श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व विशेष गरी सनातन हिन्दू धर्ममा आस्था राख्नेहरूको लागि एक महत्वपूर्ण धार्मिक पर्व हो। यस दिन ब्रह्मसूत्रधारीहरूले पवित्र नदी, ताल, पोखरी वा जलाशयमा गई पूजा सामग्री जस्तै जौं, तील, गाईको गोबर, माटो, भस्म, कुश, दूबो, दतिउँन आदि प्रयोग गर्दै विधिपूर्वक स्नान गर्छन्। गोमय, मृत्तिका र भस्मको प्रयोगसहित गरिने स्नानलाई गणस्नान वा श्रावणी स्नान भनिन्छ।
प्रातःकालीन स्नानपछि गुरु–शिष्य र समाजका सदस्यहरूको सामूहिक सहभागितामा वैदिक तथा पौराणिक मन्त्रसहित यज्ञोपवीत (जनै) र रक्षाबन्धन (डोरो) को पूजा गरिन्छ।
कपासलाई कच्चा धागोमा परिणत गरी त्यसबाट जनैको निर्माण गरिन्छ। यसको महत्व भौतिक दृष्टिले हेर्दा सामान्य लागे पनि धार्मिक र वैज्ञानिक दृष्टिले यसको महिमा अत्यन्त गहिरो र गरिमामय छ। यिनै विशेषता बोकेको पवित्र सूत्रमार्फत सम्पूर्ण सनातन हिन्दू अनुयायीहरूलाई एकै सूत्रमा बाँध्ने पर्व नै जनै पूर्णिमा हो।
यज्ञो वै विष्णुः। यज्ञाख्यः परमात्मा य उच्यते चैव होतृभिः।
उपवीतं ततोSस्येदं तस्माद् यज्ञोपवीतकम्।।
अर्थात्—यज्ञबाट संस्कारित, पवित्र पारिएको सूत्र नै उपवीत (जनै) हो, जुन भगवान विष्णुको प्रतीक मानिन्छ। अग्निका उपासक होताहरूले भगवान विष्णुलाई यज्ञपुरुषका रूपमा मान्दै यज्ञबाट संस्कार गरिएको यस सूत्रलाई यज्ञोपवीत भन्छन्।
सूचनाद् ब्रह्मतत्वस्य वेदतत्वस्य सूचनात्।
तत्सूत्रमुपवीतत्वाद् ब्रह्मसूत्रमिति स्मृतम्।।
अर्थात्—ब्रह्मज्ञान र वेदको तत्व सूचित गर्ने सूत्र नै ब्रह्मसूत्र (जनै) हो।
वेदका चार भाग र गायत्री मन्त्रका २४ अक्षरलाई गुणा गर्दा प्राप्त हुने ९६ संख्या—तथा तिथि, बार, नक्षत्र, तत्त्व, वेद, गुण, काल र मासको योगफल ९६ लाई ब्रह्मसूत्रको आधार मानिएको छ।
जनै बनाउँदा ९६ फन्का दिइन्छ, जसमा ९६ देवताका नाम उच्चारण गर्दै आधान गरिन्छ। तीन डोरामा बाटेर तेब्बर पार्दा नौ डोरा हुन्छन्, जसमा नौ देवताको आवाहन गरिन्छ ओंकार, अग्नि, अनन्त, चन्द्र, पितृ, प्रजापति, वायु, सूर्य र सम्पूर्ण देवता।
जनैको लम्बाइ वाम काँधदेखि नाभि हुँदै कटिसम्म पुग्ने हुनुपर्छ, न त धेरै छोटो (नाभिभन्दा माथि) न धेरै लामो (कटिभन्दा तल)।
जनैको धार्मिक महिमा
जनै पूर्णिमाका दिन अरुन्धतीसहित सप्तऋषि, रुद्राभिषेक, ऋषि श्राद्ध, देवता, गुरु र पितृहरूलाई यज्ञोपवीत दान गर्ने प्रचलन छ। वर्षभरि स्वाध्याय गरिएका मन्त्रहरूको पुनरावृत्ति गरी अध्यायोपाकर्म गरिन्छ।
यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात्।
आयुष्यमग्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः।।
अर्थात्, प्रजापतिद्वारा निर्मित र यज्ञबाट पवित्र पारिएको यस यज्ञोपवीतले आयु, विद्या, यश, बल र तेज प्रदान गरोस्।
पुरानो जनै त्याग गर्ने मन्त्र
एतावद्दिनपर्यन्तं ब्रहत्वं धारितं मया।
जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम्।।
पुरानो जनै त्याग्ने समय सुतक, मृतक, वा चार महिनामा एक पटक मानिन्छ।
जनै र संस्कार
जनै आर्य संस्कृतिको प्रतीक हो—विद्याको चिन्ह र यज्ञको वेशभूषा। शिक्षा ग्रहण गर्नुअघि जनै धारण गर्ने प्रथा थियो। मर्यादा पुरुषोत्तम राम, योगिराज कृष्ण, कैलाशपति शिव, ब्रह्माजी, जनक, पार्वती, गार्गी, सीता, दुर्गा, रूक्मिणी, सरस्वती, कुन्ती, द्रौपदी तथा रावणसम्मले जनै धारण गर्थे।
स्त्रीले जनै लगाउनु हुँदैन भन्ने धारणा ऐतिहासिक रूपमा गलत हो। जनै ब्रह्मचर्य, गृहस्थ र वानप्रस्थ आश्रममा मात्र धारण गरिन्छ, सन्यास आश्रममा पुगेपछि त्यागिन्छ। भगवान बुद्धले समेत सन्यास अघि शिखा र जनै त्यागेको शास्त्रीय प्रमाण छ।
जनैका तीन डोराले मन, वचन र कर्मको एकताको शिक्षा दिन्छन्। जब यी तीनै एक हुन्छन्, व्यक्ति महात्मा बन्छ; अन्यथा पतन हुन्छ।
संस्कृत दिवस र सांस्कृतिक पुनर्जागरण
आजको दिन विश्व संस्कृत दिवस पनि हो। सन् १९६९ देखि मनाउन थालिएको यो दिवस संस्कृत भाषाप्रति कृतज्ञता र सम्मान अर्पण गर्ने दिन हो। राष्ट्रिय हिन्दू एकता मञ्च नेपालले स्थापना कालदेखि नै यस दिनलाई विशेषरूपमा मनाउँदै आएको छ।
तर नेपालमा हाम्रो मौलिक संस्कार, संस्कृत भाषा र परम्परा दीर्घकालसम्म उपेक्षित रहँदै आएको छ। राजनीतिक परिवर्तनको नाममा वामपन्थी र प्रजातन्त्रपन्थी लेखक समूहहरू बीचको विचार संघर्षमा मौलिक संस्कारलाई ‘पिछडिएको’ भन्दै ओझेलमा पारियो। त्यसको असर स्वरूप नयाँ पुस्ता आफ्नै परम्परा, अनुशासन र ज्ञान पद्धतिबाट वञ्चित हुन पुग्यो।
तर हाल विद्वानहरूको कलम र संगठनहरूको प्रयासले जागरणको सुरुवात भएको छ। राष्ट्रिय हिन्दू एकता मञ्च नेपाल र चेतना साहित्य समाजले संस्कार, संस्कृत र मौलिक पर्वहरूको पुनर्जागरणमा योगदान दिइरहेका छन्।
दि हामीले आफ्ना धर्म, संस्कार, संस्कृति, भाषा र वेदग्रन्थको पुनर्जागरण गर्न सक्यौं भने नेपाल पुनः विश्वगुरुका रूपमा परिचित हुनेछ। विश्वका करिब तीन अर्ब ॐकार परिवारका लागि नेपाल तीर्थस्थल बन्नेछ। नेपाल मात्र तपोभूमि हो, बाँकी देशहरू भोगभूमि त्यसैले यसलाई आमा भनिन्छ।
हामी सबै जागौँ, उठौँ, आफ्ना पर्वको महिमा जन–जनमा पुर्याऔँ। संस्कृत दिवस र जनै पूर्णिमाको हार्दिक शुभकामना।
जय सनातन धर्म! जय चेतना साहित्य समाज! ॐ ॐ ॐ
– इन्द्र प्रसाद ओली
अध्यक्ष, राष्ट्रिय हिन्दू एकता मञ्च नेपाल
केन्द्रीय कार्यालय, भद्रपुर–७, झापा