Search
Close this search box.
Search
Close this search box.

आकाशियो चिनीको मूल्य, अझै बढ्न सक्ने

काठमाडौं। उद्योगीहरूले औद्योगिक प्रयोजनका लागि पनि आयात गर्न नचाहेको महँगो मूल्यको चिनी उपभोक्तालाई बिक्री गर्ने प्रयोजनमा भने आउने भएको छ । यसअघि महँगो भएकै कारण सरकार सम्बद्ध निकाय अर्थात् साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउन चाहेका थिएनन् ।  सरकार सम्बद्ध निकायले चिनी आयात गर्न नचाहेपछि सरकारले औद्योगिक प्रयोजनका लागि आयात गर्न सूचना निकालेको थियो । त्यसमा ९ निजी कम्पनीले इच्छा देखाए पनि आयात गर्दा महँगो पर्ने देखेपछि उनीहरू हच्किएका थिए । तर अहिले उद्योगी व्यवसायीले सर्वसाधारणलाई बिक्री गर्ने अर्थात् उपभोक्ता प्रयोजनमा चिनी ल्याउने देखिएको छ । यसको अर्थ हो— व्यापारका लागि ल्याइने चिनी पक्कै सस्तो हुने छैन । गत वर्ष चाडबाडमा अभाव रोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई १०/१० हजार टन आयातको जिम्मा दिएको थियो । चिनी आयात गर्दा सरकारी संस्थानलाई ५० प्रतिशत भन्सारदर छुट थियो । गत बर्षको तिहार र छठकै लागि जीटूजी (सरकार–सरकार) बाट आयात गर्ने भनिए पनि अन्ततः खाद्य र साल्टले महँगो परेको भन्दै ल्याएनन् । चिनी आयात नभएपछि मन्त्रालयले निजी क्षेत्रका लागि खुला गर्‍यो । मन्त्रालयले ०८१ जेठ ३० मा उद्योग विभागलाई पत्र पठाएर निजी क्षेत्रका लागि प्रक्रिया बढाउन भन्यो । विभागले असार २ मा सूचना प्रकाशन गर्दै २५ हजार टन चिनी निर्यात अनुमति कोटामध्ये १९ हजार टन चिनी कच्चा पदार्थका रूपमा प्रयोग गर्न इच्छुक उद्योगलाई आवेदन दिन भनेको थियो । सोहीअनुसार ९ वटा निजी कम्पनीले आयात अनुमति पाए । निजी कम्पनीका लागि भन्सार छुट थिएन । महँगो भएको भन्दै उनीहरूले पनि ल्याएनन् । अब भने सोही चिनी व्यापारिक प्रयोजनका लागि चिनी ल्याउन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाली फर्म/कम्पनीलाई लक्ष्य गरी सूचना निकालेको छ । ‘भारत सरकारबाट नेपालका फर्म, कम्पनीका लागि छुट्याइएको १९ हजार टन चिनी आयातका लागि इच्छुक नेपाली फर्म/कम्पनीले आफूले आयात गर्न चाहेको परिमाण (न्यूनतम २६ सय टन) नघट्ने गरी खुलाई यो सूचना प्रकाशन भएको छ,’ वाणिज्यले साउन २३ मा जारी गरेको सूचनामा भनिएको छ, ‘सूचना प्रकाशन भएको मितिले पाँच दिनभित्र विभागमा निवेदन दिनुहुन ।’ नेपाली फर्म/कम्पनीले आयात गर्ने चिनीमा भन्सार छुट भने छैन । चिनी आयात गर्दा ३० प्रतिशत भन्सार महसुल तिर्नुपर्छ । त्यसमा १३ प्रतिशत भ्याट लाग्छ । साल्ट र खाद्यले चिनी आयात गरेको भए ५० प्रतिशत छुट अर्थात् १५ प्रतिशत भन्सार महसुल तिरे पुग्थ्यो । महँगो भएर निजी कम्पनीले औद्योगिक प्रयोजनका लागि नल्याएको चिनी व्यापारिक प्रयोजनका लागि आयात हुँदा सर्वसाधारणलाई महँगो पर्नेछ । खुद्रा व्यापार संघका कोषाध्यक्ष वसन्त श्रेष्ठका अनुसार करिब तीन साताको अवधिमा चिनीको मूल्य किलोमा १० रुपैयाँ बढेको छ । अब सर्वसाधारणले चिनी किन्दा किलोको १ सय १५ रुपैयाँ तिर्नुपर्छ । महँगो चिनी आयात भए चाडबाडमा किलोकै डेढ सय रुपैयाँसम्म पुग्ने उनीहरूको दाबी छ । ‘चिनीको मूल्य ३ सातामा किलोको १०५ रुपैयाँबाट बढेर १ सय १५ रुपैयाँ पुग्यो । होलसेलबाट खरिद मूल्य बढेपछि खुद्रामा पनि बढाउन बाध्य भएका छौं,’ उनले भने, ‘होलसेलले ९९ रुपैयाँबाट बढाउँदै १ सय ७/८ रुपैयाँसम्म पुर्‍याएका छन । ढुवानी भाडा र प्लास्टिक जोड्दा किलोकै ११० देखि १११ रुपैयाँ पर्छ । त्यही भएर बिक्री मूल्य ११५ रुपैयाँ राखेका छौं ।’ सरकारले बेलामै व्यवस्था नगरे चाडबाडमा थप मूल्य बढ्ने उनको दाबी छ ।   बजारमा अस्वाभाविक रूपमा चिनीको मूल्य बढ्दा नियामक निकायले भने त्यति चासो दिएको छैन । आयातमा पनि ध्यान दिएको छैन । बजार अनुगमन पनि गरेको छैन ।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *