सतिघट्टा शिरीषमय, बगानको सौन्दर्यमा पर्यटक मोहित

झापाको सतिघट्टा चिया बगानमा शिरीषका फूलहरू फुल्न थालेपछि स्थानीय पर्यटकहरूको भीड बढ्दै गएको छ। सामाजिक सञ्जालमा भाइरल बनेको यो स्थान प्राकृतिक सौन्दर्यको नयाँ गन्तव्यको रूपमा चिनिँदैछ।

झापा। वसन्त ऋतुको आगमनसँगै झापाका गाउँ–सहरका सडक पेटीहरू रङ्गीन बनेका छन्। सहरीकरणले निम्त्याएको कठोर वातावरणमा शीतलता दिन शिरीषका फूलहरू यतिबेला झापाका विभिन्न क्षेत्रमा फक्रिएका छन्।

त्यस्तै, पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको रमणीय गन्तव्य बनेको छ—बुद्धशान्ति गाउँपालिका–३ स्थित बर्ने चिया बगान। जहाँ राताम्य फूलले ढाकिएका करिब आधा दर्जन शिरीषका रुखहरूले वातावरणलाई मनमोहक बनाएका छन्।

EPIC EPIC EPIC EPIC EPIC

बर्नेसँगै मेचीनगर–७ स्थित सतिघट्टा चिया बगान पनि पर्यटक आकर्षणको केन्द्र बन्न थालेको छ। काँकडभिट्टाबाट ३ किलोमिटर दक्षिणमा अवस्थित यस क्षेत्रको हरियाली चिया बगानसँगै रहेका शिरीषका रुखहरूले सौन्दर्य थपेका छन्। शिरीषका फूलहरू र चियाका बुट्टाको संयोजनले यहाँको दृश्यलाई अझ आकर्षक बनाएको छ।

केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेका फोटो तथा भिडियोहरूले स्थानीयवासी र वरपरका क्षेत्रका घुमन्तेहरूको ध्यान खिच्न थालेको छ।

प्राकृतिक सौन्दर्यमा रमाउँदै गायक विश्वास उप्रेतीले आफ्ना नयाँ गीतको भिडियो यहीँ शिरीषका फूलहरू बीच रेकर्ड गरिरहेको बताए। “प्राकृतिक लोभलाग्दो परिवेशले नै मलाई यहाँ ल्यायो,” उप्रेतीको भनाइ थियो।

बर्नेलाई भन्दा सतिघट्टा अझ सुन्दर पर्यटकीय गन्तव्य लागेको बताउँदै काँकडभिट्टाबाट पुगेकी स्थानीय होटल व्यवसायी गीता श्रेष्ठले भनिन्, “बर्नेमा ५–६ वटा मात्र शिरीषका रुख थिए, यहाँ त पचासौं रुखहरू एकसाथ फुलेका छन्।”

यस क्षेत्रलाई अझ व्यवस्थित बनाउनुपर्ने धारणा मेचीनगर कार्यपालिका सदस्य अञ्जु थापाको थियो। उनले भनिन्, “यहाँ त फरक–फरक रङका दर्जनौं शिरीष फुलेका छन्। कम्तिमा मेचीनगरका सबै नागरिकले एकपटक आउनै पर्ने ठाउँ हो यो।”

स्थानीय लिची व्यवसायी कमल खनालले पर्यटकको चहलपहल बढेपछि आफूहरू उत्साहित बनेको प्रतिक्रिया दिए। भर्खरैको दुई दिनमै दैनिक ५–६ सयको हाराहारीमा मानिसहरू आइरहेको जानकारी नजिकका स्थानीय भुवन कायस्थले दिए।

शिरीषका फूलमार्फत आफ्नो वडामा पर्यटकीय सम्भावना देखिनु गौरवको विषय भएको वडाध्यक्ष प्रह्लादमणि ओलीले बताए। उनले वडाको तर्फबाट आवश्यक पूर्वाधार विकास तथा व्यवस्थापनका काम सुरु गर्ने प्रतिवद्धता जनाए। तत्कालका लागि फोहोर व्यवस्थापन गर्न डस्टबिनलगायतका सामग्री उपलब्ध गराउने तयारी गरिएको वडाध्यक्ष ओलीले जानकारी दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *