विराटनगर। आगामी आर्थिक वर्षको बजेट तर्जुमा प्रक्रिया अघि बढेसँगै गौरीगञ्ज गाउँपालिकाको नेतृत्वले प्रदेश सरकारसँग बजेट माग राखेको छ। उपाध्यक्ष पूजन न्यौपानेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार मुख्यमन्त्री हिक्मत कुमार कार्कीसँग भेट गर्दै आवश्यक बजेटका विषयमा छलफल गरेको हो।
उक्त प्रतिनिधिमण्डलमा गाउँपालिकाका वडाध्यक्ष श्रवण गिरी, फेका गिरी, नेकपा (एमाले) का जिल्ला सदस्य तथा युवा नेता धर्मेन्द्र राजवंशी लगायत सहभागी थिए।
भेटका क्रममा उपाध्यक्ष न्यौपानेले गौरीगञ्जको समग्र विकासका लागि अत्यावश्यक पूर्वाधार र योजनाबारे मुख्यमन्त्रीलाई जानकारी गराएको बताइन्। “गाउँपालिकाको विकासलाई तीव्र पार्नुपर्ने योजनाहरूको प्रस्तावपत्र मुख्यमन्त्रीज्यू समक्ष प्रस्तुत गरिएको छ,” उनले भनिन्।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। “गौरीगञ्जको विकासलाई प्राथमिकतामा राखेर योजना अघि बढाइनेछ,” उनले आश्वासन दिए।
गौरीगञ्ज गाउँपालिका झापा जिल्लाको दक्षिणी सिमानामा रहेको छ। यो क्षेत्र कृषि, पूर्वाधार तथा सीमावर्ती सहकार्यका दृष्टिले महत्त्वपूर्ण मानिन्छ।