झापा। चालु आर्थिक वर्ष २०८१/०८२ को वैशाख मसान्तसम्म झापाबाट ३२ हजार २९ युवा वैदेशिक रोजगारीमा गएका छन्। सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका अनुसार तीमध्ये १९ प्रतिशत महिला छन्।
मुख्य गन्तव्यमा यूएई, साउदी अरेबिया, कतार, मलेसिया, कुवेत, जापान, क्रोएसिया, रोमानिया, दक्षिण कोरिया र बहराइन रहेका छन्। युरोपतर्फ आकर्षण बढेसँगै ठगीका उजुरी पनि वृद्धि भएको छ।
चालु आवमा ६५ उजुरी दर्ता भएका छन्, ९ किनारा लागेका छन् भने ५६ प्रक्रिया क्रममा छन्। तीन लाख ८६ हजार रुपैयाँभन्दा बढी क्षतिपूर्ति वितरण गरिएको छ।
२०७९/०८० देखि हालसम्म झापाबाट १६६ जनाको मृत्यु भएको छ, तीमध्ये ४२ चालु आवमै। कोशी प्रदेशभर मृत्यु हुनेमा पनि झापा अग्रस्थानमा छ। यसबाहेक १० जनाको अंगभंग भएको छ।
भद्रपुरका दुई मृतकका परिवारलाई जनही २४ लाख राहत दिइएको छ। बिरामी र अंगभंग भएकालाई समेत आर्थिक सहयोग गरिएको छ।
सामी कार्यक्रम झापाका चार पालिकामा सञ्चालनमा छ, आगामी वर्षदेखि थप छ पालिकामा विस्तार हुनेछ।
देशभरबाट चालू आवमै ६ लाख ८५ हजारले श्रम स्वीकृति लिएका छन्। हाल दैनिक झण्डै २ हजार ३० नेपाली विदेश गइरहेका छन्।