“स्वस्थ्य सभ्य र सुरक्षित समाजको प्रतिवद्धता :लागूऔषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता”

अभिभावकको सशक्त भूमिका र सामुदायिक सहकार्यबिना लागू औषध दुर्व्यसन नियन्त्रण सम्भव छैन।

अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोगविरुद्धको दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना। लागू पदार्थ न्यूनीकरणमा अभिभावक शिक्षा किन आवश्यक छ?

आजको विश्वमा लागू औषधको ओसारपसार, बिक्री वितरण तथा सेवन बढ्दै गएको सन्दर्भमा यो समस्या गम्भीर रूपमा देखा परेको छ। नेपालजस्तो विकासोन्मुख देशमा यसको प्रभाव झनै गहिरो र व्यापक बन्दै गएको छ। यसले हाम्रो सामाजिक, सांस्कृतिक, आर्थिक तथा स्वास्थ्य क्षेत्रलाई गम्भीर असर पुर्‍याइरहेको छ।

EPIC EPIC EPIC EPIC EPIC

राज्यका सीमित स्रोत साधन र बढ्दो दायित्वबीच लागू औषध दुर्व्यसनका कारण देखा परेका विकृति र विसंगतिले सामाजिक विकास, आर्थिक समृद्धि, शान्ति, सुरक्षा तथा स्थायीतामा प्रतिकूल प्रभाव पारिरहेका छन्।

नेपालको सन्दर्भमा सुर्तिजन्य, मदिराजन्य पदार्थहरू, गाँजा, चरेश, अफिम, हेरोइन, कोकेनलगायत रासायनिक औषधिहरूको प्रयोग दिनप्रतिदिन बढिरहेको देखिन्छ। यसको प्रभावस्वरूप हरेक अभिभावक, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय समुदाय चिन्तित बन्न पुगेका छन्।

लागू औषध प्रयोगकर्ताको संख्या बढेसँगै अपराधिक गतिविधिहरू पनि तीव्र रूपमा बढेका छन्। लुटपाट, चोरी, बलात्कार, हिंसात्मक क्रियाकलाप, यौनजन्य अपराध, सवारी दुर्घटनाजस्ता घटनाहरूमा लागू औषध दुर्व्यसनले मलजल गरिरहेको विभिन्न तथ्यांकहरूले देखाएका छन्।

समाजमा हुने घटनाहरूको करिब ६० प्रतिशतभन्दा बढी घटना लागू पदार्थ दुरुपयोगका कारण हुने गरेको पुष्टि हुँदै आएको छ। यस सामाजिक चुनौतीको न्यूनीकरण सामाजिक सशक्तिकरणमार्फत मात्र सम्भव देखिन्छ। राज्य, नागरिक समाज, अभिभावक, विद्यालय र किशोर-किशोरी सबैलाई लागू औषधसम्बन्धी शिक्षा अनिवार्य भएको छ।

अभिभावकका रूपमा हरेक आमाबुबाको चाहना आफ्ना सन्तानलाई असल र जिम्मेवार नागरिक बनाउने हुन्छ। तर कहिलेकाहीँ अभिभावकले चाहे जस्तो अवस्था नआउन पनि सक्छ। आजका बालबालिका अन्जानमै लागू पदार्थको कुलतमा फस्न सक्छन्। त्यस्तो अवस्थामा अभिभावकहरू आफू आफ्नो जिम्मेवारीबाट विमुख भएको महसुस गर्छन्।

त्यसैले हरेक बालबालिकाका लागि पहिलो गुरु उनका आमाबुबा नै हुन्। यदि अभिभावकहरूले लागू औषध दुर्व्यसनसम्बन्धी पर्याप्त ज्ञान राखे भने आफ्ना सन्तानसँग संवाद गर्न सक्ने र सचेतनाको शिक्षा दिन सक्ने अवस्था सिर्जना हुन्छ।

हामीले बच्चाहरूलाई आमा–बुबा भन्न सिकायौँ, हिसाब गर्न, अंग्रेजी बोल्न सिकायौँ तर लागू औषध दुर्व्यसनसम्बन्धी जानकारी दिन चासो देखाएनौं। विद्यालयको पाठ्यक्रममा पनि यस्ता विषय समावेश गरिएको छैन। अभिभावकहरू आफैँमा पनि यस्ता विषयमा पर्याप्त ज्ञान छैन। यही विषयलाई प्राथमिकतामा राख्न जरुरी छ।

हामी हरेक कुरा सन्तानका लागि खर्च गर्छौं – राम्रो स्कूल, राम्रो लुगा, सम्पत्ति – तर दुर्व्यसनबारे जानकारी नदिँदा ती सबै प्रयास निरर्थक बन्न सक्छन्।

लागू औषध दुर्व्यसनसम्बन्धी शिक्षा लिनुपर्ने प्रमुख कारणहरू यस प्रकार छन् :

  • लागू औषध दुर्व्यसनले देशको सामाजिक, आर्थिक र सांस्कृतिक संरचनालाई कमजोर बनाउँछ।
  • यो एक विश्वव्यापी समस्याको रूपमा तीव्र गतिमा फैलिँदैछ।
  • यसले पारिवारिक विचलन, अशान्ति, विखण्डन र उत्पादकत्वमा गिरावट ल्याउँछ।
  • घरेलु हिंसा, महिला हिंसा, सवारी दुर्घटना, लुटपाट, चोरी, हत्या, आत्महत्या, पारिवारिक कलह आदिमा यसको प्रत्यक्ष असर देखिन्छ।
  • सुर्तिजन्य, मदिराजन्य तथा लागू औषधको सेवनका कारण गर्भपतन, बाँझोपन, अपांगता, कुपोषणलगायत समस्याहरू सिर्जना हुन्छन्।
  • स्वयं प्रयोगकर्ताको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पर्छ।

यसैले समाजका हरेक वर्ग, समुदाय, अभिभावक, शिक्षक र विद्यार्थीले लागू औषध दुरुपयोगविरुद्ध सचेत बन्नु, शिक्षा लिनु र अभियानमा सहभागी हुनु अत्यावश्यक छ।

किशोर–किशोरीका लागि लागू औषधसम्बन्धी पुस्तक, पर्चा, ज्ञानमूलक सामग्री, पत्रिका पढ्ने वातावरण सिर्जना गर्नुपर्छ। समूह गठन गरी सक्रिय बनाउने व्यवस्था मिलाउनुपर्छ। किनकि किशोर–किशोरीको पहिलो पाठशाला घर हो भने पहिलो गुरु अभिभावक हुन्।

त्यसैले हरेक अभिभावक लागू औषध दुर्व्यसनबारे जानकार बन्नुपर्छ, अनि मात्र उनीहरू आफ्ना सन्तानका पहिलो शिक्षक बन्न सक्छन्।

धन्यवाद।
कल्पना भट्टराई
सदस्य / प्रशिक्षक
चेतना नेपाल

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

One Response

  1. अति सान्दर्भिक लेख,
    पालिका सन्देश परिवार एवं कुशल संचार कर्मी नवीन उप्रेति र लेखक चेतना नेपालकी प्रशिक्षक कल्पना भट्टराई मा हार्दिक बधाइ तथा शुभकाना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *