के तपाई स्तरीय पुस्तकको पर्खाइमा हुनुहुन्छ ? केही राम्रो कुरा अध्ययन गर्न इच्छुक हुनुहुन्छ ? देश विदेशबारे राम्ररी जान्न चाहनुहुन्छ ? पाठकवर्गका लागि निकै नै राम्रो पुस्तक प्रकाशित भएको छ । पत्रकार तथा लेखक तीर्थ सिग्देलको ‘एक दिन’ नामक कृति भर्खरै प्रकाशित भएको छ । जसलाई लेखकले ‘समय कथा’ पनि भनेका छन् अनि ‘जीवन यात्रा र भोगाइ’ पनि भनेका छन्।
कतिपय मानिसहरु कहीँकतै घुम्न निस्कन पटक्कै सक्दैनन् विविध कारणले ।कोही समय पायो कि व्यक्तिगत खर्चमै पनि घुम्न निस्किहाल्छन् । कोही सरकार, संघ संस्था र व्यापारका माध्यमबाट घुम्ने मौका पाउँदछन् । मानिसहरु धेरथोर घुमि नै रहेका हुन्छन् । कोही चाहिँ असाध्यै घुमक्कड पनि हुन्छन् । तर घुमेर मात्र के गर्नु ? घुमेका देशहरुका बारे केही कुरा अरुमा शेयर गरिएन भने ती सम्झनाहरु र सिकिएका कुरा हराएर जान्छन् । यही कुरालाई मनन गर्दै पत्रकार तथा लेखक तीर्थ सिग्देलले भ्रमणमा गएका देशहरुबारे एउटा निकै नै घतलाग्दो, कामलाग्दो, रोचक र स्तरीय पुस्तक
लेखेका छन् ।
(१) तुम सबको बिबी एकी है ?
(२) दिल्लीको बसाइ मजैको सिकाइ,
(३) डर र त्रास बोकेर गोवा पुग्दा,
(४) तपाई किन बुद्धिष्ट हुुनु भएन ?,
(५) दक्षिण एशियाको एउटा दुःखान्त,
(६) दोहामा विशिष्ट स्रोता बन्दा,
(७) देश बनाउन कति समय लाग्छ ?,
(८) दक्षिण भारततिर टहलिँदा,
(९) ढाका छोड्नु अघि,
(१०) हिंसाको मारमा परेको मुलुकलाइ छिचोल्दा,
(११) मुस्लिम देशमा जातीयताको खोज,
(१२) कक्स बजारमा भिजिट नेपालको प्रचार,
(१३) बुर्ज खलिफाबाट दुबईलाई नियाल्दा, र
(१४) आफ्नै देश प्यारो ।
यसरी यस कृतिमा १४ वटा लेख समेटिएका छन् । जसमा कृतिकार सिग्देल जताजता डुल्न गए त्यहाँकाबारे रोचक ढङ्गले यात्रा वृत्तान्त लेखका छन् । जसलाई यात्रा संस्मरण पनि भन्न सकिन्छ ।
पहिलो लेख छ, ‘तुम सबको की बिबि एकी है ?’ लेखक सिग्देलले भारतमा बेग्लाबेग्लै मितिमा गरेका दिल्ली तथा हैदराबाद भ्रमणको रेल यात्राबाट जन्मेको लेख हो यो । लेखमा आफ्नो यात्रा वर्णनमा ती स्थानका भौगोलिक, सामाजिक तथा ऐतिहासिक महत्वको परिचय दिएका छन् । यो लेखले भारतमा आम मानिसहरुका लागि रेलको यात्रा नरमाइलो, असुविधाजनक छ भन्ने दर्शाउँछ । रेल यात्रामा भिखारी र तेस्रो लिङ्गीले यात्रुलाई दुःख दिन्छन् । तिनै तेस्रो लिङ्गीले यात्रुहरुलाई गरेका प्रश्न हो ‘तुम सबको की बिबि एकी है ?’ अरु धेरै चाखलाग्दा वर्णन पनि छन् यो लेखमा ।
