झापामा बाढी र डुबानबाट ९ हजार विस्थापनको सम्भावना, दक्षिणका पालिका उच्च जोखिममा

झापा। झापामा यो बर्ष बाढी तथा डुबानका कारण ९ हजार मानिस विस्थापित हुन सक्ने सम्भावना रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताएका छन्। उनका अनुसार जिल्लाका १५ वटै पालिका बाढी तथा डुबानबाट प्रभावित हुने जोखिममा छन्, तर राजमार्ग दक्षिणका पालिकाहरू हरेक वर्षझैँ यसपटक पनि बढी प्रभावित हुने आँकलन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा सोमबार आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा बोल्दै ढकालले यो बर्ष पनि अघिल्ला वर्षहरूजस्तै गम्भीर विपद् आउन सक्ने संकेत देखिएको बताए। उनले भने, “झापाका १५ वटै पालिका जोखिममा छन्, तर दक्षिणका पालिका बढी संवेदनशील छन्।”

EPIC EPIC EPIC EPIC EPIC

ढकालले थप जानकारी दिंदै जिल्लामा हाल ९ स्थानमा वर्षा मापन केन्द्र स्थापना भइसकेको बताए। यी मापन केन्द्रहरूबाट सङ्कलन गरिने वर्षाको विवरणको आधारमा असामान्य वर्षा भएमा सर्वसाधारणका मोबाइल फोनमा सतर्कताका लागि म्यासेज पठाउने व्यवस्था मिलाइएको उनको भनाइ छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले समेत मौसमविद्हरूको पूर्वानुमान अनुसार यस वर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले पालिकाका जनप्रतिनिधि र सरकारी कार्यालयका प्रमुखहरूलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेका थिए।

उनले भने, “यसपाली सरदरभन्दा बढी वर्षा हुने संभावना मौसमविद्हरूले बताइरहेका बेला तथ्याङ्क प्रस्तुत गरेर वस्तुस्थिति देखाउन खोजिएको हो। यसैअनुरूप हामीले तयारी अवस्थामा रहनुपर्ने अवस्था छ।”

कार्यक्रममा झापाको विगतको विपद् अवस्थाबारे जानकारी दिँदै सभापति ढकालले गृह मन्त्रालयले सबै जिल्लाका वडाहरूमा राख्नुपर्ने औजार तथा सामग्रीहरूको सूची पठाएको भए पनि अहिलेसम्म कुनै वडाले त्यो कार्यान्वयन नगरेको बताए।

उनले भने, “थोरै पैसा लाग्छ यी सामान किन्नका लागि। तर अहिलेसम्म हामीले भनेको कार्यान्वयन हुन सकेको छैन। गृह मन्त्रालयले लेखेर पठाएको कुरा पनि कार्यान्वयन भएन।”

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०७८ साल असार १५ गते प्रत्येक प्रमुख जिल्ला अधिकारीलाई वडास्तरमा चाहिने सामग्रीहरूको सूचीसहित पत्र पठाएको थियो। सोही पत्रअनुसार सबै पालिकाहरूलाई सामग्री उपलब्ध गराउन परिपत्रसमेत गरिएको थियो।

तर, ढकालका अनुसार त्यही पत्र अहिलेसम्म पालिकाहरूले कार्यान्वयन गरेका छैनन्, जसले विपद् सामना गर्नुपर्ने बेला थप कठिनाई निम्त्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ।

कार्यक्रममा सहभागी मौसम विज्ञान फिल्ड कार्यालय झापाका मौसम विज्ञान सहायक सुमनराज भट्टराईले आफ्नो प्रस्तुतीमार्फत यो वर्ष पहिलेभन्दा बढी पानी पर्ने सम्भावना रहेकाले त्यसअनुसार सजगता र तयारी आवश्यक भएको बताए।

झापामा बर्षायाम सुरु भइसकेको सन्दर्भमा यो छलफल आयोजना गरिएको हो, जसमा जिल्लाका पालिका प्रमुख तथा उपप्रमुखहरू, सरकारी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस, पत्रकार लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *