काठमाडौं, जेठ २० – आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान विभागले जनाएको छ। कोशी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा अन्य भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
यसैगरी, कोशी र सुदूरपश्चिम प्रदेशको उच्च–पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा बाँकी उच्च–पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानमा तथा मधेश, बागमती, गण्डकी लगायत अन्य पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ।
उच्च–पहाडी तथा हिमाली क्षेत्रमा रहेका नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साथै, कृषकहरू तथा यात्रुहरूलाई मौसमअनुसारको योजना बनाउन समेत सुझाव दिइएको छ।



