‘दिल्लीको बसाई मजैको सिकाई’ शीर्षकको दोस्रो लेखमा दिल्लीको केही विशेषताबारे जानकारी मिल्छ । दिल्ली विश्वकै ठूला शहरमध्ये एक हो । दिल्ली शहर राती अबेरसम्म व्यापार बिजिनेसमा व्यस्त रहन्छ अर्थात दिल्ली आधा रातपछि सुत्छ र भोलिपल्ट आधादिनतिर खुल्दछ । यहाँका सार्वजनिक यातायात बस चढेर यात्रा गर्दाभन्दा हिँडेर बरु चाँडो गन्तव्यमा पुगिन्छ । यहाँ बाटामा गाडिहरु जाममा धेरैबेर रोकिन्छन् र समयमा गन्तव्यमा नपुग्दा मानिसहरुको धेरै कुरा छुट्दछ । त्यस्तै गरि दिल्लीको ट्राफिक जामप्रति सचेत नहुँदा लेखक सिग्देलले दुईदुईपल्ट दिल्लीबाट काठमाडौ आउने उडान छुटाएको गतिलो सिकाई छ । यस लेखमा दिल्लीको सडक जामको जानकारी मात्र होइन, धेरै कुराबारे मन्थन पनि गरिएको छ ।
‘डर र त्रास बोकेर गोवा पुग्दा’ तेस्रो लेखमा गोवामा सार्वजनिक स्थानमा साथीले चुरोट पिउँदा प्रहरीले प्रक्राउ गरेका घटनाबारे उल्लेख छ । वास्तवमा भारत बिचित्रको देश हो । अर्को अर्थमा विविधताले भरिएको सुन्दर देश हो । भारत विश्वकै पाँचौ आर्थिक शक्ति हो तर आर्थिक र विकासको सोपान असमान भएको देश पनि हो भारत । कहीँ चरम गरिबी र प्रणालीका दुरावस्था छन्भ भने त्यहीँ यूरोप र अमेरिका जत्तिकै विकसित र स्तरीय प्रणाली पनि विकास
गरिएका छन् । यस लेखमा भारतबारे धेरै कुराको जानकारी पाउन सकिन्छ ।
चौथो लेख ‘तपाई किन बुद्धिष्ट हुनु भएन ?’ शीर्षकको लेखले पाठकको मन निकै छुन्छ । नेपाल भन्दा टाढाको देश श्रीलंकाका जनताहरु चाहिँ सबै बुद्धिष्ट छन् तर बुद्ध जन्मेकै देश नेपालका जनताचाहिँ बुद्धिष्ट छैनन् । त्यसैले नेपालीहरु बुद्धिष्ट नभएका थाहा पाएर निकै आश्चर्य मानेर श्रींलकालीले कृतिकार सिग्दलेलाई ‘तपाई किन बुद्धिष्ट हुनु भएन ?’ भनेर गरेको प्रश्नबारेको लेख हो यो । यो प्रश्न एक व्यंग्य पनि मान्न सकिन्छ । वास्तवमा यो प्रश्न सम्पूर्ण नेपालीहरुलाई गरिएको प्रश्न हो । यो प्रश्नले धेरै कुरा समेटेको छ र धेरै कुराको उत्तर खोजेको छ ।
‘दक्षिण एशियाको एउटा दुःखान्त’ शीर्षकको पाँचौ लेखमा, बङ्गलादेशका चक्मा विद्रोहीहरुको प्रसङ्गबाट भारतका बोडो, नक्सलवादी, गोर्खाल्याण्ड मुक्ति मोर्चा र नेपालका माओवादी आदिका विद्रोहका चर्चा गरिएका छन् । यस लेखले यो पनि जनाउँद छ कि, नेपालीहरु बङ्गलादेश जान, ब्यापार गर्न सजिलो छैन ।
जानुछ बङ्गलादेश तर फुलबारीस्थित अध्यागमनमा भारतीय कर्मचारीहरुबाट हुर्मत लिइने रहेछ । यस लेखले नेपालीहरुलाई बंगलादेशसँग सहज व्यापार गर्न नदिनु भारतीयहरुको भित्री उद्देश्य रहेको यथार्थ उजागर गर्दछ ।
‘दोहामा विशिष्ट स्रोता बन्दा’ शीर्षकको छैठौँ लेखमा, नेपालीहरुलाई
विदेशमा हेर्ने प्रवृत्ती नकारात्मक रहेको कुरा उजागर गरिएको छ ।
एयरपोर्टदेखि शुरु हुन्छ नेपालीहरुप्रति हेर्ने नकारात्मक दृष्टि । कतिपय नेपालीहरुकै कारण पनि यस्तो व्यबहार सहनुपर्ने लेखकले पुस्तकमा उल्लेख गरेका छन् । यस लेखले खुशीको कुरा पनि समेटेको छ त्यो हो विदेशमा पनि नेपाली साहित्यिक कार्यक्रम हुने गर्दछन् । १३ डिसेम्बर २०१३ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टर तथा नवोदित साहित्यिक मोबाइल पुस्तकालय कतारको आयोजनामा अनेसास नवोदित साहित्यिक बाचन शृङ्खला ३२औँ डबली आयोजना गरिएको थियो । सो कार्यक्रममा यस कृतिकार सिग्देललाई विशिष्ट स्रोताको रुपमा स्वागत गरिएको थियो तर लेखक सिग्देलले आपूm सो कार्यक्रमका लागि योग्य नरहेको बताएका छन् किनकि अघिल्ला शृङ्खलाहरुमा डा. गोविन्दराज भट्टराई, खगेन्द्र संग्रौला जस्ता दिग्गज लेखकहरु अतिथि रहेका थिए तर लेखक सिग्देलका कृतिहरु पढ्दा उनी झन् दिग्गज
लाग्दछन् । यो कार्यक्रम उसैपनि ३२औँ शृङ्खला थियो । यसले विदेशमा रहेका नेपालीहरुमा नेपाली साहित्यप्रतिको लगाव अत्यन्त सघन रहेको दर्शाउँदछ । विदेशमा कामदारका रुपमामात्र मान्यता पाएका नेपालीहरुले यस्ता कार्यक्रम गरिरहनु नेपाली भाषा साहित्यका लागि ठूलो योगदान हो । यसले विदेशम नेपालीबीचको एकता दर्शाउँदछ ।
‘देश बनाउन कति समय लाग्छ ?’ शीर्षकको सातौँ लेखमा कतार, मलेशिया, सिंगापुर लगायतका देशहरु छोटो समयमै विकसित भएको देख्दा देश बनाउन कतिपनि समय लाग्दैन यदि देशले सही शासकहरु पाएभने भन्ने आशय हो यस लेखको । विदेशले गरेको लोभलाग्दो विकास देखेर लेखक सिग्देल चकित पर्दछन् । नेपाललाई विकसित देश बनाउन कति समय लाग्छ ? आफ्नो देश नेपालले ती देशका
जस्ता दुरदर्शी र सक्षम शासक कहिले पाउला र ती देशहरुजस्तै नेपाल कहिले विकसित होला ? भनेर चिन्तित बन्दछन् । यसै विषयहरुमा केन्द्रित छ यस लेख ।
‘दक्षिण भारततिर टहलिँदा’ शीर्षकको आठौँ लेखमा, दक्षिण भारततिर आठदश लेनका सडक भएका, पहाडहरु पनि भएका र हिन्दी भाषा प्रयोग नगरिने र आम भारतीयहरुले समेत बुझ्न नसकिने तेलगु भाषा प्रयोग हुँदो रहेछ लगायतका जानकारीहरु यस लेखमा समेटिएका छन् । भारतमा जातिपिच्छेका भाषाहरु सरकारी
