अमेरिका पठाइदिन्छु भन्दै एक व्यक्तिसँग १५ लाख रुपैँया ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१४ बस्ने विशाल श्रेष्ठ समेत दुई जनाले चन्द्रबहादुर रावललाई वैदेशिक रोजगारको लागि अमेरिका पठाइदिन्छु भनी सो रकम ठगी गरेका थिए । अमेरिका जान ४० लाख रुपैँया लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई पाइने उनीहरूले आश्वासन दिएका थिए । उनीहरूले रावलबाट पटक पटक गरी १५ लाख रुपैँया लिएर सम्पर्क विहीन भई ठगी गरेका थिए ।
सो विषयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले विशाल श्रेष्ठ समेतलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धानको तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।