काठमाडौं। चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ । चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ । शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ । नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन् ।
वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन् । यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ ।
चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ । नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ ।
काठमाडौंमा गुह्येश्वरी, भद्रकाली, नक्सालभगवती, शोभाभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवती, गोरखामा मनकामना, बाँकेमा बागेश्लवरीगायत शक्त्तिपीठमा बिहानैदेखि घुइँचो लागेको छ ।