कामकाजमा समेत प्रयोग हुन्छन् । प्रान्तहरुले सबै भाषा संरक्षण, प्रयोग र उत्थान गर्दछन् । भारत भाषिक स्वतन्त्रताको नमूना रहेको यस लेखले जनाउँदछ। भाषाबारे सटिक ढङ्गले लेखिएको छ । भारत भाषाहरुका लागि स्वर्ण भूमि रहेको यस लेखले जनाउँदछ ।
‘ढाका छोड्नु अघि’ शीर्षकको आठौँ लेखमा ढाका कार्यक्रम भ्रमणमा गएका लेखक सिग्देलको टीमलाई बंगलादेशीहरुले उल्लु बनाएको प्रसंग छ । साथै बंगलादेशको जन्म र सत्ताका लागि हत्या श्रृंखला आदिबारे लेखक सिग्देलले निकै गहिरोगरि उल्लेख गरेका छन् । यस लेख बंगलादेशबारे जान्न निकै उपायोगी रहेको छ ।
‘गरिबी र हिंसाको मारमा परेको मुलुक छिचोल्दा’ शीर्षकको नवौँ लेखमा बंगलादेश हिंसायुक्त भएर पनि कसरी शैक्षिक हब बन्यो ? भन्ने जानकारी मिल्दछ । विकोसोन्मुख या अल्पविकसित र हिंसाग्रस्त देश भइकन पनि बंगलादेश शैक्षिक हब बन्न सफल देश हो । त्यहाँ वान कलेज वान युनिभर्सिटी नीति रहेको छ । यस लेखमा बंगलादेश, भुटान, भारत र नेपाल मिलेर बनाउने उपक्षेत्रीय संगठन बीबीआइएन्बारे पनि जानकारी समेटिएका छन् । बंगलादेश
माग्नेहरुको बिगबिगी भएको देश र मदिराजन्य पदार्थ विक्री वितरण र सेवनमा कडाइ भएको देश रहेछ । बंगलादेश राजनीतिक हिंसा र प्रतिहिंसाले भरिएको देश भइकन पनि विकासको पथमा निकै अगाडि पुगिसकको छ । नेपालले बंगलादेशबाट केही सिक्न सक्ने विचार लेखक सिग्देलको रहेको छ ।
‘मुस्लिम देशमा जातीयताको खोज’ शीर्षकको एघारौँ लेखमा बंगलादेशका आदिवासी चक्माहरुको दुःख र दुःखबीच साँची ल्याएका कलाबारे लेखिएका छन् । ‘मैले तिनै नृत्याङ्नाहरुका गोरोगोरो अनुहारमा तिनको दुःख लुकेको देखेँ । उनीहरुको गीतमा विद्रोहको ज्वारभाटा देखेँ । उनका ती बाबुआमाहरुको हाडखोड
देखेँ, जसले बंगलादेशी राज्यसत्ताको लामो दमन खेपे । जहाँ बगिरहेको आँशुको सागर देखेँ । त्यसलाई आज पर्यन्त लेक अप्m टियर भनेर चिनिन्छ । आजपनि बिस्थापनको मारमा परिरहेका उनीहरुको पीडाले घोचिरहेका छन् ।’ लेखकले लेखमा लेखेका यी अंशले नै देखाउँछकि बंगलादेशमा अल्पसंख्यक हुनुको
पीडा । ९० प्रतिशत मुसलमान भएको मुलुक बंगलादेशमा थोरै संख्यामा रहेका हिन्दु र बुद्धिष्टहरुमाथि दमन हुने गरेको छ । चक्माहरु बुद्धिष्ट हुन् । बंगलादेशका अरु पाटाहरु पनि लेखमा समेटिएका छन् ।
‘कक्स बजारमा भिजिट नेपालको प्रचार’ शीर्षकको बाह्रौँ लेखमा बंगलादेशको कक्स बजारबारे लेखिएको छ । कक्स बजार ब्रिटिस कालमै स्थापित भएको हो । बेअफ बंगाल समुद्री भूभागसँग जोडिएको यो बजार भएको स्थानको विच संसारकै लामो विच हो । यो १ सय ५५ किलोमिटर लामो छ । ब्रिटिस कालमा ब्रिटिस
इण्डिया कम्पनीका क्याप्टेन हिराम कक्सले स्थापना गरेका कारण यस बजारको नाम कक्स बजार रहन गएको तथ्य स्रष्टा सिग्देलले पुस्तकमा उल्लेख गरेका छन् । चाखलाग्दो नाम ‘कक्स’ जस्तै यो लेख पनि उत्तिकै चाख लाग्दो छ । यो लेखबाट बंगलादेशको दुःख, सुख बारे जान्न सकिन्छ । साथै, नेपालीहरुले बंगलादेशमा व्यापार गर्ने क्रममा बाटो बीचमा रहेको भारतबाट प्रताडित हुनु परेको यथार्थ पनि उत्तिकै सटिक किसिमले लेखिएको छ ।
‘आफ्नोै देश प्यारो’ शीर्षकको चौधौँ लेखमा नेपालभित्र पाइने ठाउँ
अनुसारका मौलिक खाना, संस्कृति आदिबारे लेखिएका छन् । देश विदेश डुलेका लेखक सिग्देलले विदेशमा खाएका खाना र देखेका संस्कृति भन्दा आफ्नै देश नेपालको कुराहरु राम्रो लागेको अनुभूति व्यक्त गरिएको लेख हो यो । आजभोलि त विदेशतिर पनि नेपाली खाना प्रसस्तै पाइन्छन् । त्यसैेले पनि विदेश जाँदा नेपाली परिकार पाइने रेष्टुरेन्ट खोज्ने गर्दछन् नेपाली यात्रुहरु । यस लेखमा नेपालका जातिपिच्छेका खानाका परिकारका जानकारी पाइन्छ । साथै लेखमा भारतीय खानाका थुप्रै परिकारबारे पनि लेखिएका छन् । लेखक सिग्देलमा खानाहरुका परिकारबारे गहिरो जानकारी रहेका छन् । मानौ उनी खानाका परिकारका विशेषज्ञ हुन् । यस्ता धेरै खुबी रहेका छन् उनमा । यस लेख र पुस्तकले यही जनाउँदछ ।
‘बुर्ज खलिफाबाट दुबईलाई नियाल्दा’ शीर्षकको तेह्रौँ लेखमा दुबईमा
निर्मित संसारकै अग्लो भवन बुर्ज खलिफाको चमत्कारिक प्रविधि र त्यहाँका शासकहरुको दुरदर्शीता तथा लगानी साहसबारे जानकारी पाउन सकिन्छ । दुबईमा त्यस्ता धेरै संसार प्रसिद्ध संरचनाहरु बनेका छन् जसले दुबईलाई विश्वकै उच्च विकास प्रविधि भएको साथै अथाह आर्थिक लगानी गर्न सक्ने शहरको रुपमा चित्रित गरेको छ । विकास के हो र कसरी गर्नु पर्दछ भन्ने सन्देश दुबईले विश्वलाई दिएको छ । अरुले मरुभूमिलाई अभिशाप मान्दछन् तर मरुभूमी नै दुबईका लागि बरदान भएको छ । संसार भरिका धनी मानिसहरुको पर्यटन र किनमेल गन्तब्य बनेको छ । मरुभूमिको यस्तो लोभलाग्दो विकासबाट प्रकृतिले सिंगारेको देश नेपालले केही सिक्ने हो कि भन्ने सन्देश र चिन्तन यो लेखको रहेको छ ।
यस पुस्तक पढेर, विभिन्न देशकाबारे रोचक जानकारी हासिल गर्न सकिन्छ । कुनै पनि देशको कैयन आन्तरिक पाटाहरु हुन्छन् । ती मध्ये थुप्रै पाटाहरुबारे यस पुस्कतले राम्ररी उजागर गरेको छ । यात्रा संस्मरण, टुर रिपोर्ट, कथा या उपन्यास, कुनै पनि शैली सम्झेर पढ्न सकिन्छ यस पुस्तक ।सरल तथा रुचीपूर्ण पठनीय शैलीमा लेखिएको यो पुस्तक पढिसकेपछि पाठकवर्गमा एक प्रकारको मार्गदर्शन प्रवाह हुन्छ । देश विदेशबारेका केही चित्रहरु पाठकका मनमस्तिष्कमा छाप बनेर रहन्छन् । यो पुस्तक विशेषतः राजनीतिज्ञ, विकासविद्, योजनाकारहरुका लागि निकै उपयोगी छ । अरु देशकाबारे ज्ञान
मिलेपछि आफ्नो देश कसरी, कस्तो बनाउने भन्ने मार्गदर्शन मिल्दछ । देश विदेश भ्रमणशील व्यक्तिहरुका लागि यो पुस्तक पूर्व मार्गदर्शक हुनेछ । पत्रकारहरुका लागि त झनै उपयोगी पुस्तक हुनेछ । अन्य देशको जानकारी भएमा आफ्नो देशको विविध पक्ष, सबल र दुर्बल पक्ष उजागर हुन्छन् । अनि पत्रकारिताका माध्यमबाट कुन विषय कसरी प्रभावकारी रुपमा उठान गर्ने भन्ने दृष्टि मिल्दछ । साथै, अध्यापन, प्राध्यापन सेवी, विद्यार्थी, स्वअध्ययनशीलहरुका लागि यो पुस्तक उपयुक्त श्रृंखलाको रुपमा आएको छ । किनकि यस पुस्तकमा विभिन्न देशका धेरैधेरै कुरा समेटिएका छन् । लेखकले ती
कुराहरुलाई नेपालको सन्दर्भसँग जोड्दै नेपालमा सम्भावनाहरु खोजेका छन् । नेपाल भन्दा धेरै पछि स्थापित देशहरु विकास पथमा धेरै अगाडि पुगिसकेका छन् तर नेपाल चाहिँ उल्टो पो कुद्दो छ । आफ्नो देश विकसित हुन नसकेकामा लेखक पछुताउँदछन् । शासकहरुदेखि दिग्क्क मान्दछन् । नेपाली हुनुको लज्जोबोध कहाँ लुकाउने ? भनेर बाटो खोज्दछन् तर एयरपोर्टै पिच्छे र विदेशमा नेपाली हुनुको पीडा भोग्नै पर्दछ । यो पुस्तकको सन्देश यही रहेको
छ ।
प्रकाशकीयमा लेखिएको छ, ‘तीर्थ सिग्देल युवा पुस्ताको एउटा सशक्त लेखकको नाम हो । पत्रकारिता क्षेत्रबाट लेखन विधामा उदाउँदै गरेको भएपनि उनले यसअघि छाडेको अमिट छापले नेपाली पाठकहरुको मन खिचेको छ । लेखनमा आफ्नो अलग शैलीको प्रयोग, शिल्प र प्रस्तुतीले नेपाली पाठकहरु माझ लोकप्रियता कमाइसकेको छ । कमै मात्रामा यस्ता प्रतिभाको उदय हुने गर्छ । जो परम्परागत लेखन शैलीबाट पर हट्न सक्छन् । आफुले एउटा सक्रिय पत्रकार
