“मेरो एउटै सन्तान थियो, मेरो काजक्रीया नहोस, तर अरु कसैका छोराले यसो नगरुन,” भावुक हुँदै भनिरहेका थिए गिरिराज (नाम परिवर्तन), जो समाजमा प्रतिष्ठित र उच्च आर्थिक हैसियत भएका एक अवकासप्राप्त अधिकारी हुन्। आफ्नो एक मात्र छोराको मृत शरीरको अगाडि उभिएर, आँखाभरि आँशु र मनमा मर्माहत पीडा बोकी उनले यो शब्द बोलेका थिए।
गिरिराजको जीवनले धेरैले ईर्ष्या गर्ने जस्तै देखिन्थ्यो—सुव्यवस्थित जागिर, समाजमा मान-सम्मान, र विदेशमा उच्च शिक्षा हासिल गर्न गएका छोराप्रति अपार माया। श्रीमतीको निधन भएको पाँच वर्ष भइसकेको थियो। छोरामात्र थिए, जसलाई उनले माया, विश्वास र आत्मनिर्भरता सँगै हुर्काए। विदेशबाट इञ्जिनियर भएर फर्किएपछि, गिरिराजले आफ्ना पुराना सम्बन्ध प्रयोग गर्दै संस्थानमा छोरालाई रोजगारी पनि दिलाए।
तर बुबाको दृष्टिमा चम्किलो देखिएको त्यो भविष्य छोराका लागि अँध्यारो हुँदै गइरहेको थियो। पछिल्लो केही समयदेखि छोरामा व्यवहारिक परिवर्तन देखिन थालेका थिए—ऊ बुबासँग खुल्दैनथ्यो, एक्लोपनमा रमाउने, झर्किने, र काममा पनि बेवास्ता गर्न थालेको थियो। कहिलेकाहीं ऊ रातभर घर बाहिरै बिताउने गर्थ्यो। बुबाले सोध्दा ‘साथीकहाँ बसेको’ भन्ने झूटो जवाफ दिन्थ्यो।
यी सबै लक्षणहरूले गिरिराजलाई चिन्तित बनाइसकेको थियो, तर सत्यको गहिराइ अझै टाढा थियो। जब छोराले दुई दिनदेखि सम्पर्क नै तोड्यो, कार्यलय पनि नगएको थाहा पाइयो, गिरिराजको मनमा शङ्का पलायो। र, तेस्रो दिन बिहानको पत्रिकामा एउटा खबर आयो, “रिङरोड बाहिर जङ्गलमा अपरिचित युवकको शव फेला”।
गिरिराज तुरुन्तै घटनास्थल पुगे। त्यहाँ रहेको शव उनको छोराकै थियो। शवको छेउमा फेला परेका वस्तुहरूले सबै रहस्य खुल्यो—स्लिपिङ ट्याब्लेट, ब्राउन सुगर, हिरोइन, सुईलगायत लागू पदार्थ सेवन गर्ने सामग्री।
गिरिराजको संसार त्यही क्षण भत्कियो।
यो घटना केवल एउटा परिवारको शोक मात्र होइन, हाम्रो समाजमा मौन रूपमा फैलिरहेको लागू औषधको महाव्याधिको चिन्ताजनक संकेत हो। लागू पदार्थको लतले शिक्षित, सम्भ्रान्त, र सम्पन्न परिवारका सन्तानहरू पनि नराम्ररी लतमा फस्दै छन्। भौतिक सुविधा, शिक्षा र रोजगारी भए पनि आत्मीय संवाद, मानसिक सन्तुलन र मूल्यमा आधारित जीवन शैलीको अभावले युवा पुस्ता दिशाविहीन बन्दैछ।
गिरिराजले जातभातका विरुद्ध उभिएर छोरालाई स्वतन्त्रता दिएका थिए, तर त्यो स्वतन्त्रता आत्म-अनुशासनविनाको थियो। अभिभावकको भूमिकालाई ‘संसाधन जुटाउने’ काममा सीमित गर्दै ‘सम्बाद गर्ने’ संस्कृतिलाई हामीले उपेक्षा गरेजस्तै यो घटनाले देखाउँछ।
चेतना नेपाल, झापाले यस हृदयविदारक घटनालाई लागू औषध विरुद्धको चेतना अभियानको एउटा प्रतिविम्बको रूपमा लिएको छ। यसले हामी सबैलाई गम्भीर प्रश्न सोध्न बाध्य पार्दछ—के हामी हाम्रा सन्तानसँग समय, संवाद र संवेदना बाँड्न सकेका छौं?
हामीले भौतिक प्रगतिको पुछारमा लाग्दा आत्मिक र सामाजिक मूल्यको धरोहर गुमाइरहेका त छैनौं?
गिरिराजको भनाइको अन्तिम वाक्य हामी सबैका लागि सन्देश हो।
“मेरो काजक्रीया नहोस, तर अरु कसैका छोराले यसो नगरुन्।”
इन्द्रप्रसाद ओली
अध्यक्ष, चेतना नेपाल/प्रमुख प्रशिक्षक
One Response
हार्दिक धन्यवाद , आभारी छु ।