अमेरिकी उद्योगपति तथा टेक उद्यमी एलोन मस्कले नयाँ “अमेरिका पार्टी” गठन गर्ने योजना तत्कालका लागि स्थगित गर्दै २०२८ को राष्ट्रपति चुनावमा हालका उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने संकेत दिएका छन्।
द वॉल स्ट्रिट जर्नल लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टअनुसार, मस्कले तेस्रो दल सुरु गरे रिपब्लिकन पार्टीभित्रका आफ्नो सम्बन्धमा असर पर्न सक्ने भन्दै योजना पछि सारेका हुन्। भान्सलाई MAGA (Make America Great Again) अभियानको उत्तराधिकारीको रूपमा हेरिएको छ।
मस्कले फेब्रुअरी २०२४ को चुनावमा पूर्व राष्ट्रपति ट्रम्पसहित रिपब्लिकन उम्मेदवारहरूमा करिब ३०० मिलियन अमेरिकी डलर खर्च गरिसकेका छन्। आगामी निर्वाचनमा पनि उनले भान्सलाई ठूलो आर्थिक सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यद्यपि, मस्कले “अमेरिका पार्टी” को अवधारणा पूर्ण रूपमा छोडेका छैनन्, तर हाललाई आफ्नो राजनीतिक गतिविधि रिपब्लिकन पार्टीभित्र सीमित गर्ने निर्णय गरेका छन्।
उता, जेडी भान्सले भने मस्कसँग समर्थनसम्बन्धी कुनै वार्ता नभएको दाबी गर्दै केही रिपोर्टहरूलाई “पूर्णतया गलत” बताएका छन्। उनले मस्कलाई नयाँ दल सुरु नगरी रिपब्लिकन पार्टीभित्रै सक्रिय रहन सल्लाह दिएको खुलाएका छन्।
विश्लेषकहरूले मस्कको यो रणनीतिक निर्णयले अमेरिकी चुनावी राजनीतिको समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने बताउँदै, मस्कको सहयोग पाउने उम्मेदवारहरूलाई ठूलो लाभ हुने अनुमान गरेका छन्।