्षिक गुणस्तर कसरी आउछ ? यस्ता बिभिन्न खालका समस्या र चुनौतीहरु बुद्ध आदर्श मावि र अन्य सामुदायिक विद्यालयहरुले भोग्नु परेको तितो यथार्थ हो । यस्तो अवस्थामा बुद्ध आदर्श माविको शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्षको साझा प्रयास अनिवार्य छ ।
समस्याको जरो कहाँ छ ?
१) घरबाट सुरु हुने बेवास्ता
आज धेरै घरका अभिभावक विदेशमा छन्, भएका अभिभावक व्यस्त वा निराश छन्, बालबालिकाको हातमा मोबाइल छ र दुरुपयोग भएको छ । बालबालिकालाई कसैले पढ्न भन्दैन, मोबाइल खोस्दा झगडा हुन्छ , शिक्षकको कुरा झन्झट ठानिन्छ ।
२) मोबाइल लत अदृश्य तर गहिरो संकट
आजका धेरै विद्यार्थीहरु किताब भन्दा धेरै समय मोबाइलमा बिताउछन् , जसको कारण विद्यार्थीमा धैर्य भन्दा उत्तेजना धेरै ,संयमता भन्दा रिस र आवेग धेरै छ। यो लतस् घरमा नियन्त्रण हुँदैन, समाजले गम्भीर मान्दैन, दोष शिक्षकलाई दिइन्छ
विद्यालयमा विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारमा अभिभावकको भूमिका
१ घरमै सिकाइ वातावरण निर्माण गर्नु ,टेलिभिजन, मोबाइल तथा सामाजिक सञ्जालको प्रयोगमा निगरानी गर्नु ।
२ नियमित निगरानी र प्रोत्साहन, विद्यार्थीको गृहकार्य, कक्षा कार्य र परीक्षा तयारीमा चासो राख्नु ।
३ विद्यालयसँग सहकार्य, शिक्षकसँग विद्यार्थीको प्रगति, व्यवहार र कमजोरीबारे छलफल गर्नु ।
४ नैतिक र सामाजिक मूल्य विकास, इमान्दारी, अनुशासन, समयपालन र जिम्मेवारीबोध जस्ता मूल्य सिकाउनु ।
५ मानसिक र भावनात्मक सहयोग, विद्यार्थीका भावना, समस्या र जिज्ञासालाई ध्यानपूर्वक सुन्नु ।
विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार विद्यालयको मात्र जिम्मेवारी नभई अभिभावकको सक्रिय सहभागिता अनिवार्य छ। अभिभावकले घरमै सकारात्मक सिकाइ वातावरण निर्माण, नियमित निगरानी, नैतिक मार्गदर्शन र विद्यालयसँग सहकार्य गरेमा मात्र विद्यार्थीको समग्र शैक्षिक विकास सम्भव हुन्छ। त्यसैले गुणस्तरीय शिक्षाका लागि विद्यालय र अभिभावकबीच सुदृढ साझेदारी आवश्यक छ ।
विद्यालयमा विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीको भूमिका
१ विद्यार्थीले विद्यालयमा नियमित उपस्थित भई कक्षा, अतिरिक्त क्रियाकलाप तथा मूल्याङ्कन प्रक्रियामा सक्रिय सहभागिता जनाउनुपर्छ । समयमै विद्यालय आउने बानीले सिकाइमा निरन्तरता कायम हुन्छ ।
२ पढाइलाई बोझ नभई अवसरको रुपमा लिने सोच विकास गर्न विद्यार्थीले आफैँ प्रयास गर्नुपर्छ । जिज्ञासा, प्रश्न गर्ने बानी र नयाँ कुरा सिक्ने चाहनाले शैक्षिक गुणस्तर बढ्छ ।
३ कक्षामा पढाइएका विषयलाई घरमा दोहोर्याउने, गृहकार्य समयमै पूरा गर्ने र स्वअध्ययन गर्ने बानी विद्यार्थीको शैक्षिक सफलताको मुख्य आधार हो ।
४ विद्यालयको नियम, अनुशासन र आचारसंहिता पालना गर्ने विद्यार्थीले सिकाइको राम्रो वातावरण सिर्जना गर्छन् । अनुशासित विद्यार्थीले शिक्षक तथा सहपाठीसँग स्वस्थ सम्बन्ध कायम गर्छ ।
५ समूहमा अध्ययन गर्ने, सहपाठीलाई सहयोग गर्ने र साझा रुपमा समस्या समाधान गर्ने क्षमताले सिकाइ प्रभावकारी बनाउँछ । यसले नेतृत्व र सामाजिक सीप पनि विकास गर्छ ।
६ सूचना प्रविधि, इन्टरनेट र डिजिटल सामग्रीको सकारात्मक प्रयोग गरी ज्ञान विस्तार गर्न विद्यार्थीले सिक्नुपर्छ । दुरुपयोगबाट बच्दै शैक्षिक प्रयोजनमा प्रविधि प्रयोग गर्नु आवश्यक हुन्छ ।
७। खेलकुद, साहित्यिक, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिमा सहभागिताले विद्यार्थीको सर्वाङगीण विकास भई पढाइमा समेत सकारात्मक प्रभाव पार्छ ।
विद्यालयको शैक्षिक गुणस्तर सुधारमा विद्यार्थीको भूमिका केन्द्रिय र निर्णायक हुन्छ । जिम्मेवार, अनुशासित, मेहनती र सचेत विद्यार्थी बनेमा विद्यालयको समग्र शैक्षिक वातावरण सुधार भई सिकाइ उपलब्धि उच्च हुन्छ । त्यसैले विद्यार्थीलाई आफ्नो भूमिका बुझ्न र व्यवहारमा उतार्न प्रेरित गर्नु अत्यावश्यक छ ।
विद्यालयमा विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार्न समाजको भूमिका
१ समाजले शिक्षा मूल्यवान् हो भन्ने सोच विकास गर्नुपर्छ । विद्यालय जाने, गृहकार्य गर्ने, पुस्तक पढ्ने संस्कृतिलाई सामाजिक रुपमा सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्छ ।
२ स्थानीय समाज, आमा–बुबा, समाजसेवी तथा बुद्धिजीवीहरुले विद्यालयसँग नियमित समन्वय गर्नुपर्छ। विद्यालयका समस्या, आवश्यकताहरु र सुधार योजनामा समाजको सहयोग अपरिहार्य हुन्छ ।
३ समाजले विद्यार्थीमा अनुशासन, इमान्दारी, परिश्रम, सहनशीलता जस्ता नैतिक गुण विकास गर्न भूमिका खेल्नुपर्छ । गलत आचरण, हिंसा र नशा नियन्त्रणमा समाज जिम्मेवार हुनुपर्छ ।
४ असहाय, गरिब तथा पिछडिएका विद्यार्थीलाई सहयोग गर्न समाजले छात्रवृत्ति, शैक्षिक सामग्री, पोसाक तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउन सक्छ । यसले विद्यालय छाड्ने दर घटाउन मद्दत गर्दछ ।
५ बालश्रम, बालविवाह, घरेलु हिंसा जस्ता समस्याविरुद्ध समाज सचेत हुनुपर्छ। सुरक्षित, स्वस्थ र बालमैत्री समाजले विद्यार्थीको मानसिक र शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्छ ।
६ समाजले विद्यालयको शैक्षिक गतिविधि, शिक्षकको नियमितता र विद्यार्थीको उपस्थितिमा सकारात्मक निगरानी गर्नुपर्छ। यसले पारदर्शिता र उत्तरदायित्व बढाउँछ।
शिक्षा कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी होइन, यो सम्पूर्ण समाजको साझा दायित्व हो। विद्यालयमा विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न समाजको भूमिका अत्यन्त महत्वपूर्ण र निर्णायक हुन्छ। सचेत, सहयोगी र उत्तरदायी समाजले मात्र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सक्छ। त्यसैले समाजले शिक्षालाई साझा जिम्मेवारीका रुपमा स्वीकार गरी विद्यालयसँग हातेमालो गर्दै अघि बढ्न जरुरी छ ।
स्थानीय तहको भूमिका
१ विद्यालयको नियमित अनुगमन, कक्षा अवलोकन, सिकाइ उपलब्धिको मूल्याङ्कन र आवश्यक सुधारका लागि निर्देशन दिनु स्थानीय तहको महत्वपूर्ण जिम्मेवारी हो । यसले शिक्षण–सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउँछ ।
२ गरिब, विपन्न, अपांग, दलित, जेहेन्दार तथा जोखिममा परेका विद्यार्थीका लागि छात्रवृत्ति, निःशुल्क पोशाक, दिवा खाजा, पोषण कार्यक्रम तथा मनोसामाजिक सहयोग उपलब्ध गराउनु स्थानीय तहको महत्वपूर्ण भूमिका हो ।
३ डिजिटल शिक्षा प्रवद्र्धन गर्न स्मार्ट कक्षा, कम्प्युटर, इन्टरनेट, अनलाइन सिकाइ सामग्रीको व्यवस्था गर्नु स्थानीय तहको आवश्यक दायित्व हो । प्रविधिको प्रयोगले सिकाइलाई रुचिकर र प्रभावकारी बनाउँछ ।
४ विद्यालय, अभिभावक, समुदाय, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघसँग समन्वय गरी शिक्षा प्रति साझा जिम्मेवारीको भावना विकास गर्नु स्थानीय तहको भूमिका हो ।
५ आर्थिक रुपमा कमजोर , अभिभावक बिहिन विद्यार्थी , रुपान्तरित विकृतिमा परेका, अल्पसंख्यक, अपांग तथा पिछडिएका वर्गका विद्यार्थीलाई विद्यालयसम्म ल्याउने, टिकाउने र सफल बनाउने नीति तथा कार्यक्रम सञ्चालन गर्नु स्थानीय तहको दायित्व हो।
शिक्षा राष्ट्र विकासको आधारशिला हो । नेपालको संविधानले आधारभूत तथा माध्यमिक शिक्षा स्थानीय तहको प्रमुख जिम्मेवारीको रुपमा व्यवस्था गरेको छ । यस सन्दर्भमा विद्यालयमा विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिका तथा नगरपालिकाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। स्थानीय तहले नीतिगत, व्यवस्थापकीय, आर्थिक तथा सामाजिक पक्षबाट विद्यालयलाई प्रभावकारी सहयोग गर्न सक्दछ ।
विद्यालयमा विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार्न विद्यालय व्यवस्थापन समितीको भूमिका
१ शैक्षिक गुणस्तर सुधार (नियमित कक्षा अनुगमन र मूल्याङ्कन, शिक्षकको क्षमता विकास तालिममा जोड, विद्यार्थी केन्द्रीत सिकाइ विधि प्रवद्र्धन, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा र सहयोग ।
२ सुशासन र पारदर्शिता ( बजेट र खर्चको पारदर्शी व्यवस्थापन, निर्णय प्रक्रियामा अभिभावक र समुदायको सहभागिता , विद्यालय प्रशासनमा उत्तरदायित्व सुनिश्चित गर्नु
३ राजनीतिक तटस्थता (समितीलाई राजनीतिक हस्तक्षेपबाट जोगाउनु, निर्णयमा योग्यता, आवश्यकता र शैक्षिक हितलाई प्राथमिकता, विद्यालयलाई राजनीति मुक्त शैक्षिक क्षेत्रका रुपमा विकास गर्नु
विद्यालय व्यवस्थापन समितीले विद्यालयमा राजनीतिक दलको प्रभाव, राजनीतिक भागबन्डा ,योग्य व्यक्तिभन्दा राजनीतिक आस्थाका आधारमा निर्णय, शैक्षिक सुधारभन्दा राजनीतिक स्वार्थभन्दा माथि उठेर शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुन आवश्यक छ ।
विद्यालयमा विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार्न प्रधानाध्यापकको भूमिका
१. शैक्षिक नेतृत्व प्रदान गर्ने , स्पष्ट शैक्षिक दृष्टि ९ख्ष्कष्यल० र लक्ष्य निर्धारण गर्ने, सिकाइ–केन्द्रित वातावरण सिर्जना गर्ने
नविन शिक्षण विधि र प्रविधि प्रयोगमा जोड दिने
२। शिक्षक व्यवस्थापन र क्षमता विकास गर्ने , शिक्षकको हौसला र मनोबल उच्च राख्ने ( नियमित तालिम, कार्यशाला र सहकर्मी सिकाइ कार्यक्रम सञ्चालन गर्ने, शिक्षकको कक्षा अवलोकन गरी रचनात्मक सुझाव दिने
३। विद्यार्थी केन्द्रित वातावरण निर्माण, विद्यार्थीको सिकाइ स्तर पहिचान गर्ने व्यवस्था मिलाउने, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा, परामर्श र सहयोग ,अनुशासन, नैतिक शिक्षा र जीवनोपयोगी सीपमा जोड, प्रतिभाशाली विद्यार्थीलाई प्रोत्साहन र सम्मान
४। अभिभावक तथा समुदायसँग सहकार्य गर्ने , नियमित अभिभावक भेला तथा अन्तक्र्रिया गर्ने , विद्यार्थीको प्रगति अभिभावकलाई जानकारी गराउने, समुदायको सहयोग र स्रोत साधन उपयोग गर्ने ,स्थानीय निकाय र सरोकारवालासँग समन्वय गर्ने
५। मूल्याङ्कन र अनुगमन गर्ने , विद्यार्थीको सिकाइ उपलब्धि नियमित रूपमा मूल्याङ्कन गर्ने, शिक्षण–सिकाइ प्रक्रियाको अनुगमन गर्ने ,कमजोरी पहिचान गरी सुधारात्मक योजना बनाउने, तथ्यमा आधारित निर्णय गर्ने
विद्यालय विद्यार्थीको ज्ञान, सीप, मूल्य र व्यक्तित्व विकासको केन्द्र हो। विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्नु विद्यालयको प्रमुख लक्ष्य हो, र यस लक्ष्य प्राप्तिमा प्रधानाध्यापकको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ। प्रधानाध्यापकमा दूरदृष्टि, नेतृत्व क्षमता, समर्पण र उत्तरदायित्व हुनुपर्दछ। प्रधानाध्यापक विद्यालयको शैक्षिक, प्रशासनिक र नेतृत्व तहको प्रमुख व्यक्ति भएकाले उनको सोच, योजना र कार्यशैलीले विद्यालयको समग्र शैक्षिक स्तरमा प्रत्यक्ष प्रभाव पार्दछ।
विद्यालयमा विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार्न शिक्षकको भूमिका ः
१ प्रभावकारी अध्यापन प्रक्रिया अनुसार पाठ योजना तयार गरी उद्देश्य अनुसार शिक्षण गर्ने, विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाउने, प्रश्नोत्तर, छलफल, समूहकार्य र परियोजना कार्य प्रयोग गर्न, क्ष्ऋत् तथा आधुनिक प्रविधिको प्रयोग गर्ने ।
२ निरन्तर मूल्यांकन र फिडब्याक प्रणाली लागू गर्ने, समयमै उत्तरपुस्तिका जाँच गरी सुधारात्मक सुझाव दिने । परीक्षामुखी होइन, सिकाइमुखी मूल्यांकन गर्ने ।
३ विद्यार्थीमा अनुशासन र नैतिक मूल्य विकास गराउने, नैतिक शिक्षा, जीवन मूल्य र सामाजिक व्यवहार सिकाउने ।
४ विद्यार्थीको प्रगतिबारे अभिभावकलाई जानकारी गराउने, अभिभावक–शिक्षक अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्न, घरमै सिकाइ वातावरण बनाउन सहयोग गर्न ।
चुनौतीहरु
विद्यार्थीको सामाजिक–आर्थिक अवस्था, सिकाइ सामग्रीको अभाव, अभिभावकको कम संलग्नता ।
समाधानका उपाय:
व्यक्तिगत शिक्षण को व्यवस्था, विद्यालय र समुदायबीच सहकार्य, शिक्षण सामग्रीको प्रभावकारी प्रयोग ,शिक्षकको पेशागत विकासमा लगानी ।
शिक्षा कुनै पनि राष्ट्रको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासको आधारस्तम्भ हो । विद्यालय शिक्षाको केन्द्रबिन्दु विद्यार्थी हुन् भने विद्यार्थीको शैक्षिक गुणस्तर उकास्न शिक्षकको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । शिक्षक केवल पाठ्यपुस्तक पढाउने व्यक्ति मात्र नभई विद्यार्थीको चरित्र निर्माण, सीप विकास तथा जीवनोपयोगी मूल्य सिकाउने मार्गदर्शक हुन् । त्यसैले विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकको भूमिका प्रभावकारी, उत्तरदायी र नवप्रवर्तनशील हुन आवश्यक छ ।
निष्कर्ष:
अन्ततः बुद्ध आदर्श माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधार आजको आवश्यकता मात्र होइन, भोलिको सक्षम, नैतिक र जिम्मेवार पुस्ता निर्माणको आधार हो । शिक्षक एक्लैले मात्र विद्यार्थीको शैक्षिक गुणस्तरको बिकास गर्न असम्भव प्राय छ । यसमा सिंगो समाज, अभिभावक, विद्यार्थी, स्थानीय तह, व्यस्थापन समिति, प्रधानाध्यापक र सम्पूर्ण शिक्षकहरुको साझा प्रतिबद्धता, इमान्दार सक्रिय सहभागिताबाट मात्र बुद्ध आदर्श मावि झापाकै उदाहरणीय सामुदायिक विद्यालय बन्न सक्छ । –लेखक बुद्ध आदर्श माविका विज्ञान शिक्षक हुनुहुन्छ ।



















