काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले आगामी निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारी गरेपछि उनका लागि घर खोजिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गढ मानिने यस क्षेत्रमा बालेन चुनावी मैदानमा उत्रिने भएपछि चुनाव प्रचारप्रसारका लागि घर भाडामा लिइएको हो ।
रास्वपाका वरिष्ठ नेता पनि रहेका शाह झापा–५ बाट चुनावी प्रतिष्पर्धामा उत्रिने घोषणा गरेका छन । यो क्षेत्रमा २०७४ र २०७९ मा एमाले अध्यक्ष ओली निर्वाचित भएका थिए । अहिलेपनि ओलीको एकल नाम एमालेले यही क्षेत्रबाट सिफारिस गरेको छ ।
झापाका रास्वपाका अध्यक्ष प्रकाश पाठकले निर्वाचन प्रयोजनको लागि दमकमा घर भाडामा लिएको जानकारी दिए । उनले सो घरको तस्विर सामाजिक सञ्जालमा साझा गर्दै उक्त स्थल ऐतिहासिक बन्ने बताए । यो घर दमक–३ स्थित क्याम्पस मोडमा रहेको छ ।
बालेनको बसोबास र सम्पर्क कार्यालय सञ्चालनका लागि कुल तीनवटा घर प्रयोग गर्ने योजना रहेको पनि पाठकले बताए ।
२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि बालेनले माघ ४ गते मेयर पदबाट राजीनामा दिने छन् । उनी पहिलो चुनावी कार्यक्रमको लागि मधेश प्रदेशको राजधानी जनकपुर जाने कार्यक्रम छ ।
कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेको यस क्षेत्रमा ६१ मतदान स्थल र १८५ मतदान केन्द्रहरू रहेका छन् । ओली र बालेनबीचको सम्भावित प्रतिस्पर्धाले गर्दा अहिले झापा–५ राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बनेको छ।
बालेन झापा–५ बाट उम्मेदवार बन्ने पनि अन्य जिल्लामा पनि गतिविधि बढाउने गरी तयारी थालेका छन्। उनको राजनीतिक अभियान झापामै सीमित नरहने जनाइएको छ ।
झापा, मोरङ, सुनसरी, इलामलगायतका जिल्लामा सक्रिय कार्यक्रम र जनसम्पर्क बढाउने तयारी बालेनको छ ।



















