काठमाडौं । भारत र श्रीलंकामा सन् २०२६ मा आयोजना हुने टी २० विश्वकपमा क्यानाडाले आफ्नो स्थान पक्का गरेको छ । आफ्नै घरेलु मैदानमा आयोजना भएको ‘अमेरिकाज क्वालिफायर्स’ बाट क्यानाडा विश्वकपमा छनोट भएको हो ।
अघिल्लो टी २० विश्वकपको आयोजकका नाताले अमेरिका स्वतः छनोट भएपछि क्यानाडाको यात्रा सहज बनेको थियो । आज भएको म्याचमा क्यानाडाले बहामसलाई हराएर क्यानाडाले औपचारिकता पूरा गर्यो । बहमासलाई ५७ रनमा अलआउट गरेको क्यानाडाले ५.३ ओभेरमै लक्ष्य भेट्टाएको थियो ।
सन् २०२६ को विश्व्कपमा २० वटा राष्ट्रहरु सहभागी हुँदैछन् । आयोजक भारत र श्रीलंकासँगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, ईंग्ल्यान्ड, साउथ अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड न्यूजिल्यान्ड र पाकिस्तान विश्वकपमा स्थान बनाएका राष्ट्र हुन् ।
क्यानाडासहित जम्मा १३ वटा राष्ट्रहरुले विश्वकप खेल्ने निधो भइसकेको भने ७ वटा राष्ट्रहरुको टुंगो लाग्न बाँकी छ । आगामी ५ देखि ११ जुलाइसम्म हुने यूरोप क्वालिफायरबाट दुई, १९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म हुने अफ्रिका क्वालिफायरबाट २ तथा १ देखि १७ अक्टोबरसम्म हुने एसिया–इएपी क्वालिफायरबाट ३ राष्ट्रहरुले टि २० विश्वकप खेल्नेछन् ।
नेपाल पनि टी २० विश्वकप खेल्ने आकांक्षी राष्ट्र हो । नेपालले विश्वकपमा स्थान बनाउन अक्टोबर १ देखि १७ सम्म ओमानमा हुने एसिया–इएपी (पूर्वी एसिया प्यासिफिक) क्वालिफायरमा भिड्नुपर्नेछ । यदि यस प्रतियोगिताको टप ३ मा पर्न सफल भएको खण्डमा नेपालले छिमेकी देशहरुमा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।
नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना भएको टी २० विश्वकपमा भाग लिएको थियो । टि २० विश्वकप इतिहासमा यो नेपालको दोस्रो सहभागीता हो । ओमानमा हुने क्वालिफायरबाट नेपाल लगातार दोस्रोपटक विश्वकप खेल्ने दाउमा छ । नेपाल यसका लागि दावेदार टिम पनि हो । स्कटल्यान्ड भ्रमणमा हालै गरेको प्रदर्शनले नेपालको हौसला बुलन्द छ ।
एसिया–इएपी क्वालिफायरमा नेपालसहित थप ८ वटा राष्ट्रहरु पपुवा न्यूगिनी, सामोआ, कुवेत, मलेसिया, जापान र यूएईले प्रतिस्पर्धा गर्नेछन् । नेपाल र पीएनजी २०२४ को टी २० विश्वकप खेलेको नाताले यो क्वालिफायरमा सिधै प्रवेश गरेका हुन् ।
कागजीरुपमा हेर्दा यस क्वालिफायरमा सबैभन्दा बलियो र विश्वकपमा पुग्न सक्ने दावेदार टिम नेपाल नै देखिन्छ । क्रिकेटमा केही भन्न सकिँदेन । नेपालपछि पीएनजी, यूएई र कुवेत बलिया टिम हुन् । यीमध्ये तीन टीम टप थ्रीमा पुगेर विश्वकपमा स्थान बनाउने आँकलन अहिले भइरहेको छ ।
आउँदो टी २० विश्वकपमा पाँच क्षेत्र (एसिया, यूरोप, अफ्रिका, पूर्वी एसिया प्यासिफिकर र अफ्रिका) बाट निश्चित प्रतिनिधित्व हुनेछ । यसअघिका दुई संस्करणमा ग्लोबल क्वालिफायर खेलाइएको थियो । नयाँ व्यवस्थाले नेपालसहित पूर्वी एसिया क्षेत्रका राष्ट्रहरुलाई भने घाटा लाग्यो, किनकी यो क्षेत्रमा प्रतिस्पर्धा चर्को छ ।