तीर्थ तिम्सिना /लक्ष्मी पोखरेल
बुद्धशान्ति (पालिका सन्देश) । रासायनिक मलको बढ्दो प्रयोग लगायतका कारण झापा जिल्ला सहित पूर्वी नेपालमा माटोमा अम्लीयपन बढेका कारण वर्षेनी उत्पादनमा ह्रास आउन थालेको छ । माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काका अनुसार कोशी प्रदेशका जिल्लाहरूमा गरेको माटोको परीक्षणमा ८५ दशमलव ५ प्रतिशत माटोमा अम्लीय देखिएको जनाएको छ ।
माटोमा अम्लीयपन बढ्दा क्रमिकरूपमा उत्पादनमा ह्रास आउन थालेको माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काका सहायक माटोविज्ञ सन्तोष कट्टेलले जानकारी गराए । माटोविज्ञ कट्टेलले धानबालीलेचाँहि अम्लियपन सहन गर्न सक्ने भएका कारण विस्तारै उत्पादनमा ह्रास आइरहेको कृषकहरुले त्यसको अनुभव गर्न नसकिरहेको भएपनि अरु बालीहरुमा भने अम्लियपनले उत्पादनमा ह्रास आउन थालेको किसानहरुले नै अनुभव गर्न थालिसकेको बताएका छन् ।
माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काले घुम्ती प्रयोगशाला, किटबक्स र प्रयोगशालामा पिएच, प्राङ्गारिक पदार्थ, नाईट्रोजन, फस्फोरस, पोटास र माटोको बनोट लगायतको परीक्षण गरेको थियो । कोशी प्रदेशका सबै जिल्लाहरूलाई समेटेर ९ हजार ७ सय १२ वटा माटोको नमूनाको परीक्षण गर्दा ८५.५ प्रतिशत माटो अम्लीय, १३.१ प्रतिशत माटो तटस्थ र १.४ प्रतिशत माटो क्षारीय प्रकारको पाइएको समेत जनाइएको छ । यसरी तथ्यांकलाई हेर्दा कोशी प्रदेशका प्रायजसो सबै जिल्लाहरुमा माटोको उवराशक्ति घट्दै गएको पाइन्छ ।
झापामा माटोको अवस्था कस्तो ?
झापामा समेत पछिल्लो समय खेतीयोग्य जमिनमा अम्लीयपन बढ्दै गएको पाइएको छ । यसले गर्दा वर्षेनी उत्पादन घटिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । आर्थिक वर्ष ०८१÷८२ मा झापाका १५ वटै पालिकाका एक हजार पाँच सय ७७ वटा माटोका नमूना परीक्षण गर्दा पाँच सय ५९ वटा नमूनामा अम्लीयपन देखिएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । जुन कुल नमूनाको ३५.४४ प्रतिशत हुन आउँछ ।
यस्तै, सात सय ५१ वटा नमूनामा सामान्य अम्लीयपन देखिएको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्टले बताएका छन् । जुन कुल नमूनाको ४७.६२ प्रतिशत हुन आउँछ । यस्तै, दुई सय ६७ नमूना तटस्थनजिक देखिएको छ । जुन कुल नमूनाको १६.९३ प्रतिशत हुन आउँछ । कृषिका लागि तटस्थ नजिकको माटो मात्र राम्रो मानिने उनले बताए । ‘अम्लीयपन धेरै र थोरै रहेको माटो खेतीका लागि राम्रो मानिँदैन,’ उनले भने ।
खेतीयोग्य जमिनका लागि खतराको संकेत
कृषि ज्ञानकेन्द्रको माटो तथा मल परीक्षण प्रयोगशाला शाखाले नियमित माटो परीक्षण गर्दै आएको छ । चालू आर्थिक वर्ष ०८२÷८३ मा पनि स्थानीय तहको समन्वयमा बुद्धशान्ति गाउँपालिका सहित दमक नगरपालिका र अर्जुनधारा नगरपालिकामा माटो परीक्षण गरिसकेको छ । जसमा ४६ प्रतिशतभन्दा बढी अम्लीयपन देखिएको कृषि ज्ञानकेन्द्र झापाकोे माटो तथा मल परीक्षण प्रयोगशाला शाखा प्रमुख अञ्जु बुढाथोकीले जानकारी दिइन् । अम्लीयपनको उक्त मात्रा खेतीयोग्य जमिनका लागि खतराको संकेत भएको उनको भनाइ छ । पिएचको मान ५.५ भन्दा कमलाई अम्लीयपन भएको र ५.६ देखि ६.४ सम्म हल्का अम्लीयपन भएको माटो मानिन्छ । त्यसभन्दा बढी ७.४ सम्म तटस्थनजिक र त्यसमाथि बढी छारियपन भएको माटोका रूपमा लिइने उनले बताइन् । तर, पूर्वको माटोमा छारियपन नभेटिएको शाखा प्रमुख बुढाथोकीले जानकारी दिइन् ।
अम्लीयपन र हल्का अम्लीयपन भएको माटोमा खेती नफस्टाउने समस्या रहेको उनको भनाइ छ । यस्तो माटोमा प्रांगारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटासको मात्र कम हुन्छ । ‘जसका कारण जुनसुकै खेती गर्दा पनि बिरुवा नसप्रने हुन्छ । बिरुवाले माटोबाट पाउनुपर्ने तत्व पनि पाउन सक्दैन,’ उनले भनिन्, ‘यसले गर्दा बिरुवामा किरा लाग्ने र बिरुवाको वृत्तिविकास हुँदैन, जसले उत्पादन पनि घट्छ । माटोमा अम्लीयपन बढ्दै जाँदा क्रमशः उत्पादनमा ह्रास आउँदै जाने समस्या बढ्दै जान्छ ।’
दक्षिणी क्षेत्रको माटोमा अत्यधिक अम्लीयपन देखिएको उनले बताइन् । पछिल्लो समय खेतीमा अत्यधिक मात्रामा असन्तुलित रूपमा रासायनिक मलको प्रयोग बढिरहेकाले माटोमा अम्लीयपन बढ्दै गएको बुढाथोकीको भनाइ छ । माटोमा देखिएको अम्लीयपन घटाउनका लागि कृषि चुन सबैभन्दा उपयुक्त विधि रहेको उनी बताउँछिन् ।
यसरी माटोको परीक्षणका आधारमा आएको रिपोटलाई विश्लेषण गर्दा माटो तथा कृषिविज्ञहरु चिन्तित बन्न थालेको छन । कृषि उत्पादनका दृष्टिकोणले मुलुकको ठूलो हिस्सा ओगट्ने पूर्वी नेपालमा देखिएको माटोका अवस्थालाई लिएर विज्ञहरू चिन्तित बन्न थालेका हुन । त्यसैलाई आधार बनाएर माटोको उर्वरा शक्ति बढाउन खेती गर्ने जमिनमा कृषि चुन प्रयोग गर्न विज्ञहरूले सुझाव दिँदै आएका छन् ।



