भएपनि किताब लेखाइलाई निरन्तरता दिने उनको सपना र योजनाको विवरण सुन्ने हो भने जो कोहीलाई लोभ लाग्छ । खासगरी एउटा लेखकले साहित्यको एउटा विधामा मात्र कलम चलाएर परिचय स्थापित गर्न सक्दैन भन्ने सिग्देलको मान्यता छ । एउटा शसक्त लेखक बन्नका लागि साहित्य विधाका सबै क्षेत्रमा उत्तिकै रुपमा छाउन सक्नु पर्दछ भन्ने उनको मान्यतालाई आत्मसात् गर्दैगर्दा आज यो किताब तपाईको हातमा आइपुगेको छ । यस एक दिन कृति (समय कथा) लेखकको जीवनको भोगाइ, अनुभूति र यात्राको परिणाम हो । जसरी यसअघि मोनोनेट कथासंग्रह मार्पmत मनले बुझ्ने मनको भाकालाई मनोवैज्ञानिक शैलीमा उनले प्रस्तुति गरेर नेपाली साहित्यमा एउटा नयाँ बहसको थालनी गरेका छन् । यो पुस्तकले पनि एउटा फरक विषयलाई उठाएर अर्को बहसको आरम्भ गरेको हामीले ठानेका छौँ ।
एक दिन (समय कथा)ले उजागर गरेको एकदमै अलग विषय त त्यो हो, जसलाई लेखकले जीवनलाई एक दिन हो भनेका छन् । एक दिनले नै जीवनलाई निर्देशित गरेको हुन्छ । त्यो एक दिनले नै मानिसको जिन्दगीको लागि निर्णायक भूमिका खेलेको हुन्छ । र, त्यही एक दिनको पर्खाइमा ऊ हुन्छ, जुनदिनले अन्ततः उसलाई आकाशमा पु¥याउँछ वा रसातलमा । जताजता गइन्छ, त्यो ठाउँको बारेमा प्रकाश पार्ने तर आफ्नो मुलुक र देशको परिवेशसँग तुलना गरेर सिक्ने अवस्थासिर्जना गर्नु नै नौलो प्रयोग हो भन्ने हाम्रो ठहर छ ।’
‘साबिक खुदुनाबारी—१ (हालको अर्जुनधारा नगरपालिका—१) स्थिति शान्तिचोकस्थित तीर्थजीको घर थियो । पढ्दापढ्दै हामीले तीर्थजीको घरमै एउटा पुस्तकालय स्थापना गयौँ । विभिन्न माध्यमबाट पुस्तक भेला पार्यौ । म सँग पनि थुप्रै किताब थिए । ती किताबहरु तत्कालीन समय अनुसार प्रतिबन्धित थिए । हामीले ती किताब पुस्तकालयमा राखेर गाउँमा पठन सँस्कृतिक विस्तारको प्रयास गर्यौं । थुप्रै साथीहरुले त्यस्ता किताब पढ्नु भयो पनि। पछि सबै आआफ्नै क्षेत्रमा विस्थापित हुँदै गएपछि पुस्तकालय त्यसै विलय भएको थियो । आज आएर थाहा भयो मित्र तीर्थजीमा त्यहाँ रहेका किताबहरुको ज्ञान स्थान्तरण भएको रहेछ । त्यो पुस्तकालय त मेरा मित्र तीर्थजीको
मानसपटलमा स्थापित भइसकेको रहेछ ।’ प्रस्तुत पुस्तकमा ‘पर्यटनको आलोकमा’ शिर्षकमा ‘शिव रेग्मी प्रणत’को विचार पोखिएका छन् । यसबाट तीर्थ सिग्देल पहिले देखि नै अध्ययनशील रहेका थाहा लाग्दछ ।
तीर्थ सिग्देलको यस ‘एक दिन’ कृतिको पाण्डुलिपी पढेपछि ‘उहाँप्रतिको दृष्टिकोण निकै अग्लो भयो’ भनेर पुस्तकमा लेखक तथा साहित्यकार ‘पुण्यप्रसाद खरेल’को उद्गार व्यक्त भएबाट पनि यो कृति निकै उच्चकोटीको रहेको भन्न सकिन्छ ।
पत्रकार गोपीकृष्ण खनालको संगतले पत्रकार भएको स्वीकार्ने पत्रकार तथा लेखक सिग्देललाई ‘तपाईको लेखनमा साहित्य कम, पत्रकारिताका शैली बढी भयो’ भन्ने पाठकगणको जिज्ञासामा लेखक सिग्देल लेख्छन्, ‘आज जति पनि पत्रकारहरुले पुस्तक लेखेका छन्, उनीहरुका पुस्तकको शैली रिपोर्ताज शैलीकै हुने गरेका छन् ।’ तर यो पुस्तक पढ्दा सुन्दर आख्यान पढिरहेको अनुभूति हुन्छ । यस पुस्तकमा स्तरीय आख्यानको मीठास पाइन्छ । रिपोर्ताज शैलीमा लेखिएका पुस्तकहरु पनि कम्ति मीठासपूर्ण हुन्नन् । ती मीठासहरु यस एक दिन पुस्तकमा पाउन सकिन्छ र आख्यानका पट्यारलाग्दा तन्काइहरुबाट रिपोर्ताज शैलीले छुट्कारा दिँदो रहेछ ।
यस पुस्तकको नाम ‘एक दिन’ किन जुराइयो होला ? अनि लेखक सिग्देलले यसलाई ‘समय कथा’ किन भनेका होलान् ती कुरा पढ्ने र जान्ने जिम्मा पाठकवर्गमा । तै पनि पुस्तकमा लेखक सिग्देलले लेखेका भनाईका सानो अंश यहाँ राख्न सान्दर्भिक हुन्छ, ‘भोलि कसले देखेको छ र ? जिन्दगी भनेको एक दिन हो । जति वर्ष बाँचे पनि मान्छेका लगि एक दिनको मात्र महत्व ठूलो हुन्छ । हरेक मान्छे एक दिनको पर्खाइमा हुन्छ । प्रगतिका लागि, उन्नतिका लागि र
सफलताका लागि । प्रत्येक दिन मेहनत गरिरहेको हुन्छ, जिन्दगीको परीक्षामा उतीर्ण हुनका लागि ।’
पढौँ पढौँ लाग्ने आकर्षक लेखन शैलीको यो कृति पढ्दा नेपालका स्थापित लेखकहरुले लेखेका समकालीन नेपाली चर्चित आख्यानका पुस्तकहरु पढे जस्तै अनुभूति हुन्छ । निबन्धात्मक शैली जस्तो पनि लाग्न सक्छ र यस पुस्तक पढ्नुको मज्जा अर्कै लाग्दछ । भ्रमण गरेका देशहरुका प्रसंगसँग नेपालको अवस्थासँग तुलना गर्ने शैली निकै नै रोचक, सान्दर्भिक र परिपक्व लाग्दछन्। भ्रमण गरिएका देशहरुका राम्रा पक्ष र नेपालको कमजोरी छर्लङ्ग पार्ने बौद्धिक खुबी लेखक सिग्देलमा रहेको देखिन्छ ।
मिडिया रिसर्च सेन्टरले २०७७ मा प्रकाशन गरेको चिटिक्क बान्कीको यस ‘एक दिन’ समय कथा पुस्तकले ‘तीर्थ सिग्देल’ एक मेहनती, खोजमुलक तथा उच्चकोटीको लेखक भएको प्रमाणित गर्दछ । सिग्देलको यसअघि ‘जीवनको गति (२०७३)’, ‘पुर्वको राजनीति (२०७४)’, ‘मोनो नेट कथा संग्रह (२०७६)’ नामक पुस्तकहरु प्रकाशित भएका छन् । यस ‘एक दिन’ कृति पछि पनि यसै २०७८ सालमा ‘मनको कैदी कथा संग्रह’ पुस्तक प्रकाशित भएको छ । साथै लेखक सिग्देलमा सम्पादन क्षमता पनि रहेको छ । झापाका प्रमुख पर्यटकीय स्थलहरु, सम्झनामा यादव पौडेल, समृद्धी किताब र मेरो पत्रकारिता प्रकाशनहरु उनको सम्पादनमा सम्पन्न भएका छन् । तीर्थ सिग्देल एक पत्रकार, लेखक, सपना द्रष्टा,बौद्धिक तथा चिन्तक हुन् । उनका कृतिहरुले यही गुण दर्शाउँदछन् ।
प्रस्तुति : भुवन तामाङ