- नवीन उप्रेती
बिर्तामोड। कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रममा झापाका १५ वटै पालिका मध्ये सबैभन्दा बढी ९१ प्रतिशत बजेट खर्च गरेको छ।
हिजो बिर्तामोडमा सम्पन्न वार्षिक समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदन अनुसार, स्वीकृत ८० लाख १० हजार रुपैयाँ बजेटमध्ये ७० लाख ३७ हजार ६५० रुपैयाँ खर्च गरी, सहायक सामग्री वितरण, स्वास्थ्य बीमा, मानसिक स्वास्थ्य सेवा, साथै गाउँपालिकाले अतिरिक्त क्रियाकलाप अन्तर्गत सुरक्षित आवास निर्माण लगायतका गतिविधिहरू सम्पन्न गरिएका छन्।
सुरक्षित आवास कार्यक्रम अन्तर्गत दुई जना अपाङ्गता भएका व्यक्तिका लागि घर निर्माण सम्पन्न गरिएको छ भने जन्मजात अपाङ्गता भएका तीन नवजात शिशुको उपचार गरिएको छ। यस्तै, १२ जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरिएको छ र १० वर्ष मुनिका ३४ बालबालिकाको स्वास्थ्य परीक्षणमा जटिलता भेटिएका मध्ये २९ जनाले उपचार पाएका छन्। हालसम्म ९३१ जना अपाङ्गता भएका व्यक्तिले परिचयपत्र प्राप्त गरिसकेका छन्।

मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ भने ‘विश्वास’ परियोजनाअन्तर्गत हात्तीपाइले र कुष्ठरोग प्रभावितलाई समेटेर ४ समूहलाई ४६ हजार रुपैयाँ बिउपुँजी अनुदान प्रदान गरिएको छ। बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६४ लाख १५ हजार ३५० रुपैयाँको बजेट विनियोजन गर्ने निर्णय गरेको छ, जसमा प्रदेश सरकार, गाउँपालिका र करुणा फाउन्डेसनको समान साझेदारी रहनेछ।
यससँगै, आगामी वर्ष अपाङ्गता रोकथामका गतिविधिलाई निरन्तरता दिने, अपाङ्गता भएका व्यक्तिहरूको संस्थागत सुदृढीकरण गर्ने तथा आर्थिक दिगोपनाका लागि सहकारी स्थापना गर्ने योजना अघि सारिएको छ। कचनकवल गाउँपालिकाको प्रगति प्रतिवेदन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुनिता दाहालले प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा कचनकवलको तर्फबाट गाउँपालिका उपाध्यक्ष तथा अपाङ्गता पुनर्स्थापनामा कार्यक्रम पालिका संयोजक नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, अपाङ्गता समितीका ओपीडी अध्यक्ष डम्बर रिमाललगायत अन्य जनप्रतिनिधि र सरोकारवालाको उपस्थित थियो।